Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबलियो सरकार ढल्ने डर

बलियो सरकार ढल्ने डर


प्रधानमन्त्री केपी शर्मा ओली गृहनगर पुगेर आइतबार राजधानी फर्कनुभयो । शनिबार प्रतिनिधिसभाको बैठमा दृढताका साथ गोलमटोल बोलेर सबैलाई सकस पारेका प्रधानमन्त्री ओली आइतबार गृहनगर झापा पुगेर निराशावादी देखिनुभयो र आफ्नो सरकारका विरुद्ध भित्र/बाहिर दुवैतिरबाट षड्यन्त्र भइरहेको बताएर राजधानी फर्कनुभयो । उहाँले झापामा सरकार ढाल्ने कसरत भइरहेको स्पष्ट संंकेत गर्नुभयो ।

उहाँ कुनै अवस्थामा पनि हार मान्ने र हरेस खाने मानिस होइन । उहाँ दायाँबायाँका अवस्था र अघिपछिका परिणामको आँकलन गरेर बोल्ने मानिस पनि होइन । उहाँ आफूलाई लागेको स्पष्टरूपमा बोल्ने मानिस हो । तर, उहाँका काम गराइ पारदर्शी भएका छैनन् । त्यो अर्कै कुरा हो । बोल्दै जाँदा कथा हाल्ने र त्यसलाई उखान टुक्काले सिँगार्ने उहाँको भाषणकला हो । तर, उहाँ चटके होइन, उहाँले त्यसरी चटक देखाएको पनि होइन । मन परेका मानिसले भने गरेका सबै राम्रो ठान्ने र मन नपरेका मानिसले भने गरेका जस्तोसुकै राम्रो भए पनि राम्रो नठान्ने र मन नपरेका मानिसले भने गरेका जस्तोसुकै राम्रो भए पनि राम्रो नठान्ने उहाँको दुर्गुण हो ।

कसै–कसैले उहाँको अयोग्यताले यस्तो दुर्गुण निम्त्याएको आरोप पनि लगाउने गरेका छन् । तर, बोल्दा असाध्यै मन छुने गरी बोल्ने तर काम गर्दा सेटिङका काम मात्रै गर्ने । उहाँको जीवनशैली नै बन्दै गएको छ । मुखले उहाँले सधैँ सदाचारका कुरा गर्नुभएको छ । तर, व्यवहारमा भ्रष्टाचारै भ्रष्टाचार छ, भ्रष्टाचार नहुने सरकारी कार्यालय भेट्टाउनै मुश्किल छ । प्रधानमन्त्रीका कुरा सुन्दा भने अहिले मुलुकमा रामराज्य छ, उहाँ आफू कलियुगको कृष्ण हुुनुहुन्छ ।

खासै औपचारिक योग्यता नभए पनि उहाँले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर कुरा गर्ने गर्नुभएकाले उहाँको सरकारले जनतालाई अहित हुने काम नगर्ने अपेक्षा गरिएको थियो । तर, उहाँको सरकारले जनतालाई झुक्याउने ढाँट्ने र पीडा दिनेबाहेक अर्को काम गरेन । उहाँले बोलेका कुरामा तथ्यांक मिल्दैनन् । अर्थ मन्त्रालयले त्यो समायोजन गर्नसक्ने कुरै भएन । अरु मन्त्रीहरू आ–आफ्नै धुनमा छन् । त्यो कुरा अर्को मान्छेले भन्दा उहाँ पत्याउनुहुन्न, जो भ्रष्टाचार गरिरहेको छ, ऊ आफैँले प्रधानमन्त्रीलाई त्यो कुरा भन्दैन । एक त उहाँ बिरामी हुनुहुन्छ, अर्को आसेपासेको घेराबन्दीमा हुनुहुन्छ, तेस्रो पढाइलेखाइ कम । विश्वासपात्रले जे भन्यो त्यही बोल्दा र गर्दा उहाँ एकपछि अर्को गलत कार्यमा फसिसक्नुभएको छ ।

आइतबार गृहनगर पुगेपछि उहाँले आफू घेराबन्दीमा पर्दै गएको महसुस गर्नुभएछ र सरकार ढाल्ने षड्यन्त्र भइरहेको आभास पाउनुभएको छ । यसअघि उहाँले आफूवरावर कोही नभएको फुइँ गर्दै आउनुभएको थियो । इतिहासकै सबैभन्दा बलियो निर्वाचित सरकारको नेतृत्व ठान्नुहुने उहाँलाई अब सरकार ढल्ने डर लाग्न थालेछ । विचारा ! गल्न थाल्नुभएछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया