Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअमानवीयताको हद गर्नेलाई दण्ड देऊ

अमानवीयताको हद गर्नेलाई दण्ड देऊ


काठमाडौं । अमानवीयताको हदै भयो दार्चुलामा । एउटा जिउँदो मान्छे अर्को मान्छेका कारण ज्यान गुमाउन बाध्य भयो । घटना जे भयो सामान्यतया त्यो पत्याइसक्नु छैन । अझ ती अकालमा ज्यान गुमाउन पुगेका युवकका आफन्तहरूमा त कस्तो अवस्था गुज्रिरहेको होला भन्ने अनुमान पनि गर्न सकिने अवस्था छैन । कसैले कहिल्यै कल्पना नै नगरेको घटना भयो त्यो ठाउँमा त्यो दिन ।

तुइनबाट नदी पार गरिरहेको एउटा मान्छेलाई किनारामा बसेको अर्को एउटा मान्छेले जानीबुझी तुइन खुस्काइदियो र वर्षाको उर्लँदो नदीको भेलमा झारेर बगाइदियो । एउटा मान्छेले यो हदसम्मको अपराध गर्ला भन्ने कल्पना समेत गर्न सकिँदैन । यस्तो संकटमा पर्दा मान्छेले सहयोग गरेका धेरै उदाहरण छन् । तर यो ठाउँमा त्यसको उल्टो रूप देखियो मानिसको राक्षसी अवतारमा ।

यसमा अझ उल्लेख्य पक्ष के छ भने यस्तो अमानवीय काम गर्ने व्यक्ति कुनै देशको सार्वजनिक सेवा अर्थात् सरकारी पदधारक थिए । ती कुन देशका राष्ट्रसेवक थिए भन्ने पछिको कुरा होला तर उनले कुनै मान्छे संकटमा परेको बेला जोगाउनुपर्नेमा उल्टो हत्या गरे । पारिबाट तुइनमा चढेर वारि आउँदै गरेको मान्छेको तुइन नै छिनाइदिनु भनेको सामन्य अपराध होइन । यसलाई सङ्गीन हत्याको सूचीमा राखेर अनुसन्धान अगाडि बढाउनुपर्ने त्यो काम राज्यले अविलम्ब गरोस् । स्थानीय प्रशासनले मुख खोल्न सकेको छैन । यसले पनि शंका बढाउँछ । घटनाका प्रत्यक्षदर्शीहरू छन् ।

स्थानीय जनप्रतिनिधिका भनाइमा भारतीय एसएसबीले तुइन काटेर हत्या गरेको हो । स्थानीयको दाबी छ– यो दुर्घटना होइन, हत्या हो, ती युवकले तुइन प्रयोग गरिरहेकै बेला भारतीय सीमा सुरक्षा बलका जवानले तुइनलाई काटिदिँदा उनी नदीमा खसेर बेपत्ता भएका हुन् । समाचार विवरण पनि यसरी नै आरहेका छन् ।

सत्तारुढ दलले विज्ञप्ति नै निकालेर यही कुरालाई पुष्टि हुने खालको घटना बताएको छ । यसबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन भन्दै सत्तारुढ दलका प्रवक्ताको पनि कुरा उस्तै छ । त्यो भवितव्य मात्रै थियो भने यी कुराहरू आउने थिएनन् । तुइनको प्रयोग जोखिमको विषय नै हो । तर त्यसको पनि एउटा सीमा हुन्छ । यो मानिसले जानाजान खुस्काइदिएको अवस्था हो । अनुसान्धन भयो भने नजिकैबाट देख्ने पनि भेटिएलान् । सरकार यसमा गम्भीर हुनैपर्छ ।

यो घटना नेपालको दार्चुलाको व्यासबाट छिमेकी देश भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथौरागढ जाने क्रमको हो । घटनामा परेर अकालमा ज्यान गुमाएका नेपाली युवा भारतको त्यो भूमिको बाटोबाट नेपाल आउन सजिलो हुने भएर यसको प्रयोग गरको थिए ।

जानकारीमा आएअनुसार घटनामा परेका युवक काठामाडौँका लागि घरबाट हिँडेका थिए । त्यो बाटो सहज त थियो तर पुल नबनेका कारण तुइनको भर पर्नुपर्ने थियो । जब युवक नदीको मध्य भागमा पुगे भारतीय किनाराबाट तुइनको तार काटियो र हेर्दाहेर्दै ती नेपाली युवा उर्लँदो नदीमा बेपत्ता भए । तार काटिएको भन्ने विवरण आएको छ । छिनेको र काटिएकोमा फरक हुन्छ । अध्ययन अनुशन्धानका सूत्रहरू प्रशस्तै छन् । सरकारले अविलम्ब छानबिन गरेर दोषीमाथि कारबाही गर्न पहल थाल्नुपर्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया