Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराष्ट्र विखण्डनको मन्त्री उद्घोष

राष्ट्र विखण्डनको मन्त्री उद्घोष


काठमाडौं ।
सरकार नयाँ होस् या पुरानाको पुनर्गठन, विगतमा एउटा प्रशंसनीय परम्परा नै बसको थियो शपथ खाएपछि पदभार ग्रहण गर्दाको समयमा महत्वपूर्ण र सन्देश जानेखालको काम गरेर आफूलाई जनताको नजरमा स्थापित गराउने । यसले केही न केही राम्रो कामको थालनी गराउँथ्यो । स्वाभाविक छ जसले पनि राम्रै गर्न खोज्छन् । जस्तो पछिल्लो, शुक्रबार भएको पनुर्गठनमा १२ जना मन्त्री थपिए । तीमध्ये १० जना त मन्त्री नै हुन् । यसदिन उनले आ–आफ्नो विभागमा पर्नेमध्ये एउटा मात्रै राम्रो काम प्रारम्भ गरेका भए १० वटा त्यस्ता काम पाउँथ्यो देशले । यस्तो नयाँ कामले नयाँ मन्त्रीलाई स्थापित पनि गराउँथ्यो । यसका उदाहरण पनि छन् । ती नयाँ–नयाँ कामले उनका कार्यकालभरि मात्र होइन सेखपछि पनि लोकप्रिय नै बनाउँछ । तर यो पटक ती काम ओझेलमा परे, एक जना मन्त्रीले संविधानको नयाँ परिभाषा अर्थात् असंवैधानिक व्याख्या गर्न खोज्दा । विषय सबै त्यतातिर मोडियो र अरु कुरा आउनै पाएन ।

यो अवस्था अनुशासनहीनताका कारण जन्मिएको भन्ने बुझ्न सकिन्छ । मन्त्रीको शपथग्रहण सकेर आफ्नो कक्षमा आउनासाथ उनले संविधानमाथि प्रहार गरिहाले । त्यसै पनि मन्त्रिपरिषद्को यो विस्तार अर्थात् उनी जसरी मन्त्री भए त्यो आफैँ असंवैधानिक हो भन्ने विषय व्यापक भइरहेको थियो । चुनावको घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारले मन्त्रिपरिषद् फेरबदल गरेको कुरा संवैधानिक मानिएको थिएन । यो विस्तारमा तीन जना त उपप्रधानमन्त्री नै बनाएका थिए । यसैलाई जवाफ दिन होला यी मन्त्रीले संविधानको परिभाषा नै फेर्ने जमर्को गरे ।

संविधानको धारा ३ मा नेपाल राष्ट्रको परिभाषा यसरी गरिएको छ– बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ यी मन्त्रीले भनिदिए– ‘नेपाल एउटा बहुल राष्ट्रिय राज्य हो । त्यो बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने पार्टीको एजेन्डा हो ।’ दभार ग्रहणपछि शुक्रबार राति सिंहदरबारमा र शनिबार दिउँसो आफ्नो पार्टी कार्यालयमा आफ्नो कार्ययोजना बताउँदै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल राष्ट्रको यस्तो परिभाषा गरेको हुन् । उनको यो परिभाषा सामाजिक सञ्जालमा उसैबेला व्यापक भयो र विरोध पनि हुनथाल्यो ।

मन्त्रीको यस्तो कुरालाई सबैले गैरजिम्मेवार मात्रै भनेनन् संविधानमाथि नै चोट पुगेको ठहर गरे । जताततै वक्तव्य र सडक आन्दोलन नै सुरु भयो । पछि उनले सच्याएर भने, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान अकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म र लिंगको साझा राष्ट्र हो भन्ने आसय व्यक्त गरेको हुँ ।’ तर उनको यो भनाइले उनको नियतलाई लुकाउन सकेन । लुक्ने कुरो पनि थिएन । अवस्था कस्तो आयो भने यी मन्त्री यो पदमा रहुन्जेल देशका लागि डरलाग्दो स्थिति बनिरहने भयो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया