Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोशीको खुवालुङमा केन्द्र र प्रदेशको भिडन्त

कोशीको खुवालुङमा केन्द्र र प्रदेशको भिडन्त


काठमाडौं ।
केन्द्र र प्रदेशमा एउटै दलको सरकार छ तर एउटै विषयमा विल्कुलै विपरीत हुनेगरी विषय आउँछन् भने त्यसलाई के भन्ने ? इतिहासमै ठूलो दल बन्यो नेपाल कम्युनिस्ट पार्टी गणतन्त्र नेपालको पहिलो अभ्यासमै । गणतन्त्र कम्युनिस्टहरूको विशेष माग पनि हो भनिन्छ । जुन संविधानले यस्तो व्यवस्था गरेको हो त्यो संविधान बनाउँदा पनि कम्युनिस्टहरूको उपस्थिति दुई तिहाइकै हाराहारीमा थियो । त्यस्तो कम्युनिस्ट पार्टीले शासन गरेको तीन वर्ष कट्यो । यो दलले शासन थाल्दा पनि दुई तिहाइकै हाराहरी थियो । तर आज स्थिति भिन्न छ ।

यो दल आफैँ छिन्नभिन्न भएर मात्र होइन यसले लिएका नीतिहरूले पनि शासन नै गर्न नजानेको हो कि भन्ने देखाउँछ । त्यसो नहुँदो हो त केन्द्रमा यो दलकै सरकार छ । प्रदेशमा पछि सातमध्ये छ ठाउँमा यसकै सरकार तर केन्द्र र प्रदेशको न नीति मिल्छ न कार्यक्रम । एउटै विषयमा केन्द्रले एउटा कुरो गर्छ भने प्रदेशले अर्काे, यस्तो सामान्यतया नहुनुपर्ने हो यदि एक हप्ताका बीचमा सार्वजनिक भएका केन्द्र र प्रदेशका कार्यक्रममा यस्तो अन्तर आउँछ भने यो जतिको शासकीय रूपमा असफल भएको अर्को नमूना के होला ?

विषय बाजिएका यस्ता दर्जनौँ उदाहरण छन् केन्द्र र प्रदेशका बजेटमा । त्यसमध्येको यो ठाउँमा खोजिएको विषय हो पूर्वको पहिचानका रूपमा रहेको सप्तकोशी नदीबीचमा रहेको खुवालुङ अर्थात् एउटा ऐतिहासिक र धार्मिक महत्व रहेको ढुंगाका बारे दुई बजेटका भनाइ । यो ढुंगो किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको आस्थाको केन्द्र मानिन्छ पूर्वमा । त्यो ढुंगालाई फुटाउन केन्द्र सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटमा बजेटको व्यवस्था ग¥यो । बजेटमा रकम नै विनियोजन भएपछि त्यसका बारे केन्द्र सरकारको धारणा के हो भन्ने थप उल्लेख भइरहनु नपर्ला ।

यसका बारेमा केन्द्र सकरकारको आगामी आर्थिक वर्षको बजेटको ३०४औँ बुँदामा भनिएको छ– कोशी चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइनेछ । केन्द्र सरकारले बजेट घोषणा गरको साता÷दश दिनमा कोशी नदीको भू–भााग रहेको प्रदेश १ सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्यायो । त्यसमा यो खुवालुङको संरक्षण गर्दै त्यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भनेको छ । प्रदेशको नीति तथा कार्यक्रमको १३५औँ बुँदामा भनिएको छ– किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ ढुंगाको संरक्षण गर्दै जल यातायातसँगै त्यस क्षेत्रलाई ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय केन्द्रको रूपमा संरक्षण र विकास गरिनेछ ।

केन्द्रको बजेटलाई मान्ने हो भने सप्तकोशी नदीमा अवस्थित खुवालुङ एउटा ढुंगा मात्रै हो र त्यो कोशी चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका ठूलो अवरोध भएको कारण त्यसलाई हटाउनै पर्छ । यो जुन ठाउँमा छ त्यो प्रदेशको भनाइ मान्ने हो भने यही सप्तकोशी नदीमा अवस्थित खुवालुङ ढुंगो किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको यसको संरक्षण गर्दै यस क्षेत्रलाई ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय केन्द्र बनाइनेछ । केन्द्र भन्छ फुटाउने नास्ने र प्रदेश भन्छ संरक्षण गरेर झन् जोगाउने । यो खुवालुङ आफैंमा के हो त्यो आफ्नो ठाउँमा छ तर एउटै सिद्धान्त भएको एउटै दलका केन्द्र र प्रदेश सरकारले एउटै विषयमा औपचारिक रूपले नै यसरी दुई थरी धारणा राख्नुले सर्वसाधारणमा कस्तो बुझाइ होला अनुमान गर्न सकिन्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया