Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयवैदेशिक लगानी घट्नु चिन्ताजनक

वैदेशिक लगानी घट्नु चिन्ताजनक


काठमाडौं । पछिल्लो समय विदेशी लगानी घटेको विवरण सार्वजनिक भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार ६५ देखि ७० प्रतिशतको हाराहारीमा घटेको छ । यो भनेको निकै ठूलो अंक हो । अंक ठूलो भन्ने त छँदै छ यसले दिने सन्देश झनै गम्भीर हुन्छ । यस्तो चित्र आर्थिक वर्षको प्रारम्भमै देखियो । त्यसमाथि बितेको वर्षको अन्त्यतिरबाट यस्तो लगानी घट्न थालेको थियो । बितेको वर्षको उत्तरार्धबाट देशमा चरम प्रकारको अस्थिरता जन्मियो ।

गएको पुसमा संसद् विघटन भएर मध्यावधि चुनावको घोषणा भएपछि सुरु भएको चरम प्रकारको राजनीतिक अस्थिरताले त्यसको एक/डेढ महिनामै देशव्यापी आकार पायो । त्यो विघटन असंवैधानिक थियो भन्ने अदालतले फैसला गरिसकेपछि पनि राजनीतिले गति लिन सकेन । अन्योलता बढ्दै बढ्दै आजकै दिनसम्म पनि कायमै रहेको छ । सरकारले विश्वासको मत पाएको तीन महिनाको हाराहारीमा आइपुग्दा पनि मन्त्रिपरिषद् विस्तार समेत हुन सकेन । लगानीका सन्दर्भमा कतै न कतै यसको बाछिटा पर्छ नै ।

गएको आर्थिक वर्षको अन्त्यतिर अर्थात् उत्तरार्धमा राजनीति यस्तो थियो भने यता त्यही समयमा कोरोनाको संक्रमण बढ्यो । सरकारले राजनीतिमा अल्झिएर त्यसको व्यवस्थापन गर्न चुक्दा मानिसको ठूलो संख्यामा जीवनको क्षति भयो । सामान्य प्रकारको अक्सिजन समेत नपाएर मान्छेहरू भकाभक भइरहेको अवस्था लगानीका लागि अर्को नकारात्मक सन्देश थियो । यो अवस्था वैशाखदेखि असारसम्म नै रह्यो जो आर्थिक वर्षका हिसाबले पूरै एक चौथाइ भाग हो । यसले लगानी घट्दै जानुमा सरकारी अधिकारीहरूलाई आफ्नो कमजोरी लुकाउने ठाउँ बनाइदियो । लगानी किन घट्यो भन्ने सहज प्रश्नमा एउटै जवाफ आइरहे– कोभिडका कारण गतिविधि रोकिएर यस्तो भयो । अधिकारीहरू लगानी घटेका कारणमा राजनीतिक अस्थिरता र संरचनागत र प्रक्रियागत अवरोधलाई कतै पनि दोष दिने पक्षमा थिएनन् । त्यस्तो अवस्था अहिले पनि यथावत नै छ ।

राष्ट्र बैंकको असोज महिनाको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो महिना यस्तो लगानी ६५ देखि ७० प्रतिशतका दरले घटेको देखिएको थियो । यसप्रति खासै ध्यान गएको पाइएन जसले त्यसपछिका महिनामा पनि यस्तो घट्दोदर कायम रहेको अवस्था नै प्रकट हुँदै आएका छन् । यो चिन्ताको विषय हो । गएको आर्थिक वर्षको भदौ र असारबाहेक सबै महिनामा यस्तो लगानी घटेको बैंकको प्रतिवेदनले देखाएको छ । चालू आर्थिक वर्षको सुरुमै उच्च दरले कमी आएको यो अवस्थाले यो वर्ष कसरी बित्ला भन्ने संकेत गर्छ ।

स्वाभाविक छ लगानीमा कोभिड संक्रमणको प्रभाव परेको अवस्था हो नै । यो नेपालको मात्र होइन विश्वव्यापी समस्या हो । कोभिड जसरी विश्वव्यापी भयो त्यही रूपमा विदेशी लगानी पनि प्रभावित हुने भयो नै । तर विश्वमा कतिपय राज्यहरूले आफूलाई सुधार गरेका छन् । यो ठाउँमा दुःखको कुरा के हो भने नेपालमा कुनै उपाय नै खोजिएन मात्र होइन कतिपय प्रक्रियागत रूपले लगानीमा अवरोध भएका ठाउँमा सुधार समेत गर्न आवश्यक ठानिएको अवस्था देखिएन । यो सबैभन्दा चिन्ताको विषय हो । महामारीको यस्तो बेला एकातिर राजनीति भरपर्दौ छैन, कुन बेला के हुन्छ भन्ने अन्योल छँदै छ, त्यस्तो बेला प्रशासकीय अवरोध पनि थपिए भने त्यो दीर्घरोग नै बन्छ लगानीका लागि । यता कालोधनलाई प्रोत्साहन गरिने र अर्कोतर्फ प्रतिबद्धता जनाइएका लगानी भित्र्याउन पहल नगर्ने हो भने अवस्था विकराल हुन जान्छ । हेक्का रहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया