Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयस्वास्थ्य सामग्री सहयोगको उपयोगमा प्रश्न

स्वास्थ्य सामग्री सहयोगको उपयोगमा प्रश्न


काठमाडौं । कोरोना महामारी विश्वव्यापी रोग हो । प्रत्येक मुलुक यसबाट पीडित छन् । ठूला–साना धनी/गरिब आश्रय दिनेलिने सबैको साझा रोग हो यो । डेढ वर्षदेखि विश्वव्यापी बनेको यो रोगसँग संसार कतै दोस्रो कतै तेस्रो र कतै चौथोे लहर झेलिरहेको छ । नेपाल भने दोस्रो लहरमा छ । यतिबेला छिमेकी देश भारतमा तेस्रो लहरको चर्चा चलिरहेको अवस्था छ जसले नेपाललाई पनि सतर्क गराउँछ ।

नेपालका लागि भारतमा हुने कोरोना विस्तारको विशेष अर्थ राख्ने हुन्छ । पहिलो लहर संसारकै लागि सिक्ने एउटा अवसर थियो । नेपालले त्यसबाट खासै सिकेको पाइएन । अस्पतालको शय्याको व्यवस्थापनदेखिका धेरै कुरा पर्छन् यसमा । दोस्रो लहरमा मानवीय क्षति पहिलोभन्दा धेरै भयो । त्यसको कारण थियो उपचारका लागि सामान्यरूपको अक्सिजनसमेत नपाइनु । अक्सिजन आफ्नै देशभित्र उत्पादन गर्नसकिने वस्तु हो । त्यसको अभाव भनेको राज्यले ध्यान नदिएको अवस्था नै हो ।

यो कुरा यो ठाउँमा र यतिबेला उल्लेख हुनुपर्ने कारण यतिबेला नेपाललाई कोरोना महामारीकोे लहरविरुद्ध लड्नका लागि सहयोग प्राप्त भइरहेको छ । खोपमा होस् कि उपचारका सामग्रीमा । कहिले कता कहिले कताबाट केही न केही आइरहेको र पाइरहेको अवस्था छ । दिनहुँ नै यसप्रकारका समाचार आइरहेका छन् तर त्यसको उपयोग सहीरूपमा भएको छ÷छैन भन्ने आमरूपमा नै प्रश्न उठ्न थालेको छ ।

विभिन्न देशबाट प्राप्त अनुदानका सामग्रीहरूमा मन्त्री र सांसदले आफ्नो नामको लेबल लगाएर वितरण गरेका भन्ने समाचार आए । त्यसको छानबिन भएन । हुँदै जाँदा मन्त्रीले नै खोपमा समेत आफ्ना मान्छे छानेर खोप दिएका समाचार आउँदा पनि कुरो सामसुम पार्न खोजियो । यी काम एकप्रकारका सामाजिक अपराध थिए । दोस्रो मात्राको खोप पाउनुपर्नेलाई दिन सकिएको छैन तर उता यो तहबाटै चोरी भइरहेका थिए । यो सहयोगको सही उपयोग हुननसकेको अवस्था हो ।

पछिल्लो समय पनि विभिन्न देशबाट स्वास्थ्य सामग्री उपलब्ध भइरहेका छन् । यो नेपालप्रति संसारले देखाएको सहानुभूति हो । यो हप्ताको प्रारम्भमै युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले नेपालीहरूलाई कोरोनाबाट जे–जति मात्रामा हो जोगाउन जोगिनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री पठायो । यो देशले ती उपकरण तथा सामग्री नेपाल सरकारको सहायताको अपिललाई आत्मसात गरेर पठाइएका हुन् भन्ने बुझ्न सकिन्छ ।

युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो इटली । युरोपियन युनियनका अन्य राष्ट्रहरू स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड इंगल्याण्ड आदिबाट पनि आए र आउनेक्रम जारी छ ।

इटाली कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेको देश हो । यो सन्दर्भमा यो सहयोग युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरूप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक मानिएको अवस्था छ । यही रूपले समाचार आएका छन् । यो ठाउँमा पनि प्रश्न उठ्छ यसको उपयोग कस्तो हुने हो । कारण जेसुकै होउन यस्तो सहयोगको सही रूपले उपयोग हुनसकेन भने मित्रराष्ट्रहरूले देखाएका यस्ता सद्भाव खेर जान्छन् । सही उपयोगका लागि समयमै ध्यान पुगोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया