Techie IT
×
गृहपृष्ठसम्पादकीयबजारमा सरकारको उपस्थिति शून्यप्रायः

बजारमा सरकारको उपस्थिति शून्यप्रायः


काठमाडौँ ।यो वर्षको बडादशैँ विधिवत् प्रारम्भ भएको दिन हो असोज २१ । घटस्थापनापछि दशैँ प्रारम्भ हुन्छ । बजारहरुमा पनि दशैँ लागिसकेको छ । पछिल्ला दिन कोरोनाको संक्रमण पनि घट्न थालेजस्तो भएको छ । बजारमा भीडभाड बढेको छ । यो बीचमा राजनीतिक दलहरुले जसरी आफ्ना कार्यक्रमहरुलाई खुलारुपले

परिचालन गरे र गरिरहेका छन् त्यसले पनि मान्छेलाई यस्तो भीडभाडमा उत्रिन उक्साएको ठान्छन् केहीले । जस्तो सत्तारुढ दलको स्थानीय अधिवेशन चलिरहेको छ भने विपक्षीले हालैमात्र एउटा ठूलो भेला सम्पन्न ग¥यो । छ हजार मान्छे तीन दिनसम्म एकै ठाउँमा खानपान, उठबस र छलफलमा सरिक भए ।

यसले भीडभाड केही होइन रहेछ भन्ने परेको हुनुपर्छ । यसको लक्षण ८–१० दिनपछि देखिने हुँदा परिणाम के होला भन्ने अनुमान गर्न सकिने अवस्था छैन । त्यस्तो केही नहोस् भन्ने कामना मात्रै गरौँ !दशैँको यो भीडभाडमा कोरोनाले के गर्ला भन्ने त चिन्ता छँदै छ, त्यसैभित्र पर्छ– दशैँको निहुँमा बढेको बजारभाउ । कोरोना आफ्नो वशमा नहोला तर बजारभाउ त सरकारले चाहेमा र अनुगमन बढाएमा कम्तीमा कृत्रिम रुपले बढ्ने थिएन । अहिले अचाक्ली नै भएको छ । अवस्था कस्तो भने अहिलेको बजारमूल्य शतप्रतिशत मात्रै होइन प्रतिशत तोक्नै नसकिने गरी बढेका छन् ।

खासगरी बजारमा ती खाद्यान्न हुन् कि तरकारी, फलफूलदेखि लत्ताकपडा आदि सबै सबै मूल्य अत्यधिक बढेका र बढिरहेकै अवस्थामा पाइन्छ । अवस्था कस्तो भने सरकार नै छैनजस्तो । त्यसै पनि सरकार आफैँ पूर्ण हुनसकेन । तीन महिना बित्न लाग्यो । त्यसको सन्देश बजारमा यस्तो गयो कि सरकार पनि बनाउन नसक्ने, सरकारले के गर्छ भन्ने । यो एक प्रकारले स्वाभाविक पनि होला । बजारलाई केही हदसम्म नियन्त्रण गर्ने माध्यम हो अनुगमन । सरकार नै छैन भन्ने परेको अवस्थामा त्यस्तो अनुगमन कसले गर्ने भन्ने प्रश्न उठ्ने नै भयो र जब सरकार छैन भन्ने बजारले थाहा पायो अनि उसको नियन्त्रणमा जाने भयो नै । बजारको नियन्त्रण भनेको उसको स्वेच्छाचारी बढ्नु पनि हो जसले महंगीलाई निरन्तर बढाइरहन्छ ।

एक जना पूर्वगभर्नरका अनुसार यतिबेलाको बजारभाउ तीन सयदेखि चार सय प्रतिशतसम्म बढ्ने गरेको छ । यता राज्यको कानुनले भने नाफा अंक तोकेको छ जस्तो कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने भनी किटानी नै गरेको छ । त्यस्तो काम गरे दण्ड पनि कडा नै छ ।

यही ऐनको दफा ३ (१)मा लेखिएको छ– (१) दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।

उल्लिखित दण्डको व्यवस्था लागू हुनुपहिले बजार अनुगमन हुनपर्छ । जब अनुगमन नै हँुदैन भने कानुनमा लेखिएको दण्डले केही हुँदैन । यतिबेला बजारले आफूलाई आफैँले नियन्त्रण गर्नुबाहेक अरु संयन्त्र परिचालित नै भएको छैन । अहिलेको दशैँको दुःखद अवस्था यो पनि हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया