Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना महामारी बिर्सन थालिएको हो ?

कोरोना महामारी बिर्सन थालिएको हो ?


काठमाडौं । कोरोना महामारीको प्रकृति भनेको अलिकति सचेत भयो भने ठूलो दुर्घटना टर्ने र भएन भने जीवनमरणकै दोसाँधमा रहनुपर्ने अर्थात् ठूलो जोखिम मोल्नुपर्ने हुनेगरेको विगतले नै देखाएको छ । यो नेपालको मात्र नभएर संसारभरिकै साझा कुरा हो । अहिलेको प्रश्न हो, यसबारे हामी आफैँ कति सजग छौँ र अरुलाई पनि कति सजग गराइरहेका छौँ ? भन्ने । देशको प्रमुख प्रतिपक्षी दलको महाधिवेशन यो सन्दर्भमा उदाहरण बनेको छ । यो दलको चितवन महाधिवेशनको उद्घाटनसत्र अहिलेसम्मकै सबैभन्दा ठूलो जमघट थियो ।

जानकारीमा आएअनुसार पाँचदेखि छ लाखको संख्या भेला भयो चितवनमा । पूर्व–पश्चिम, उत्तर–दक्षिण सबैतिरबाट त्यहाँ मान्छे जम्मा भएका थिए । एउटा राजनीतिक दलको लागि शक्ति प्रदर्शन गर्ने सन्दर्भमा यो जमघटकले ठूलो महत्व राख्छ नै । तर चिन्ता गर्नुपर्ने विषय के हो भने त्यो राजनीतिक चेतनासँग कोरोना महामारीबाट बच्ने चेतना जोडिएको पाइएन । यसले कोरोनाको विस्तार गरिदियो भने त्यो कति भयावह होला भन्ने अनुमान पनि गर्न सकिँदैन ।

एउटा उदाहरण हो, यही दलका सचिव महाधिवेशन स्थलतर्फ हिँड्न लाग्दा कोरोना संक्रमित भएको देखियो र उनी रोकिए । अनुमान गरौँ, यदि उनको परीक्षण नभएको भए त्यस दिनको मानवसागरबीचमा उनले यो संक्रमण कतिलाई फैलाइसक्थे होलान् ? उनी ठाउँका ठाउँ नै रोेकिए । त्यसले एउटा भयावह अवस्था आउनबाट पनि जोगायो । एउटा सामान्य सचेतनाको हिसाबले त्यो अवस्था हुनबाट रोकियो । यसको अर्थ हो यो संक्रमण अझै अस्तित्वमा छ र भीडमा अरुलाई पनि यसले डस्न सक्तछ । यति ठूलो भीडमा अरु पनि त संक्रमित थिए कि ? भन्ने प्रश्न कतैबाट उठेको देखिएन । यो गम्भीर प्रश्न हो । यही असावधानीका कारण यतिबेला युरोप, अमेरिकामा पहिलेजस्तै यो संक्रमण भयावह बन्दै गएको छ । यस्तो समाचार हामीले रातदिन नै सुनिरहेका छौँ । कोरोनाको त्यस्तो विस्तारमा मानिसको सतर्कता खुकुलो भएको बताइएको छ । तर त्यो सामान्य प्रकारको चेतना यहाँ किन भर्न सकिरहेका छैनौँ भन्ने प्रश्न उठ्छ खासगरी यस्ता प्रायोजित भीडभाडहरूमा । ठूलो रकम लगानी गरेर मान्छेको भीड बटुल्दा पाँच रुपैयाँको एउटा मास्क लगाइदेऊ भनेर सुझाइएको भए मात्रै पनि धेरै ठूलो सुरक्षाको सम्भावना हुन्थ्यो तर त्यति पनि गरेको देखिएन त्यस दिन । त्यस कारण पनि दायित्वबोध नभएको हो कि जस्तो देखिएको छ ।

चितवनमा यही नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कोरोनाको परीक्षण नगरी प्रवेश नदिने भन्ने जानकारी आएको थियो । करिब तीन दिनसम्मको सहबासको सन्दर्भमा र करिब तीन हजारको संख्यामा प्रभावित हुन्थ्यो । समाचार विवरणअनुसार महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने व्यवस्था गरिएको हो ।

खासगरी स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिइने भइयो । यो काम सकारात्मक मात्रै होइन, यसरी ठूलो संख्या एक ठाउँमा भेला हुने यस्ता कार्यक्रममा यस्तो परीक्षणपछि मात्र प्रवेश गराउने र सहवासलाई अनुमति दिने हो भने कोरोनाबाट सुरक्षाको ढाल निर्माण हुन्छ । त्यस कारण अबका दिनमा यस्ता जमघटको आयोजना गर्दा प्रतिपक्षी दलको यो चितवन अभ्यासको अनुकरण गर्न जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया