Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयऋण तिर्न नसकेर आत्महत्या

ऋण तिर्न नसकेर आत्महत्या


काठामण्डौँ,माघ ६
दुई तिहाइ बहुमतको बलियो सरकारले शासन सुरु गरेपछि यस वर्षको आर्थिक वृद्धिदर साढे आठ प्रतिशत हुने आँकडा प्रक्षेपण गरे पनि जनस्तरमा त्यो वृद्धिदरको संकेत देखिएको छैन । सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदरलाई अन्तर्राष्ट्रिय मुद्राकोषले पनि खण्डन गरेको छ र उसले छ प्रतिशतभन्दा बढी हुन नसक्ने दाबी गरेको छ । तर, सरकारले आफूले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर हासिल नहुने कुरा संसोधन गरेको छैन । सरकारले यति महत्वाकांक्षी आर्थिक वृद्धिदर प्रक्षेपण गरे पनि जनस्तरमा चाहिँ आर्थिक अवस्था बेहाल र डामाडोल रहेको छ । आर्थिक अवस्था बिग्रिएर ऋण लिएका व्याक्तिहरूले ऋण तिर्न नसकेर आत्महत्या गरेका घटना विवरण सार्वजनिक भएका छन् ।कोहलपुर नगरपालिकाका वडा अध्यक्ष कृष्णबहादुर खड्का गत बुधबार माघ १ गते भारतको बहराइचस्थित शंकर होटलमा विषपान गरेर मरेको अवस्थामा भेटिए । उनले बैंकबाट ऋण लिएका थिए । बैंकको किस्ता तिर्न बैंकले तारन्तार ताकेता गरेपछि पनि उनले किस्ता तिर्न नसकेपछि भारत पुगेर विषपान गरेर आत्महत्या गरेको उनको सुसाइड नोटबाट स्पष्ट भएको छ । त्यसको भोलिपल्ट थानकोटका एकै परिवारका चार जनाले त्रिशुली नदीमा हेलिएर सामूहिकरूपमा आत्महत्या गरेका छन् । त्यसको कारण मिटरब्याजको रकम तिर्न नसकेको भन्ने अनुसन्धानले देखाएको छ । बलियो सरकारले मुलुकमा सुशासनको गफ हाँकिरहेको बेला काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा न. ४ का विनय लामिछाने र उनकी श्रीमती जमुना रेग्मी लामिछानेले दुई अबोध बालकहरूसहित नदीमा हेलिएर सामूहिक आत्महत्याको प्रयास गरे पनि विनय लामिछानेलाई प्रत्यक्षदर्शीले उद्धार गरेका छन् । उनकी श्रीमती जमुना मृत भेटिए पनि दुई नाबालकको अवस्था अज्ञात रहेको छ ।

मिटरब्याजमा रकम लिएर कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेका लामिछानेले मिटरब्याजको रकम चुक्ता गर्न नसकेर आफ्नो सिरीखुरी सकिएपछि परिवारका सबै सदस्यलाई साथै लिएर सामूहिक आत्महत्याको प्रयास गरेका हुन् । यो घटनाले बलियो सरकारबाट सुशासन र अमनचैनको दाबी स्खलित हुन पुगेको छ । समाजमा यसरी आर्थिक अपराध बढेको बढेको छ र जनताको आर्थिकस्तर पनि क्रमशः घट्दै गएको देखिन्छ । जनताले कर्जाको किस्ता तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्था बढ्दै गएको छ । समाजमा त्यो आत्महत्याको त्रासदी बढ्दै गएको छ । समाजमा त्यो आत्महत्याको त्रासदी बढ्दै गएको छ । तर, त्यसको जड र निराकरणको उपाय खोज्नुको साटो बलियो सरकार आफ्नो स्वार्थसिद्ध गर्न र द्रुत गतिको आर्थिक विकासको कोरा नाराको आत्मरतिमै रमाएर दिन बिताउँदै आएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया