Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयव्यापारमा बढ्दो असन्तुलन चिन्ताजनक

व्यापारमा बढ्दो असन्तुलन चिन्ताजनक


काठमाडौं । आयात र निर्यात व्यापारको पछिल्लो चौमासिक मूल्यांकनको एउटा चित्र प्रस्तुत गर्दै सरकारी निकायले निर्यात व्यापारमा वृद्धि भएको देखायो । प्रतिशतमा हिसाब गर्दा यस्तो व्यायार वृद्धिको अंक एक सय चार पुगेको देखियो । यो खुशीको पनि कुरा हो । यो वर्षको प्रारम्भको अवस्था भएकोले वृद्धिदर यही प्रकारले कायम रहे वर्षभरिकै अवस्था राम्रो हुने संकेत हुन सक्तछ यो अंक । कतिपय तथ्यांकहरू वर्षको प्रारम्भमा जे देखियो अन्त्यसम्मा त्यही रहन सक्छन् । व्यापार असन्तुलन बढाउने जुन वस्तु बढी मात्रामा आयात हुन्थे ती यथावत नै रहेको स्थितिमा निर्यातको प्रतिशत यो तहमा बढेको हो । तर यो अवस्थाले अर्को पनि चित्र देखाउँछ । गएको वर्षको तुलनामा निर्यातको प्रतिशत बढे पनि अक भने ठूलो हुँदैन । निर्यातको कुल अंक नै सानो भएपछि प्रतिशत बढेर मात्र आकार बढाउन सक्तैन । शरीर सानो भएको जनावरले आफ्नो जिउ जति फुलाए पनि त्यसको एउटा सीमाभन्दा ठूलो हुन सक्तैन । त्यस कारण यसमा सारै खुशी हुने स्थिति छैन भनिएको हो ।

सरकारले देखाएको विवरणमा चालू वर्ष ०७८/०७९ को प्रथम चौमासिकमा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको निर्यात भएको बताइएको छ । भन्सार विभागका अनुसार यस्तो समीक्षा भएका महिनामा भटमास तेल, पाम तेल, धागो, गलैँचा, जुटजन्य सामग्री, तयारी पोसक र सूर्यमुखी तेललगायतका वस्तु बढी निर्यात हुनेमा परेका छन् । विभागले निर्यात भएका यी वस्तुमा कसको योगदान कति रह्यो भन्ने पनि उल्लेख गरेको छ जसमा वस्तुगत रूपले भटमासको तेल २६ अर्ब ४० करोड ११ लाख, पाम तेल १९ अर्ब दुई करोड ३० लाख, धागो, अर्ब ८९ करोड आठ लाख, गलैँचा, तीन अर्ब ९३ लाख, जुट दुई अर्ब ९५ करोड ५१ लाख, तयारी पोसाक दुई अर्ब ६७ करोड ४७ लाख रुपैयाँको निर्यात भएछ । अघिल्लो वर्षको यो अवधिमा ४० अर्ब २० करोड रुपैयाँको निर्यात भएको विभागको विवरणमा उल्लेख छ । यो पक्षबाट हेर्दा उल्लिखित एक सय चार प्रतिशतमा नै बढेको हो तर बढेको कुल अंक भने ४० अर्बको हाराहारीमा नै । आधा खर्ब समेत कट्न सकेको छैन । यसैलाई भनिएको हो शरीर नै सानो भएपछि त्यो जति फुले पनि एउटा सीमाभन्दा बढी हुँदैन ।

उता आयातको अवस्था हेरौँ । विभागका अनुसार चालू वर्षको यही अवधिमा छ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात भयो । यो समयमा बढी आयात भएका वस्तुमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिलजन्य सामग्री, मेसिन, सवारीसाधन र पार्टपुर्जा आदि छन् । यो ठाउँमा ध्यान दिनुपर्ने के छ भने निर्यातमा भटमासको तेल पनि परेको छ भने त्यही भटमास बढी आयात भएकोमा पनि परेको छ । भटमासको तेल २६ अर्ब ४० करोड ११ लाख रुपैयाँको निकासी भएको थियो । यसको अर्थ हो एउटै वस्तु आयात र निर्यातमा पनि परेको छ । फलाम तथा स्टिलजन्य सामग्री र मेसिन र पार्टपुर्जाको आयात बढनु सकारात्मक कुरा हो । यी भनेका विकास निर्माणमा प्रयोग हुने वस्तु हुन् । तर उपभोग्य वस्तुको आयातमा वृद्धि भने चिन्तायुक्त हो । यो अवधिमा ७८ अर्ब एक करोड रुपैयाँको पेट्रोलियम पदार्थ, ६३ अर्ब ४३ करोड ५५ लाख रुपैयाँको फलाम तथा स्टिलजन्य सामग्री, ४८ अर्ब ९७ करोड रुपैयाँको मेसिन र पार्टपुर्जालगायतका वस्तु आए । यो अवधिमा आयात भएको एउटै वस्तुले करिब–करिब कुल निर्यातको अंक उपभोग गरेको चित्र देखिन्छ यो ठाउँमा । त्यस कारण निर्यातमा उल्लेख भएको वृद्धिको प्रतिशत उल्लेख्य उपलब्धि होइन । यो नै चिन्ताको विषय हो । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया