Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपरीक्षण बढाऔँ संक्रमण घटाऔँ

परीक्षण बढाऔँ संक्रमण घटाऔँ


काठमाडौँ ।
वैशाखको पहिलो साताबाट उच्चदरमा बढेको कोरोना माहामारी करिब दुई महिनाको ताण्डवपछि ओरालो लागेको छ । २४ घण्टामा दुई सय ५० सम्मको मृत्युदर, परीक्षण गरिएकामध्येबाट प्रत्येक दुई जनामा एक जना संक्रमित र उपचारका लागि सामान्यरूपको अक्सिजन र साधारण शय्या समेत नापउने अवस्थाबाट केही त्राण मिलेको छ पछिल्लो समय ।

यो समयमा दैनिकरूपमा थपिने नयाँ संक्रमितको संख्या तीन हजारभन्दा तलको अंकमा देखिँदै छ र मृत्युदर ७५ भन्दा कम । यो संख्या पनि सामान्यचाहिँ होइन । तर विगतसँग तुलना गर्दा सामान्य हुँदै गएको अवस्था हो यो । वैशाख महिनामा संक्रमण दर ५२ प्रतिशतसम्म रहेको अवस्थामा असारको पहिलो साता त्यो घटेर २१ प्रतिशतमा झरेको छ । यो २१ बाट शून्यतिर कसरी झार्ने भन्ने यतिबेलाको चुनौती हो ।

अझै पनि चिन्ताको विषय भने कायमै छ । त्यो भनेको सरकारले संक्रमणको विस्तार रोक्नका लागि जे–जस्ता उपायहरू अपनाएर ढोका बन्द गर्नुपर्ने हो त्यस्तो गरिएको भने पाइएन । निश्चय नै मृत्युदर र संक्रमणदर घटेको छ । तर परीक्षणदर पनि घटाइएको छ । संक्रमण विस्तार रोक्नका लागि सकेसम्मको परीक्षणदर बढाउनुपर्ने हो । पीसीआर परीक्षणको जति उच्च संख्या हुन्छ र त्यसबाट संक्रमितको जति न्यून संख्या प्रकट हुन्छ त्यसबाट संक्रमण विस्तारको मूल्यांकन भयो भने त्यो वस्तुगत हुनजान्छ ।

दोस्रो लहरको सुरुदेखि नै कन्ट्र्याक्ट ट्रेसिङ गरिएको थिएन । त्यो अवस्था आहिलेसम्म पनि कायमै छ । अहिले सरकारले जुन तथ्यांक दिइरहेको छ त्यो लक्षण देखिनेहरू आफैँ परीक्षणका लागि अस्पताल पुगेकाबाट लिइएको हो । आफैँ अस्पताल जानेहरूको संख्या नजानेको भन्दा धेरै कम रहेको विज्ञहरूको बुझाइ छ ।

उनीहरूका भनाइमा– कुनै पनि लहर कहिल्यै पनि माथि रहिरहँदैन, अत्यधिक मात्रमा आइसकेपछि त्यो बिस्तारै कम हुँदै जान्छ, यो पहिलो लहरमा पनि लागू भएकै कुरा हो, यो लहरमा धेरै मानिसहरू संक्रमित भइसकेका छन्, अब भनेको सक्रिय संक्रमितलाई समस्या देखिएको खण्डमा अस्पताल भर्ना हुने अवस्था देखिन्छ, संक्रमण दर घट्दै गए पनि जोखिमचाहिँ अझै पनि उस्तै नै छ, संक्रमण फैलिरहेको अवस्था छ, संक्रमण कम भइसक्यो भनेर ढुक्क भएर बस्ने अवस्था छैन ।

केही दिनपहिले भियतनाममा एकैदिन एक सय जनामा संक्रमण देखियो । एउटा धार्मिक कार्यक्रममा जम्मा भएकाहरूमा देखिएको यो संख्यालाई त्यो देशले यति ठूलो विषय बनायो, देशभरि निःशुल्क परीक्षणको घोषणा नै ग-यो । नेपालमै पनि धुलिखेल अस्पतालले एउटा नयाँ प्रयोग गरेको थियो । गाउँबाट एउटा नयाँ बिरामी आए भने उसका घरगाउँमा आफैँ गएर व्यापक परीक्षण गराउने ।

परीक्षणलाई सहज बनाइयो भने कुनै पनि संक्रमित खुला घुम्न पाउँदैन । त्यसकारण सर्ने सम्भावना पनि कम हुन्छ भन्ने विश्वमान्यता हो । अहिले तेस्रो लहरको चर्चा सुरु भएको छ । त्यो लहरसँग सतर्क रहने हो भने परीक्षणलाई सहज बनाउनेबाहेक अर्को उपाय देखिँदैन ।

धुलिखेल अस्पतालले पाँच सय रुपैयाँमा परीक्षण गराइरहेको छ भने वीर अस्पतालले एक हजार लिने र निजीतर्फ दुई हजार किन ? यस्ता सामान्य प्रश्नको उत्तर खोज्न जरुरी छ र सोहीअनुसारको व्यवस्था गरियो भने मात्र पनि संक्रमण रोकथाममा मदत पुग्छ । यसमा सरकारको ध्यान जाओस् । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया