Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदलको कार्यक्रममा नागरिकलाई पीडा

दलको कार्यक्रममा नागरिकलाई पीडा


काठमाडौं । राजनीतिक दलको सार्वजनिक स्थलमा हुने कार्यक्रमले नागरिकलाई पीडा दिनु दुःखद कुरा हो । ती बन्द, हड्ताल, चक्काजाम र सडक नै ढाकेर गरिने प्रदर्शनहरू जे हुन यस्ता कामको पहिलेदेखि नै घोर विरोध हुँदै आउने गरेको छ । तर दलहरू भने जनताको त्यस्तो दुःखको अलिकति पनि महसुस गरेर सुध्रने अवस्थामा देखिएनन् । दलको कार्यक्रममा बढी उपस्थिति देखाउन विद्यालय नै बन्द गराएर विद्यार्थीको प्रयोगदेखि नेताहरूको स्वागतमा कलिला बालबालिकालाई घाण्टौँसम्म लाइनमा राख्नेजस्ता काम अझै रोकिएका छैनन् ।

त्यसको पछिल्लो उदाहरण प्रमुख प्रतिपक्ष दलको १०औँ महाधिवेशनको अवसरमा आयोजित समारोहका लागि गरिएको अत्यधिक व्यस्त रहने मार्ग पूरै दिन बन्द गरिने भन्ने समाचार विवरण भएको छ । आज १० मंसरिमा नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा जनताको अत्यधिक उपस्थिति गराउन खोजेको कुरालाई आधार बानाएर स्थानीय प्रशासनाले चितवन नारायणघाट क्षेत्रको मूल राजमार्गबाट कुनै पनि सवारीसाधनलाई प्रवेश रोकिदिएको सूचना जारी गरिदियो ।

यो दिन यो ठाउँमा यो दलका नेता कार्यकर्ता र उनीहरू सवार साधनबाहेक कुनै पनि सार्वजनिक सवारी चल्ने छैनन् । चितवनका प्रजिअका अनुसार मंसिर १० गते हुने उद्घाटन कार्यक्रममा मानव चापलाई मध्यनजर गरेर बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म भरतपुरको मुख्य क्षेत्रमा ‘नो भेइकल मुभमेन्ट’ गर्ने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरिसकको छ । उनकै अनुसार नो भेइकल मुभमेन्ट भनिएको क्षेत्रमा कुनै पनि किसिमका सवारीसाधन चल्न पाउने छैनन् । यो एक प्रकारको निषेधाज्ञा नै हो । एउटा निश्चित बिन्दुबाट अघि बढ्न नपाएपछि त्यो बिन्दुमा आइपुगेका त्यस्ता साधनहरू त्यो दिनभरि अर्थात् बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म त्यहीँ बस्नुपर्नेछ ।

सुरक्षा समितिको निर्णयअनुसार यो दिन पूर्वी नेपालबाट आउने सवारीसाधन ९ बजेपछि साँझसम्म यो बजार मात्र होइन चितवन जिल्लाको सीमानामा नै प्रवेश गर्न पाउने छैनन् । त्यस्तै यता पश्चिमबाट आउने सवारीसाधन नारायणीपारि गैंडाकोटमै रोकिनेछन् दिनभरि नै । नारायणघाट पूर्व–पश्चिम जोड्ने एउटै मात्र सडकखण्ड हो । यसको विकल्प कतै छैन । यसले के बताउँछ भने त्यसदिन पूर्व–पश्चिम यातायात पूरै बन्द हुन्छ । सरकारको बुझाइ हो भीडभाडबाट उत्पन्न खतराबाट यसो गर्नुपरेको हो । तर यो भनाइ आफैँ कति लाचार र आम नागरिकलाई कति कष्ट दिने खालको छ भन्ने बुझ्न सकिन्छ ।

अवस्था कतिसम्म भने त्यसदिन नारायणीवारि सार्वजनिक सवारी आउन सम्भव छैन, पश्चिमबाट आउने सवारीसाधनको व्यवस्थापन गर्ने जिम्मा नवलपुरको जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई दिइएको छ । अर्थात् यो प्रहरीले त्यसदिन पूर्वी नेपालका लागि यात्रा गर्दा यो ठाउँमा आइपुगेका जनतालाई करिब १२ घण्टा बन्दी बनाएर राख्नेछ । उता पूर्वी नेपालबाट यसरी नै यो ठाउँमा आइपुगेका यात्रुबाहक सवारीसाधन यात्रुसहित केन्द्रीय बसपार्कमा नै थन्किनेछन् दिनभरि नै । यो भनेको यतिठूलो र विकल्पविहीन राजमार्ग एउटा राजनीतिक दलको कब्जामा हुँदै छ । यहीँबाट प्रश्न उठ्छ एक सेकेण्ड पनि खाली नरहने यस्तो सडक केवल मान्छे भेला हुने भए भनेर यातायातको गन्तव्य नै रोक्न मिल्छ ? अनि एउटा राजनीतिक दलले ‘सुखी नेपाली’ भन्ने नारा लगाउन नै आवतजावतको यस्तो व्यस्त ठाउँलाई १२÷१५ घण्टाको अवरोध गराइदेऊ भन्न मिल्छ ? प्रश्नहरू सामान्य छैनन् र निरुत्तरित पनि रहन हुँदैन । सबै दलका यस्ता कार्यक्रम सडक अवरोध गरेर गर्न कदापि राम्रो होइन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया