Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्रीको डिनर डिप्लोमेसी

प्रधानमन्त्रीको डिनर डिप्लोमेसी


बिरामी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका सदावहार प्रतिद्वन्द्वी झलानाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर सारङ्गी रेट्न लगाएर मंगलबार साँझ आफूले चाहिँ बाँसुरी बजाए । पत्रकारलाई अगाडि राखेर प्रधानमन्त्रीले कलाकारसँगै बाँसुरी बजाएका थिए ।प्रधानमन्त्रीले आफ्नो निवासमा गरेको उक्त साङ्गीतिक कार्यक्रमले आफ्ना दुई झगडीयालाई सन्तुलनमा राख्न खोजेको देखिन्छ, आफूलाई मात्र मन र मुटु भएको ठान्ने प्रधानमन्त्री ओलीले मुटु नभएका भनेर यसअघि नै पगरी गुताइदिएका सम्पादकहरूलाई पनि कार्यक्रममा सहभागी गराएर आत्मीयता देखाएका थिए ।

सरकार गठन भएको डेढ वर्षसम्म केपी ओलीकोे सरकारलाई दुई तिहाइ बहुमतको समर्थन थियो । प्रचण्डसँगको पूर्वसहमति च्यातेर पूरा अवधि ओली सरकार नै रहने अर्को सहमतिपछि छोइसक्नु थिएन । सरकार गठन भएदेखि नै उदण्ड तरिकाले चल्दै आएको थिए । नयाँ–नयाँ योजना सार्वजनिक गरेको थियो, प्रधानमन्त्रीका योजनाप्रति जनस्तरबाट टीकाटिप्पणी हुनथालेपछि त्यसलाई प्रधानमन्त्रीले उखान टुक्काले लेप लगाउने गरेका थिए । पार्टी एकता भएपछि उनका सामु कसैले शिर उठाएर चर्को स्वरले बोल्न सक्ने अवस्था थिएन । आसेपासे, कमिशन दलाल र केही मन्त्रीबाहेक अरुले भेट्न पाउने अवस्था पनि थिएन । केही समयअघि मन्त्रिपरिषद् पुनर्गठनमा फालिएकी एक मन्त्रीले नै यो कुरा खोलेकी हुन् ।

प्रधानमन्त्रीको मृर्गौलाले राम्रोसँग काम नगरेपछि आसेपासेका लागि प्रधानमन्त्रीका नाममा आफ्नो धन्दा चलाउने राम्रो मौका मिलेको थियो । यसलाई उनीहरूले राम्रोसँग सदुपयोग गरेका थिए । यसबीचमा प्रधानमन्त्रीले आफूबाहेक अरु होहीलाई पनि देखेनन् । मानौँ उनी सर्वज्ञ थिए । सर्वद्रष्टा थिए । विपक्षीलाई तृणबराबर महत्व नदिई सुरु भएको उनको सत्ताशयरको यात्रा दुई वर्ष नपुग्दै आफ्नो पार्टीभित्रको विवादको भुमरीमा परेको छ । पार्टीमा पछि ल्याएका प्रचण्डका माओवादी खेमासँगको आपसी आशंका कायमै छ र पुराना प्रतिद्वन्द्वी सहयात्रीहरूले आँखा डुलाउँदा समेत प्रधानमन्त्री ओली आफू हल्लिएको ठान्न
थालेका छन् ।

अब उनका धाक, धम्की, ललकार, आश्वासन केहीले पनि काम गर्न सकेन, खासगरी नेकपाको केन्द्रीय समितिको बैठकपछि उनले आफू एक्लिँदै गएको महशुस गरेका छन् र त्यही कारण डिनर डिप्लोमेसीतर्फ लागेका छन् । यसबीचमा बारबार उनले चुनावको परिणामपछि कांगे्रसलाई प्रमुख प्रतिपक्षीको हैसियत पनि नरहेको पार्टी भनेका थिए । यिनै माधव नेपाल, झलनाथ खनालहरूलाई आफूले पार्टी चलाउँदा हामीलाई के गरेका थियौँ भनेर सम्झाउन पछि परेका थिएनन् ।

माओवादीका प्रचण्डहरूलाई त उनले कहिल्यै राजनीतिक ठानेका पनि थिएनन् । उनको त्यही धारणालाई पाठकसमक्ष नकोच्याएका कारण मन र मुटु भएका सम्पादक भेटिएन भनेका हुन् । तर, अहिले त्यही बाटो जाँदा पार लाग्न नसक्ने देखेपछि रोम जलिरहँदा निरोले बाँसुरी बजाएर जनताको ध्यान आफूतिर तान्न खोजेजस्तो गरी डिनर डिप्लोसेसीमा बाँसुरी बजाएरर अरुको मन जे भए पनि आफ्नो मन बहलाउन खोजेको देखिन्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया