Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोपमा कुराभन्दा कामको बढी प्रतीक्षा

खोपमा कुराभन्दा कामको बढी प्रतीक्षा


काठमाडौं ।
गएको आइतबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरै उपलब्धिपूर्ण काम गरेको तर मिसनमा लागेका व्यक्तिले त्यसलाई नदेखेको वा देख्न नचाहेको भनी आफ्ना कामहरूको फेहरिस्त राख्ने क्रममा खोपको कुरा ल्याए । उनका अनुसार दक्षिण एसियामा भारतपछि नेपाल खोप लगाउने दोस्रो देश हो ।

प्रधानमन्त्रीको यो दाबी सही पनि हो । गएको माघमा खोप दिने काम प्रारम्भ हुँदा एकप्रकारले पत्याउनै नसक्ने अवस्था थियो, यतिछिटै यस्तो काम सुरु भयो भनेर । यो कामको सरकारले प्रशंसा पनि पायो । तर एउटा चरणमा पुगेपछि सरकार लोभीपापीहरूको चंगुलमा परेको आभाष हुनथाल्यो ।

मन्त्री स्वयमले बिचौलिया हाबी भएका भन्ने जानकारी गराए । कमिसनका खेल उच्चरुपमा देखिन थाले र तिनले भुक्तानी भइसकेको मात्रा पनि नेपाल आउन नदिएका तथा त्यही नदिनेहरूलाई उच्चतहबाट संरक्षण भएको भन्ने कुरा पनि आए । भुक्तानी दिएर खरिद गरिएका वस्तु आएनन् । त्यसले पहिलो मात्राको खोप दिएकाहरूले दोस्रो मात्राको खोप लगाउनुपर्ने समयमा पाएनन् । यो गम्भीर अपराधको काम हो । त्यसलाई ढाकछोप गर्न सरकारले आफैँ झुट बोल्यो । खोप उत्पादनस्थलमा आगलागी भएको भन्ने खोप नआउनुको सरकारी कारण थियो । तर कम्पनीले नै त्यो आगलागीले उत्पानदनमा कुनै असर नपरको भनी जानकारी गरायो ।

उल्लेख भएका यी विवरणको अर्थ हो सरकारले आम नागरिकसमक्ष खासगरी महामारीबाट आफ्ना नागरिकलाई जोगाउने सन्दर्भमा विश्वसनीयता गुमाउँदै छ । कूटनीतिक पहल गरेको भए नेपाललाई खोपको त्यति अभाव हुनेथिएन भन्ने आम नागरिकको बुझाइ हो । यो ठाउँमा निश्चय नै सरकार चुकेको छ ।

गएको भदौ/असोजतिर एउटा निजी कम्पनीले रुसको सपुतनिक खोप अढाई करोड मात्रामा ल्याउने भन्ने हल्ला थियो । त्यो त्यतिकै सेलायो । यो खोप अहिले भारतमा पनि उत्पादन हुनथालेको छ । सुरुमा नै भारत र चीनले अनुदानमा दिए । भारतबाट ल्याएर लगाउन थालियो । चीनबाट आउन नै तीन महिना लाग्यो । खरिदका सन्दर्भमा चिनियाँ खोपतिर पनि आँखा लगाइएको भए यस्तो गतिशून्य अवस्थामा रहनुपर्ने थिएन होला ।

खोपका बारेमा सरकारले पहिले जति जस पायो पछि त्योभन्दा धेरै गुना बढी हुनेगरी अपजस व्यहोर्नुपरेको छ । गएको माघमा खोपको सुरुआत गर्दै प्रधानमन्त्रीले वैशाखभरिमा सबैलाई खोप लगाएर सकिने भनेको थिए । तर जेठको मध्य हुँदा पहिलो खोप पाएका जेष्ठ नागरिकले म्याद कटेको महिना दिन बितिसक्दा पनि दोस्रो मात्रा पाउन सकेका छैनन् र त्यो अझै निश्चित भएको छैन । यसले त्यो वर्गमा मानसिक दबाब परेको देखिन थालेको छ जो स्वाभाविक पनि हो ।

यो परिपे्रक्षमा पछिल्लो समय कोरोना संक्रमण हुनबाट बचाउने सन्दर्भमा थप ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको भनी सरकारले जानकारी दियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री पत्रकार सम्मेलनमा नै यस्तो जानकारी दिएका बताइएको छ । सवाल हो यो कुराचाहिँ सरकारले प्रचारका लागि मात्र होइन वास्तवमा नै गर्नकै लागि भनेको होस् । जानकारी गराइएअनुसार अमेरिका, रुस, बेलायत, चीन र भारतलगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ  ।

पत्र पठाउनु मात्रै पनि ठूलो कुरो होइन । त्यसको जवाफ कस्तो आयो भन्नेमा धेरै कुरा भरपर्छ । रकम भुक्तानी दिए/लिएको बेलामा त खोप नआएको अनुभव छ । यिनै मन्त्रीले नै यस्तो कुरा बताइरहेका छन् । प्रयास नराम्रो होइन तर त्यो निष्कर्षमा पुग्नुपर्छ । देखाउनेजस्तो मात्र होइन । मन्त्रीका प्रयास सकारात्मक नै देखिन्छन् । अब छिटोभन्दा छिटो खोप आएको र लगाउन थालिएको समाचार सुन्न पाइयोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया