Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदुईदिने बिदा र सरकारी सेवा

दुईदिने बिदा र सरकारी सेवा


काठमाडौं । सरकारले इन्धनको खपतमा कमी ल्याउन भनी सुरु गरेको हप्तामा दुईदिने बिदाले खासगरी सेवाग्राहीका लागि भने बिजोगको विषय भएको छ । आयल निगमले आफ्नो घाटाको अंक धेरै बढी भयो भन्दै सरकारलाई हप्तामा दुईदिने बिदाको सिफारिस गरेको थियो । सरकारले पनि त्यसबारे थप अध्ययन नै नगराई जेठको पहिलो दिनदेखि यस्तो बिदाको प्रावधान लगायो । तर यसका लागि समुचित आध्ययन नभएका कारण सेवाग्रहीलाई बिजोग गराउनेबाहेक यसले अरु काम गरको देखिएन । त्यसै पनि नेपालको प्रशासन संसारभरिकै सेवा छल्ने क्रममा उस्ताद मानिन्छ । कर्मचारी सेवाग्राहीभन्दा कर्मचारीप्रिय छन् । खासगरी जनघनत्व हुने ठाउँ अर्थात् जनताका लागि बढी सेवा दिनुपर्ने निकायमा घुस नखाई काम नै नहुने भन्ने कुरा विभिन्न अध्यनहरूले प्रत्येक वर्ष देखाउने गरेका छन् तर सरकार भने त्यसमा सुधार ल्याउने पक्षमा कहिल्यै देखिएन । दुई दिनको बिदाको पछिल्लो व्यवस्था पनि त्यसको उदाहरण भएको छ ।

यतिबेला सरकारी कुनै कार्यालय सरकारलेभनेको समयमा खुल्ने गरेका छैनन् । कार्यालय सहायक आएर कार्यालय खोलिदिन्छन् । यसले हेर्दा अर्थात् बाहिरबाट कार्यालय खुलेको जस्तो देखाउँछ तर भित्र भने कुनै कर्मचारी त्यो समयमा टेबुलमा भेटिँदैनन् । कारण हो त्यस्ता कर्मचारीलाइ कुनै डर नहुनु । अर्को दुई दिनको बिदाले नागरिकको जीवन निर्वाहमा गम्भीर असर पर्ने ठाउँमा समेत सरकारको बेवास्ता देखियो । स्कुल र अस्पतालहरू यो बिदाले सबैभन्दा प्रतिकूल प्रभाव पारेको क्षेत्र हो । शनिबारका दिनमा मात्रै बिदा हुँदा त आइतबार अस्पतालमा थामीनसक्नुको भीड हुन्थ्यो भने दुई दिनको बिदाले त अस्पतालपरिसरमा कोलाहल नै मच्चिएको देखियो यो एक हप्ताकै अभ्यासका क्रममा ।

नेपाली प्रशासनका कर्मचारीको आनीबानी हो बिहान ढिलो आउनु र बेलुका छिटो हिँड्नु । यसमा कहिल्यै सुधार आएको छैन । हाटा भन्ने एउटा सटकट भनाइ कर्मचारीका प्रवृत्ति बताउन पर्याप्त होला । ढिलो आउँछन् र हतारमा हिँड्छन् भने त्यस्तो कर्मचारीबाट सेवाग्राहीले कस्तो सेवा पाइरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ । त्यसै पनि यसअघिको शुक्रबारे हाफ बिदाले दुई दिनको बिदाजस्तै बनाएको थियो । अब दुुई दिनको औपचारिक बिदा भएपछि यो तीन दिनको जस्तो हुनपुगेको छ । त्यस कारण पनि यसलाई हचुवाको भरमा गरिएको नागरिकलाई अप्ठरो पर्ने गम्भीर निर्णय भनिएको हो । यसमा सरकारले सुधार गर्ने लक्षण देखाएको छैन । यो झनै आपत्तिको विषय हो ।

नाम इन्धन खपत घटाउने भन्ने दिइयो तर यो कामचोरहरूको कामजस्तो भयो । सातामा दुई दिन बिदा दिने सरकारी निर्णयले इन्धन जोगाउने भए त्यसपछि यही बिदा लागू भएपछि यो हप्तामा मात्रै दुई पटक इन्धनको मूल्य बढिसकेको छ । यदि सरकारको निर्णय सही थियो भने त्यस्तो नहुनुपर्ने हो । यो प्रावधानले सरकारी सेवा झन् बिग्रिएपछि यस्तो बिदाको व्यवस्था लागूभएकोे दोस्रो सातामा नै पुनरावलोकनका लागि सरकारमाथि दबाब परेको भन्ने विवरण आएका छन् । यो भनेको नागरिक समाजाबाट यस्तो बिदाप्रति व्यापक असनतुष्टि प्रकट भएको अवस्था हो । यसले शिक्षाक्षेत्र तहसनहस हुनलागेको छ भने स्वास्थ्य त झनै चौपट नै भइसक्यो । एउटा बिरामी मान्छेलाई हप्तामा दुई दिन बिदा बस भन्नु कतिसम्मको जायज हो सरकारले जवाफ दिनुपर्छ । यसले नागरिकलाई मात्र होइन सरकारको सेवा नै तहसनहस अवस्थामा पुग्दैछ । बेलैमा बुद्धि पुगोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया