Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयहराउँदै जवाफदेहिता

हराउँदै जवाफदेहिता


सत्ता र शक्तिको उन्माद बद्दै गएपछि मन्त्रीहरूमा जवाफदेहिता हराउँदै जान थालेको छ । झण्डै दुई तिहाइ बहुमतको समर्थन प्राप्त गरेको सरकार छ । सरकारका मन्त्रीहरूमा प्रचण्ड बहुमतको घमण्ड छ । केही समयअघिसम्म त सरकारलाई दुई तिहाइ बहुमतकै समर्थन प्राप्त थियो । सत्ताको घमण्डले सझेदारलाई हिक्याउँदा समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि दुई तिहाइ बहुमतबाट सरकार स्खलित भएको हो । सत्ता नपाउन्जेल चर्को स्वरमा कराउने र पद प्राप्त गरेपछि मुसोजस्तै दुलो पसेर चुपचाप बस्ने प्रवृत्ति बढ्दै गएको छ ।

मन्त्री पद नपाउन्जेल आकास पातल जोडेर गफ हाँक्ने नेता मन्त्री भएपछि चाहिने कुरो बोल्दै बोल्दैनन् । उल्टापाल्टा कुरा मात्र बोल्दछन् र जनताले मागेकोे जवाफ दिँदै दिँदैनन् । खासगरी दुई तिहाइ बहुमतको समर्थन प्राप्त गरेर नेकपाको सरकार गठन भएपछि बनेका मन्त्रीहरूमा यस्तो कुबुद्धि बेस्मारी पलाएको छ । तर, एकआध व्यक्तिचाहिँ अपवाद पनि बनेका छन् । मन्त्री बनेपछि पनि गोकर्ण विष्टले आफूलाई सही लागेको कुरा बोल्न छाडेनन् । त्यही कारण उनी मन्त्रीबाट हटाइएका हुन पनि सक्दछन् ।

तर, मन्त्री हुनुअघि घनश्याम भुषाल र योगेश भट्टराईले केही बोल्न बाँकी राखेनन् । काल्सवर्गका सोखिनहरूको भीडमा कार्र्लमाक्सको विचारका व्याख्या भनेर प्रचार गरिएका भुषाल कृषिमन्त्री बनेपछि उपेक्षित बनेको कृषि पेशामा जनवादी क्रान्तिको सपना देखिएको थियो । तर, त्यो सपना सधैँ सपनामै सीमित रहने संकेत देखिन थालेको छ । किनकी कृषिमन्त्री कृषि क्रान्तिको कुरा गर्न छाडेर उडल्याण्डतिर अध्ययन र रिबोकतिरको अवलोकन भ्रमणमा बरु देखिएलान् । किसानको पीरमर्का भएतिर ढिम्किन पनि चाहँदैनन् । उखुकिसानको आन्दोलन तुहाइदिएर सपनामै मस्तजस्तो देखिएका छन् । झुक्याइएका उखुकिसानले फेरि आन्दोलनको जमर्को थालेका छन् । त्यो आन्दोलनले उनको कुम्भकर्ण निन्द्रा भङ्ग हुने अवस्था आउने सम्भावना देखिन थालेको छ ।

जनताको कामको नाममा सिन्को पनि नभाँच्नेले पद नपाउँदा त्यसरी नानाभाँती कुरा गर्न कसरी सकेका ? पद पाएपछि यसरी नबोलेरै जनतालाई धोका दिनुथियो भने पद नपाउँदै चर्को कुरा किन गरेका होलान ? ताजुव लाग्दछ । उखुकिसानले सबै भुक्तानी पाए त भनेर कसैले सोधे जवाफ दिनु पर्ला भनेर बरु दुलो पस्यो, बस्यो, झण्डा हल्लाएको गाडीमा आउँदा जादाँ पनि एकापट्टी कोल्टे परेर निहुरिएर बस्यो, कसैले देखे पनि आफूले नदेखेपछि तित्रोले टाउको लुकाएजस्तो भइहाल्यो नि । यी मन्त्री प्रतिनिधि पात्र हुन् । कोही मन्त्री यस्तो प्रवृत्तिका छन् । कोही फरक छन् । तीचाहिँ योगेश भट्टराईसँग मिल्दाजुल्दा छन् । उनी पनि प्रधानमन्त्रीलाई ललकारेरै मन्त्री भएका छन् । मन्त्री भएपछि पनि बोल्न छाडेका छैनन् । शौचालय दुर्गन्धित रहेछ भनेर विदेशीले ट्वीट गर्दा त्यसको सवाल जवाफ गर्नुभन्दा पनि सुधार्ने र सफा गर्नेतर्फ ध्यान जानुपर्ने हो । तर, सुधारको कुरै छैन । जवाफ दिने नाममा मनपरी जवाफ दिनु पनि भएन । मन्त्रीहरू जनताप्रति जवाफदेही हुनुपर्दछ भन्नुको अर्थ जे मन लाग्यो त्यो बोल्दै हिँड्नु पनि होइन ।

यस्तो किन भएको होला भन्ने कुरामा पनि कसैले ध्यान दिएका छैनन् । मानिसहरूलाई लाग्दो हो कि प्रधानमन्त्री नै ओठे जवाफ दिएर हिँडछन्, अनि मन्त्रीहरूचाहिँ कस्तो हुनु त ? तर, प्रधानमन्त्री नै त होइनन् नि मन्त्रीहरू । जनताप्रति पनि जवाफदेही हुनुपर्दछ । तर, उनीहरू कतै पनि जवाफदेही देखिँदैनन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका क्रियाकलाप मेडिकल कलेजका विद्यार्थी र अभिभावकप्रति पनि जवाफदेही छैनन् । प्रधानमन्त्रीप्रति पनि छैनन् । यसरी पनि कसरी चल्छ राजकाज ? कसरी जनतालाई समानताको अधिकार दिलाउन सकिन्छ ? यो त आखाँमा छारो हालेर लुट्नेबाहेक अर्को काम भएन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया