Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्रीको मुटु

प्रधानमन्त्रीको मुटु


आफैँ विभिन्न खाले समस्यामा गुटुमुटु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मुटु भएका सम्पादक देखेनन् । उनले नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डलसँगको भेटमा सरकारले गरेका राम्रा कामको समाचार लेख्ने मुटु र मन भएका सम्पादक नै नभएको बताएका छन् । आफ्नो सरकारले सडकमानवमुक्त बनाएको सडकलाई भिखारीमुक्त बनाएको कुरा पनि दोहा-याए । यति मात्र होइन, यसअघि नै उनले मृगौला रोगीको सरकारले निःशुल्क डाइलासिस गर्ने घोषणा गरेका थिए ।

उनले २०७२ सालमै मुलुकबाट एक वर्षभित्र तुइन विस्थापन गर्ने उद्घोष गरेका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि नयाँ वर्षको उपलक्ष्यमा २०७५ साल वैशाख १ गते रारा तालको किनारबाट देशवासीको नाममा सन्देश दिँदैै अब नेपाली जनताको स्वास्थ्य र शिक्षा सरकारको दायित्व भएको घोषणा गरेका थिए । उनले विभिन्न मञ्चहरूको प्रयोग गरेर सरकार मानव अधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रबाट एक एन्च पनि दायाँबायाँ नगर्ने बताउँदै आएका थिए । तर, उनका भनाइ कति सार्थक भएका छन् भनेर उनी आफैँले कहिल्यै आत्मसमीक्षा गरेको देखिँदैन ।

प्रधानमन्त्री ओलीको मृगौलामा समस्या भए पनि मुटुमा समस्या देखिएको छैन । मुटु जतिसुकै स्वस्थ भए पनि मृगौलाको समस्याले उनी बालुवाटारमै गुटुमुटु भएर जाडो कटाउँदै छन् । बालुवाटारबाट आफ्नो कार्यालय सिंहदरबारमा पनि नियमित जान सकेका छैनन् । जाँदा पनि प्रहरी सुरक्षाको घेराभित्रको गाडीमा चढेर जाने गर्छन् । उनी बालुवाटारबाट नक्साल पुतलीसडक हुँदै सिंहदरबार जान्छन् । सहरभित्र मठमन्दिरमा कहाँ कति भिखारी छन् त्यो उनलाई थाहा हुने कुरा पनि भएन । पाटी र सत्तलमा कहाँ कति सडकमानव रहेका छन् त्यो पनि उनले देख्ने कुरा भएन । उनले मुलुकलाई खुला दिशामुक्त घोषणा गरेका छन् । गोठालो, मेलापात जाँदा सार्वजनिक ठाउँमा दिसा पिसाब नगरेर शौचालयमा दिसा पिसाब गर्ने कुरा कल्पनाबाहिरको हो । उनको सरकारी निवासबाट राति निस्केर पैदल त्रिपुरेश्वर जान हिँडेको व्यक्तिलाई पेट खराब भएको रहेछ भने कहाँ दिसा गर्ने हो भन्ने पनि थाहा नभएको त पक्कै होइन । सार्वजनिक शौचालय नै नबनाई खुला दिसामुक्त देश भनेर घोषणा गर्नेले बिहानै विष्णुमति किनारतिर पदयात्रा गरे सबै छर्लङ्ग देख्नेछन् ।

सत्ताको सिरानीमा आँखा चिम्लेर पल्टने बानी परेकाले माइकअगाडि पर्दा जे मुखमा आयो त्यही बोल्दैमा मुटु बलियो भएको मान्न सकिँदैन । स्वयम प्रधानमन्त्रीले अब आफ्नै मुटुप्रति शंका गर्नुपर्ने अवस्था आउन सक्दछ, चिकित्सकहरूले होइन, आफूलाई मुटु भएको दाबी गर्ने प्रधानमन्त्रीका बोली र वास्तविकतामा यति धेरै अन्तर हुनु मुटु भएको परिचायक होइन । मुटु हुनु मात्र ठूलो कुरा होइन मुटुले काम गर्नु ठूलो कुरा हो । रक्तसञ्चार नगर्ने मुटु हुनु र नहुनुको केही अर्थ रहँदैन ।

उनले तुइन विस्थापन गर्ने घोषणालाई सहयोग गर्न आह्वान गरेपछि बालुवाटार पुगेर एक करोड रूपैयाँ सहयोग गरेकी गायिका आनीलाई बालुवाटारले छोडेका अरिंगाल र छौंडाहरूले कसरी डसे भन्ने त राम्रै थाहा होला । बालुवाटारबाहिर भएको भए झन कति डस्थे होला भन्ने पनि ख्याल गर्नु पर्दछ । आसेपासे, तमासे, भाइभारदार आफन्तले ब्रम्हलुट मच्चाएको पीडा सहन नसकेर त्यस्तो दुर्वचन बोलेको भए पनि त्यस्तो सैह्य छैन । उनलाई आफूले जे बोले पनि हुन्छ भन्ने लागेको हो, उनी बर्बराएका हुन भने उनको मुटुको भन्दा पनि मनको समस्या हो । उनको मन भालुको पित्तजस्तो रहेछ भन्ने त प्रधानमन्त्री भएको दुई वर्ष हुन लाग्दा पनि सम्पादकहरूसगँ अन्तरक्रिया गर्न नचाहनुले देखाएकै हो ।

अब त मन विचलित हुन लागेको हो कि भनेर आशंका गर्नुपर्ने अवस्था आएको छ । आफैँले मनोनित गरेका मन्त्री र सचिवहरूलाई बोलाएर मेरो नाममा कमिशन माग्ने को हो भनेर कराउन सक्ने तर रोक्न नसकेको अवस्था देखियो । मिडियालाई खुम्च्याउने प्र्रयास भइरहेको बेला सम्पादकलाई तर्साउन र आफ्नो मकसद पूरा गर्न त्यस्तो बोलिएको हो भने पनि त्यो बर्बराहटबाहेक अरु केही हुन सक्दैन । सम्पादकका मनमुटु छाम्न खोज्नुभन्दा पनि प्रधानमन्त्री आफ्नो मन र मुटु आफैँ छाम्ने वा जाँच्ने हो कि जँचाउने हो, ढिला नगर्दा हुन्छ । सम्पादकको मन र मुटु नभएको कुरै छाड्नुस् बिग्रिएको पनि छैन, बिचलित भएको पनि छैन । चाकर खोज्नुभएको हो भने आफ्नै घेरा परिपरि हेर्नुस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया