Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंक्रमण विस्तारमा राजनीतिक दलको भूमिका

संक्रमण विस्तारमा राजनीतिक दलको भूमिका


काठमाडौँ । अघिल्लो वर्ष अत्यधिक फैलिएको कोरोना संक्रमणले पूर्वराजारानी र त्यसवरपरको संसर्गलाई गाँजेको थियो । पूर्वराजदम्पती त १५ दिनजति अस्पतालमै रहे । सुखद अवस्था हो उनीहरूमा कुनै गम्भीर प्रभाव नपरी सामान्यरूपमा नै त्यो चरण सकियो । दुःखद पक्ष के हो भने त्यो संक्रमणको स्रोत नेपाल थिएन ।

भिडभाडमा नजान भनेर विशेषज्ञहरूले निरन्तर सुझाव दिइरहँदा पनि पूर्वराजारानीहरू एउटा ठूलो दलबलसहित भारतको कुम्भ मेलामा सहभागी हुन गए । त्यसबेला भारतमा संक्रमण बढ्दो रूपमा थियो । त्यो मेलामा राजदम्पतीलाई विभिन्न मठमन्दिरहरूमा आम नागरिकसरह नै बसाएर भोजन र स्वागत गर्ने काम भएको थियो । परिणाम के भयो भने उनीहरू नेपाल फर्कनासाथ अस्पताल जान प-यो ।

त्यतिबेला सर्वसाधारणले भने अस्पताल पाइसक्नुको अवस्था थिएन । जानकारीमा आएअनुसार त्यो भ्रमणमा रहेका सबैमा संक्रमण थियो । त्यसलाई गोप्य नै राखियो । मापदण्ड उल्लंघनको यो उच्चस्तरीय नमूना थियो । याद रहोस् त्यो वर्ष अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति र संक्रमण नै उच्चदर भएको वर्ष थियो ।

अहिलेको संक्रमण विस्तार पनि करिब–करिब त्यस्तै छ । यसको मापदण्ड नमानिँदा र एउटा नमूना बन्नुपर्ने व्यक्तिसमूहले त्यसलाई नमान्दाको अवस्था हो भन्ने करिब–करिब प्रमाणित नै भयो । आजको मितिमा एउटा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष र उनका नजिक रहने अर्का नेता मात्र होइन दलका करिब सय जनाजति एकै पटक संक्रमित भएका छन् ।

२८ जना सदस्य रहेको सचिवालयका २५ जना संक्रमित देखिए र कार्यालय नै बन्द गर्न प-यो । यो दलका उल्लिखित नेताहरूले करिब–करिब एकैदिन सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । यो लहरोले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत आसोलेसनमा बसायो । नेताहरूका फेसबुकमा भन्ने गरिएको छ, ‘स्वास्थ्यमा केही समस्या देखिएपछि कोरोना परीक्षण गरेको र त्यसमा पोजेटिभ देखिएको हुँदा ..।’

नेतासँगै उनका निजी सचिवालयमा कार्यरत कर्मचारीलाई पनि कोरोना संक्रमण देखियो । यो सूचना वा जानकारी नेताहरूले लुकाएनन् । जसलाई संक्रमण भए पनि भनिदिए । यसले प्रधानमन्त्री समेत आइसोलेसनमा बस्ने अवसर प्राप्त भयो । एकान्तवासले एउटा त संक्रमण भइसकेको रहेनछ भने कम्तीमा यो बेलासम्मको कसैको सामिप्यवाट हुने जोखिमबाट जोगाउँछ । त्यस कारण यसलाई एउटा अवसर भनिएको हो ।

यो पटक एउटा के पुष्टि भयो भने कम्तीमा माओवादीका नेताहरूमा यो संक्रमण उनकै महाधिवेशनबाट आएको हो । माओवादी केन्द्रले पुस ११ देखि १८ गतेसम्म आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । देशभरिबाट यसका सहभागीहरू दुई हजारको संख्यामा रहेका बताइएको थियो र तिनीहरू पूरै हप्तादिनसम्म एकैठाउँ खाने, बस्ने र छलफल गर्ने क्रममा बिताए । हुन त अरु दलले पनि यस्तो भिडभाड नगरेका होइनन् तर माओवादीजतिको घनत्वचाहिँ थिएन ।

यता विज्ञहरूले भने यसो नगरौँ भनी सुझाव दिईनै रहेका थिए । भयो के भने १८ गते सम्मेलन अर्थात् यो भिडभाडको काम सकियो । तर भोलिपल्टदेखि संक्रमण प्रकट हुन थालिहाल्यो । छलफलकै क्रममा कतिपय नेता–कार्यकर्ता संक्रमित भइसकेका रहेछन् । अरुका लागि उदाहरणीय बन्नुपर्ने संस्था र व्यक्तिहरू अरुले नै औँल्याउने गरी आफैँ उदाहरणीय बन्न पुगे ।

अब दलहरूसँग सोध्नै पर्छ, यस्तो बेला यस्तो भिडभाड गर्ने कि नगर्ने र यस्तो भिडभाडले संक्रमण थामीनसक्नु भयो भने त्यसको जिम्मा लिने कि नलिने ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया