Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमौका नपाउनेको इमानदारिता

मौका नपाउनेको इमानदारिता


सत्ताधारी नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक राजधानीको राष्ट्रिय सभागृहमा पाँच दिन चलेर सकिएको छ र त्यस बैठकमा मूलरूपमा भ्रष्टाचारविरुद्ध चर्को बहस भएको छ । दुई तिहाइ बहुमतका साथ गठन भएको बलियो सरकारले चलाइरहेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा हुने बहसले देशको भावि दिशानिर्देश गर्ने भएकाले पनि त्यस बैठकलाई निकै महत्वपूर्ण रूपमा लिइएको थियो । सत्ताधारी दलको बैठकमा केन्द्रीय सदस्यहरूले भ्रष्टाचारको चर्को विरोध गरे । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नै नभएको र सुशासन कायम गर्न कोशिस भैरहेको दलिल पेश गरे । तर, केन्द्रीय सदस्यहरूले प्रधानमन्त्रीको जिकीरपछि पनि भ्रष्टाचारविरुद्ध चर्को स्वर गर्न छाडेनन्, सहभागीहरूले यत्तिको उछित्तो काडे । यहाँसम्म कि भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्नसमेत माग गरे । पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न पनि माग गरियो ।

एमसीसी र लिम्पीयाधुरा काण्डको उस्तै चर्को विरोध गरेर राष्ट्रिय संरक्षणको पक्षमा आवाज पनि उठ्यो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतापछिको द्रोस्रो पूर्ण बैठक थियो त्यो । राजनीतिक नेतृत्वमा लगभग भ्रष्टीकरण भैसकेको जनमानसमा चर्चा छ र त्यो राजनीतिक नेतृत्वप्रति जनताले विश्वास र भरोसा गर्न सक्ने अवस्था अहिले छैन । यसरी राजनीतिक नेतृत्वप्रति जनताको विश्वास र भरोसा टुट्दै गयो भने देशमा अराजकता बढ्दै जान्छ र त्यसले निरङ्कुशता जन्माउँछ । ठीक त्यस्तै मोडमा पुगेको बेला केन्द्रीय सदस्यहरूले भ्रष्टीकरणतर्फ उन्मुख नेतृत्वलाई सच्चिन खबरदारी गरेको छ । त्यो चानेचुने कुरो होइन । यो खबरदारीले पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्नेछ ।

तर, राष्ट्रिय सभागृहमा त्यसरी कुर्लिएका केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ढुकुटी खर्च गरेर भव्य रात्री भोज खुवाए । पार्टीका केन्द्रीय सदस्यलाई खुवाउन त्यसरी राष्ट्रिय ढुकुटी खर्चनु पनि भ्रष्टाचार नै हो । केन्द्रीय सदस्यहरूले सरकारले गरेको भ्रष्टाचारको त्यसरी धुवाधाररूपमा विरोध गरेपछि सरकारी रात्री भोजमा नजानु पर्ने थियो । तर, उनीहरूले पनि एक छाक भात खान्न भन्न सकेनन् । त्यसले उनीहरू पनि मौका नपाउन्जेलको मात्र इमानदार हुन् कि भन्ने शंका उत्पन्न भएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया