Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयइच्छाराजको जस्तो ठगी नदोहोरियोस्

इच्छाराजको जस्तो ठगी नदोहोरियोस्


काठमाडौं । उच्चशिक्षा प्राप्त गरेर त्यसकै प्रभावमा परेका आम नागरिकलाई ठगी गर्दै हिँडेका इच्छाराज तामाङमाथि केन्द्रीय अनुसन्धान ब्युरोले दुई महिना लामोे अनुसन्धानबाट छ अर्बको कैफियत पुष्टि ग-यो । यो भनेको आफूमाथि विश्वास गर्नेहरूको धरोहर रकम हो । उनी पुलचोक कलेजमा पढाउँथे । पुलचोकका सरहरूबाट खोलिएको संस्थाले धोका दिँदैन भन्ने विश्वासमा उनले खोलेको सिभिल सहकारीमा निक्षेपकर्ताको अपेक्षाकृत भिड नै लाग्यो । थोरै समयमा यति धेरै निक्षेप जम्मा भयो जसलाई उनले कुटिल तरिकाले ठगे । यो ठगी पनि संगठित नै थियो । अनुसन्धानबाट यो कुरा पुष्टि भएपछि नै होला प्रहरीको उक्त ब्युरोले संगठित अपराध भएको भन्दै उक्त बिगो रकम र कैदमा डेढी थपेर मुद्दा दायरका लागि सिफारिस गरेको छ । यो भनेको बिगो करिब छ अर्बको डेढी र कैद आठ वर्षको पनि डेढी नै थपिनु हो । यो प्रस्ताव मात्रै हो, मुद्दा गई नसकेकोले के हो भन्न सकिन्न ।

सम्भवतः यो अहिलेसम्मकै सबैभन्दा ठूलो अंकको ठगी हो । यो ठगी समात्नै निकै समय लाग्यो । त्यति बेलासम्म ठूलो संख्याका सर्वसाधारण नागरिकरको कन्तबिजोग भइसकेको थियो । यस्ता विवरण धेरै पटक सार्वजनिक हुँदै आएका थिए र अझै पनि यो क्रम जारी नै छ । सुरुमा यस्तो ठगी हुन लागेको सूचना दिनेलाई नै ज्यानको धम्की दिइने गरिएको थियो । त्यस कारण उजुरी पनि कमै परे । अहिले उजुरीको संख्या मात्रै दुई हजारभन्दा बढी पुगेको छ । यो सामान्य होइन ।

यो सहकारीले ठगेको कारण आफ्नो खातामा पैसा भएर पनि झिक्न नपाएपछि खर्चको अभावमा उपचार नपाएर दर्जनभन्दा बढीको ज्यान गइसकेको छ । यस कारणले यदि यो ज्यानमुद्दासँग पनि जोडिन्छ भने त्यो पक्ष पनि हेरियोस् । मान्छेको जीवनसँग नै खेलबाड भएको कुरा सामान्य होइन । भावनात्मकरूपले पनि यो ठाउँका मानिसका सपनाहरू पुरिएका छन् । यो काम संगठित र योजनाबद्ध रूपमा सम्पन्न गरिएको भन्ने त पुष्टि भई नै सक्यो । यतिबेलाको डर के हो भने माफियाहरूले चलखेल गरेर अपराधी गिरोहलाई उम्काउने अवस्था हुन सक्छ । अखबाहरूले यता पनि सावधान गराएका छन् । प्रहरीको यसतर्फ कति ध्यान गएको छ भन्ने हेर्न बाँकी छ । यतिबेला नै सतर्क भइएन भने जे पनि हुन सक्छ । अहिले त अदालतका कुरा समेत बाहिर आइरहेका छन्, कतिसम्मको मिलोमतो हुन्छ भन्ने बुझ्न र बुझाउन ।

यो मुद्दा यहाँसम्म आइपुग्न सीआईबीले झण्डै ५० दिन लामो अनुसन्धान गरेको थियो । सीआईबीका प्रवक्ताका अनुुसार यतिलामो अध्ययनपछि यस्तो प्रतिवेदन बनेको हो । यसमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराजसहितका १२ जनाको पहिलो चरणको अनुसन्धान हो यो । यी १२ जना गएको असोज १८ मा प्रहरीको हातमा परेका थिए । पक्राउ परेपछि पहिलो पटक पाँच दिन, दोस्रो पटक १८ दिन, तेस्रो पटक १० दिन र चौथो पटक पनि पुनः १० दिन म्याद थप गरिएको थियो । ठगहरूको यो समूहका बाँकी फरारहरूको खोजी पनि भइरहेको बताइएको छ । यसका मुख्य अभियुक्त भनेका इच्छाराज र उनकी श्रीमती सिर्जना नै हुन् । सिर्जना अझै फरार रहेको बताइएको छ । यसको अर्थ हो, यो गिरोहको मुद्दा यहाँसम्म पुग्न वा पु-याउन धेरै ठूलो कसरत भएको छ । अब यो मुद्दा यसरी चल्नुपर्छ कि आइन्दा यस्तो संगठित ठगी गर्ने आँट कसैले नगरोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया