Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयफेरि पनि बजेटको कार्यान्वयनमाथि नै शंका

फेरि पनि बजेटको कार्यान्वयनमाथि नै शंका


काठमाडौं ।
कामचलाउ सरकारको हैसियतबाट अध्यादेशमार्फत चालू वर्षको बजेट घोषणा गरेको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरे । यो एउटा परम्परा धान्नका लागि मात्र थियो । बजेट घोषणापछि अर्थमन्त्रीले पनि यसरी नै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा प्रस्ट पार्ने चलन छ नेपालमा । बजेटबारेमा आफ्ना कुरा राख्नुभन्दा यो कार्यक्रममा अरु केही हुँदैन ।

यो पटक बजेट कार्यान्वयन हुने सन्दर्भमा भने अर्थमन्त्रीमा धेरै नै आत्मविश्वास देखियो । त्यो आत्मविश्वास यति बढी कि कार्यान्वयनका बारेमा प्रश्न सोधिँदा जवाफमा अर्थमन्त्रीको आक्रोश नै पैदा भयो । पत्रकारहरूले बजेट कार्यान्वयनका बारेमा प्रश्न गर्दा उनको उत्तर पनि प्रश्नबाटै आयो– के यो बजेट सुनाउनको लागि मात्रै ल्याएको जस्तो लाग्छ ? त्यसो होइन, यसमा व्यक्त भएका व्यवस्थाहरू कार्यान्वयनकै लागि ल्याइएका हुन् । बजेट कार्यान्वयन हुनेमा शंका नगरौँ ।

बजेट कार्यान्वयनमा अर्थमन्त्रीको यस्तो दृढतालाई सकारात्मक मानौँ । जे–जस्तो होस् बजेट भनेको देशको नीति र कार्यक्रम हो । त्यो कार्यान्वयनमा आउनुपर्छ । तर दुर्भाग्य के हो भने यसअघिका बजेट पूरा रूपमा कार्यान्वयनमा आएनन् । यिनै अर्थमन्त्रीले अघिल्लो पटक ल्याएको बजेटको हविगत त्यस्तै रह्यो भने त्यसपछिका बजेटका अवस्था पनि त्यस्तै रहे ।

अहिलेको सरकारको कार्यप्रारम्भ स्थिर सरकारको रूपमा भएको थियो । यो सरकारले करिब ७६ प्रतिशतको समर्थनबाट काम थालेको थियो । यो एउटै पार्टीमा पनि ७४ प्रतिशतको संख्या रहेको भन्ने त प्रधानमन्त्रीबाट पहिलो पटक संसद् विघटन गर्दाको समयमा सर्वाेच्चमा लेखेर नै दिइएको थियो । यो सरकारको यो पछिल्लो बजेट चौथो हो ।

यसमाथि कार्यान्वयनमा प्रश्न गरिँदाको समयमा यसअघि तीनवटा बजेट आइसकेका थिए । ती तीनमध्ये पछिल्लो तेस्रो बजेटको त मध्यावधि मूल्यांकन गरिँदा यिनै अर्थमन्त्रीले लक्ष्य घटाएका हुन् । रकमगत रूपमा १५ खर्बको बजेटमा लक्ष्य घटाएर १२ खर्बमा झारियो भने अनुमान गरौँ त्यसको कार्यान्वयन कस्तो भयो । त्यसअघि दोस्रो र अझ त्यसभन्दा पनि अघि पहिलो बजेटको पनि यसरी नै लक्ष्य घटाइएको थियो । त्यो काम जसले बजेट ल्याए तिनैबाट भएको हो । यो आरोप नभएर यथार्थ हो ।

खासगरी विकास निर्माणका काममा त एक चौथाइ मात्रै उपलब्धि भएको देखिन्छ । त्यही एक चौथाइ बजेट खर्च भएको अवस्थालाई प्रधानमन्त्रीले विकासमा ऐतिहासिक काम भएको भन्दै आएका छन् । त्यस्तो अवस्थामा अर्थमन्त्रीले त झनै झुटो बोल्नै प¥यो प्रधानमन्त्रीको बोलीको मर्यादा राख्न पनि ।

अर्थमन्त्रीको त्यस दिनको भनाइ थियो– यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि हो, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपथ्र्यो र त्यसैअनुरूप बजेट केन्द्रित गरिएको छ, कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौँ । कामना गरौँ यो बजेट भनिएजसरी नै कार्यान्वयनमा आओस् ।

अघिल्लो वर्ष कार्यान्वयनमा नआउनुको दोष कोरोना र लकडाउनलाई थुपारिएको थियो । यसको अवस्था अहिले पनि त्यस्तै छ । यो समय ७७ वटै जिल्ला निषेधाज्ञामा छन् । खरिद गरिएको खोप समेत सरकारले ल्याउन नसकेर दोस्रो मात्रा दिननसक्ने भनी हात उठाइसकेको अवस्था छ । यो बजेट आउँदा संरचनागत रूपले केही सुधार गरिएको छैन । यस्तोमा बजेट कार्यान्वयनमा आउँछ भनी पत्याउने आधार के हो भन्ने कुरा अर्थमन्त्रीले प्रस्ट पार्न जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया