Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविकासको काम ‘पदमा पुल’बाट सिकौँ

विकासको काम ‘पदमा पुल’बाट सिकौँ


काठमाडौं । नेपालले विकास निर्माण अर्थात् पूर्वाधार विकासमा एउटा सार्क देश बांग्लादेशको पदमा पुलबाट सिन्नुपर्ने भएको छ । त्यो किन पनि भने नेपालमा प्रस्ताव भएका आयोजनाहरू इच्छाशक्तिको अभावका कारण कहिल्यै पनि समयमा नसकिने र कतिपय अवस्थामा त जुन प्रयोजनका लागि ती आयोजना प्रस्ताव र निर्माणका लागि अर्बौँ खर्च भएर पनि भ्रष्टाचारका कारण तिनको प्रयोजन अधुरै रहँदा पनि दोषीहरले माफी पाउने प्रचलनले पूर्वाधार विकास नै धराशायी अवस्थामा पुग्दै छन् । त्यसको पछिल्लो उदाहरण हो, सिक्टा सिँचाइ आयोजना । यसमा १५ अर्ब रुपैयाँ खर्च भएर पनि पानी बग्नै नसक्ने अवस्थामा छ । तर तिनका कर्ताहरूले भने अदालतबाटै माफी पाए । अर्को हो, बुढीगण्डकी जलविद्युत् आयोजना । यो आयोजना बितेको दश वर्षदेखि राजनीतिको सिकार भइरहेको छ । कुनै बेला आफूले नै बनाउने भन्ने र कुनै बेला आफूले बनाउन नसक्ने भनी विदेशीलाई दिने होडबाजीमा गुज्रिरहेको छ । एउटा छिमेकी र मित्रदेश बांग्लादेशको यो पुल स्वदेशी लगानी र समयमा नै सकिएको अवस्था नेपालका लागि सिकाइको एउटा उदाहरण हुनुपर्छ ।

गएको शनिबार उद्घाटन भएको पुल त्यो देशको अहिलेसम्म निर्मित सबैभन्दा लामो पुल हो । त्यो पुल निर्माणका लागि पहिले विश्व बैंक, एसियाली विकास बैंक तथा जायकाले ऋण सहयोग गर्ने भएका थिए । तर पछि उनीहरूले हात झिके । तर बांग्लादेश सरकार पछि हटेन । उसले आफ्नै स्रोतबाट ३ दशमलव ८७ अर्ब अमेरिकी डलर, झन्डै पाँच खर्ब नेपाली रूपैयाँको यो योजना सम्पन्न गर्ने अठोट ग¥यो र ४१ वटा स्पान भएको, ६ दशमलव ३ किलोमिटर लम्बाइको पुल सन् २०१५ को नोभेम्बरबाट निर्माण सुरु भएको थियो । चार लेनको यो पुल दुईतले छ ।

पहिलोमा सडक र देस्रोमा रेलमार्ग । एउटै पुलले त्यो देशको २१ वटा जिल्लालाई राजधानीसँग जोड्छ, जसमा पहिले करिब २२ घण्टा लाग्ने समय अब तीन/चार घण्टामा झारेको छ । यो पदमा पुल निर्माणको काम अरू पक्ष त छँदै छ इन्जिनियरिङका दृष्टिले पनि यो चमत्कार मानिएको बताइएको छ । विज्ञहरूले बताएअनुसार यो नदी विश्वको अति नै खतरनाक अमेजनपछिको पहिलो हो । यसमा बंगलादेशका करिब १२ सय इन्जिनियरहरूको संलग्नता थियो । यो पुल नौ म्याग्निच्युडसम्मको भूकम्पलाई थेग्न सक्ने गरी निर्माण भएको छ । आयोजनाका निर्देशकअनुसार पुल निर्माणमा आधुनिक ’फ्रिक्सन पेन्डुलम बियरिङ्स’ प्रविधि अपनाइएको छ । यो एउटै पुलले उक्त देशको कुल गार्हस्थ्य उत्पादनमा १ दशमलव २३ प्रतिशतले योगदान गर्नेछ ।

नेपालमा एउटा खानेपानी आयोजना मेलम्ची सम्पन्न गर्न प्रस्ताव भएको ४० वर्ष लागेको र त्यसपछि पनि केही दिन धारामा पानी आएर बन्द भएको उदाहरण छ । २०७४ को निर्वाचनमा आउँदो पाँच वर्षभित्र सम्पन्न गरिसक्ने भनी घोषणापत्रमा उल्लेख भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने भनी बताइएअनुसारको त्यो पाँच वर्षसम्म सुरु नै भएको छैन । पछिल्लो समय त बन्ने कि नबन्ने भन्ने दोधारमा परेको छ । त्यस्तो घोषणा गर्ने दलले भने करिब दुई तिहाइको मत पाएर साढे तीन वर्ष एकलौटी शासन पनि चलायो । यिनै परिप्रेक्षमा हो, विकास निर्माणका काम अन्यत्रबाट पनि सिकौँ भनिएको । आँट गरिए स्रोतको पनि कमी हुँदैन भन्ने पनि त्यो आयोजना उदाहरण हुनुपर्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया