Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमौसमको जानकारी कर्मकाण्डी मात्रै

मौसमको जानकारी कर्मकाण्डी मात्रै


काठमाडौं । दशैँको समयमा भएको बेमौसमी वर्षाले पु-याएको मानवीय क्षतिको संख्या डेढ सयको हाराहारीमा पुग्यो । विशेष गरेर दशैँकाके टीका लाउन जाँदा र टीका लगाएर फर्किँदाका क्रममा बढी क्षति भएको छ । एउटै घरका सात/आठ जनासम्मको एकै चिहान भएको छ । यो हदसम्मको क्षति त ठूलो वर्षाको समयमा पनि भएको थिएन । यसको अर्को पक्ष के रह्यो भने मानवीय क्षति देशैभरि कायम रह्यो । पूर्वको इलाममा एकै रातमा ११ जनाको मृत्यु भयो भने त्यसै रात पश्चिमको डोटीमा ८ जनाको मृत्यु भयो । विगतका घटनालाई सम्झने हो भने पूर्व हान्दा पश्चिम जोगिएको र पश्चिम डुब्दा पूर्व जोगिएका घटना थिए । तर यो पटक भिन्न भयो, जुन कल्पनासम्म पनि भएको थिएन ।

यो पटकको मानवीय क्षतिको कारण अधिकांश ठाउँमा पहिरो बन्यो । यो विपत्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भयो । वर्षा सुरु हुँदा पश्चिम बढी पीडित थियो । त्यो विस्तार हुँदै पूर्वमा पुग्यो । प्रारम्भका यी दिनमा नै इलाम र डोटीमा १३/१३ जनाको ज्यान गयो । कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत २० जिल्लामा मानवीय क्षति भएको गृहको महाशाखाले जानकारी दिएको छ । बझाङमा सबैभन्दा बढी २५ जना बेपत्ता भएका पाइयो । पूर्वको पाँचथरमा आधा दर्जनको अवस्था अज्ञात रह्यो । विभिन्न जिल्लामा गरेर ५० को हाराहारीमा बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । यो मौसममा सुधार आएको अवस्थाको अघिल्लो दिनसम्मको जानकारी हो ।

यो पटक त्यसै पनि ठूलो वर्षा भएको थियो । यो वर्षको मनसुन सुरु भएको पहिल्यै दिन सिन्धुपाल्चोक र मनाङमा ठूलो क्षति भयो । त्यसको तुलनामा अन्यत्र जोगिएको थियो । तर जब मनसुन सकियो भनी अनुमान सुनाइयो अनि यो विपत् आइलाग्यो । यो वितण्डा कात्तिक महिनाका प्रारम्भिक चार दिनसम्म कायम रह्यो । यो महिना न बाढीको हो न पहिरोको नै । तर दुवै कुरा एकैचोटि यही बेला भए । यो घटना हुँदा मौसमको भविश्यवाणी भरपर्दो भएन कि भन्ने पनि छ । भएको थियो भने त्यो मौसमले प्रभावित पार्ने वर्गसम्म पुगेन कि भन्ने पनि छ ।

खासगरी यो समय किसानका धानबाली भित्र्याउने समय हो । यो बेलाको वर्षाले जति मानवीय क्षति ग¥यो त्योभन्दा बढी धानबाली नष्ट गरिदियो । पाकेर भित्र्याउन लागिएको धान खेतमै उम्रियो भने कतिपय बगेर नष्ट भयो । यो पनि पूर्वदेखि पश्चिमसम्मकै अवस्था समान हो । पानी र हावा सँगै आउँदा पसाउन ठीक परेका र कतिपय फूल लागेका धानबालीका बोट ढलेर सोत्तर भए । किसानहरू यो अवस्था देखेर खेतमै रोइरहेका दृश्य वास्तवमा नै हृदयविदारक छन् । उनीहरूका कानसम्म मौसमको यस्तो ताण्डव हुँदै छ है भन्ने जानकारी पुगेको भए रातबिहान गरेर धान भित्र्याउने थिए वा काटेर फिँजाउने थिएनन्, जसले केही हदसम्म जोगिने अवस्था हुन्थ्यो । त्यस कारण अबचाहिँ भन्नै पर्छ मौसमको भविष्यवाणी कर्मकाण्डमा सीमित नराखौँ । त्यसले प्रभाव पर्ने क्षेत्रसम्म नै पु-याऔँ । त्यस्तो जानकारी किसानसमक्ष समयमै पुगेको भए पाकिसकेको बाली यति ठूलो क्षतिबाट जोगिन सक्थ्यो कि ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया