Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोप नै बेचबिखन हुने सम्भावना

खोप नै बेचबिखन हुने सम्भावना


काठमाडौं । सर्वसाधारण नागरिकका लागि कतिपय देशले अनुदान दिएका र कतिपयचाहिँ खरिद नै गरिएर प्राप्त भएका खोप दुरुपयोग भएका विवरणहरू दिनहुँ आउन थालेका छन् । केही समयअघि बागलुङको एउटा खाजाघरमा खोप दिइरहेकै अवस्थामा व्यक्ति पक्राउ परे भने त्यसको केही दिनपछि विराटनगर महानगरका मेयरमाथि आफन्तलाई मात्र खोप दिन लागेको भन्ने आरोप लाग्यो । त्यसअघि एक नं प्रदेशका स्वास्थ्य मन्त्रीले पनि सर्वसाधारणलाई दिन लागिएको खोप उनका नजरबाट आफन्तलाई दिन लागिएको भनी रंगिन हात नै छापा मारिएको विवरण आएको थियो ।

पछिल्लो दिन धनगढीमा सर्वसाधारण दिनभरि लाइनमा बसेर पनि खोप नपाएका र जनप्रतिनिधिका आफनतहरूले भने खोप लगाइरहेका दृश्य सार्वजनिक भए । पछिल्लो समय पूर्वको विर्तामोडमा यस्तै सर्वसाधारणलाई दिन पठाइएका खोप होटलमा भेटिएपछि छानबिन माग गर्दै विर्तामोड नगरपालिकामा ताला लगाइएको समाचार आयो । होटलमा खोपका मात्रा भेटिनु निश्चय नै भण्डारणको लागि होइन । अनेक बहाना बुनिएला तर कुरा हो खोप कतै न कतै दुरुपयोग भइरहेको छ ।

यद्यपि खोप जे–जसरी होस् लाग्ने त मानिसको शरीरमा नै हो भनेर यो दुरुपयोगलाई कम आक्ने अवस्था पनि होला । निश्चय नै खोप लाग्ने त मान्छेको शरीरमा नै हो । यदि खोपको मात्रा पर्याप्त थियो भने सुविधाअनुसार जसले जे गरे पनि त्यसलाई केही हदसम्म सह्य मानिन्थ्यो । त्यस्तो बेला पनि यस्तो जता पायो त्यतै खोप दिन थालियो भने त्यसको गुणस्तरको कुरा उठ्थ्यो नै ।

अहिले खोपको मात्रा पर्याप्त नभएर नै प्राथमिकताका आधारमा वितरण भइरहेको छ । त्यो प्राथमकितालाई मिचेर र नातागोताको प्राथमिकता रोज्न खोज्दा साधारण नागरिकमा अन्याय पर्ने भयो नै । साथै खोपको खरिदबिक्री हुने सम्भावना पनि देखिन थाल्यो । विर्तामोडको घटनाले त्यही संकेत गर्छ । होटलमा खोपका मात्रा फेला पर्नु निश्चय नै तिनका उद्देश्य फरक थिए भन्ने देखिन्छ । कि सबै मात्रा ती ठाउँमा भेटिएका भए त्यसकै अर्को अर्थ हुनसक्थ्यो । यो ठाउँमा एउटा निश्चित मात्रा मात्र भेटिएको छ । जसले यो के प्रयोजनका लागि यो ठाउँमा आइपुग्यो भन्ने खुल्दैन । अधिकारीहरूले त घटनालाई जोगाउनका लागि बहाना बनाउँछन् नै ।

विर्तामोडको यो सर्वसाधारणका लागि आएको खोप होटलमा भेटिएको घटना त्यसै सामसुम भयो भने अबका दिनमा खोपका मात्राको दुपयोग हुने सम्भावना अत्यधिक बढ्नेछ । हुनसक्छ यो खरिदबिक्रीमा परिणत पनि हुनसक्छ । छिमेकी देश भारतमा १५ प्रतिशतको हाराहारीको मात्रा निजी क्षेत्रलाई दिइएको छ । त्यसले सरकारले निःशुल्क दिएका मात्रालाई प्रभाव पारेको भन्ने समाचार आउन थालेका छन् ।

भारत खोप उत्पादक देश हो । कतिपय निजी क्षेत्रले उत्पादनस्थलबाटै खरिद गरेका हुन सक्छन् । त्यस्तो बेला त सरकारले निःशुल्क दिएको मात्रा यताउता हुनेगरको भन्ने विवरण आउन थालेका छन् भने नेपाल उत्पादक देश होइन । यहाँ खरिद र अनुदानका मात्राको मात्र प्रचलन हुन्छ ।

विर्तामोडको घटनाको सत्यतथ्य छानबिन भएन भने निःशुल्क खोप हराउनेछन् र यसरी होटेलमा खरिदबिक्रीका लागि पसल खुल्नेछन् । नेपाल यतिबेला भर्खर खोपको प्रारम्भमा छ । यतिबेला पाँच प्रतिशतले पनि पूरा मात्राको खोप पाइसकेका छैनन् । यस्तोबेला खोपमा यसप्रकारको तलमाथि हुनथल्यो भने त्यो गम्भीर अपराध हुन जान्छ । सरकारले हेक्का राखोस् । विर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन १०३ भाइल खोपसहित होटलमा फेला परे भन्ने घटना प्रारभिक मात्र हुनसक्छ । यो कामले निरन्तरता पाउन पनि सक्छ, हेक्का रहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया