Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपतन होस् सत्ताको गोकुलधाम

पतन होस् सत्ताको गोकुलधाम


समान्यतया सत्ता जनसेवाका लागि हो । सभ्य समाजमा सत्तालाई जनसेवासँग जोडेर नै हेर्ने गरिन्छ । तर, हाम्रोजस्तो गरिब मुलुकमा सत्ता भनेको जनतालाई झुक्याउने र लुट्ने माध्यम बन्दै आएको छ । जनताको दुहाई दिएर, जनतालाई ठगेर राज्यकोषको धनसम्पत्ति व्याक्तिगत बनाउनु नेपाली सत्ताको गोकुलधाम हो । सत्ताको गोकुलधाम भ्रष्टाचार काण्डमा परेर फालिएका सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आश्रम होइन, यो त भ्रष्टाचारको सङ्गम हो ।

गोकुल बाँस्कोटा एक जना पूर्वपत्रकार हुन् । उनी मिसन पत्रकारिता गर्थे । उनी पत्रकारिता पर्दा पनि राजनीति गर्दथे । पार्टीले टिकट दियो, चुनाव जिते, प्रधानमन्त्रीले मन पराएर मन्त्री बनाए । मन्त्री भएपछि उनको स्वर चर्को हुन थालेका थिए । सहकर्मीहरूले पनि अचम्म मान्न थालेका थिए र सत्तामा पुगेपछि यस्तै हुने रैछ भनेर मन बुझाउन थालेका थिए । तर, उनले मन बुझाउन दिएनन्, दिनदिनै उनको खहरेको हाइड्रोको सेयर मूल्य बढ्न थाल्यो । यहाँसम्म कि उनले सूचना प्रविधि मन्त्री भएपछि प्रधानमन्त्रीको कार्यालयमा बुझाएको सम्पत्ति विवरणकोे प्रसङ्गसमेत उनका भूतपूर्व पेशागत मित्रहरूले उठाउने जमर्को पनि गरेनन् । उनले प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाउँदा अन्तिम बुँदामा लेखेका थिए, आफूसँग एउटा सामसुङ कम्पनीको आइफोन छ भनेर ।

सूचना प्रविधि मन्त्री बाँस्कोटाको सूचना प्रविधिको विज्ञताका बारेमा सबै कुरा यसैबाट छर्लङ्ग भएको थियो । विविध कारणले कसैले पनि त्यसलाई कोट्याउने दुस्साहस गरेन । तर, उनले अज्ञानी ठानेनन् सर्वज्ञ ठान्न थाले । प्रधानमन्त्री दाहिना भएको मौका पारेर उनले कसैलाई पनि ललकार्न बाँकी राखेनन् । त्यसैको मेसोमा उनले सत्ताको गोकुलधाम बनाए । सत्ताको गोकुलधाम भनेको कुनै धर्मकर्म गर्ने आश्रम होइन, त्यो भ्रष्ठाचार र पापको कमाइको थुपार्ने सङ्गमस्थल हो, कमिशनतन्त्रको त्रिवेणी हो । त्यो गोकुलधाम यो सत्ताले जम्मा गरेको कालोधन जम्मा गर्ने भण्डार हो । सत्ताको गोकुलधाम उद्घाटन गर्ने विजयप्रकाश मिश्र अहिलेका मन्त्रीहरूसँग अपरिचित पात्र होइनन्, उनी नेकपाकै कार्याकर्ता मात्र होइन पूर्वएमालेकै सदस्य पनि हुन् । उनले मन्त्री बाँस्कोटासँग कमिशन एजेन्टका रूपमा मात्र कार्य गरेका होइनन्, एउटै विचार, एउटै पार्टी । एउटै खेमाका कार्यकता भएका कारण सहकार्य गरेका हुन् ।

सूचना प्रविधि मन्त्री बाँस्कोटाले जतिसुकै फुईं लगाएर पनि मित्रले उनको हैसियत सम्पत्ति विवरणबाटै राम्ररी थाहा पाइसकेका थिए । तर, सूचना प्रविधिले कहिले आफूलाई कैदी बनायो भन्ने कुरा सूचना प्रविधि मन्त्री बाँस्कोटाले त्यति बेला मात्रै थाहा पाए, जतिबेला कमिशन अन्यत्र ट्रान्सफर भइसकेको थियो । उनको यो एउटा मात्र कुरो रेकर्ड भएको होओइन्, किनकी यस्ता हुस्सु जहाँसुकै रेकर्डेड हुन्छन् र विजयप्रकाशजस्ता आफ्नो स्वार्थका लागि जेसुकै गर्न पछि नहट्ने छट्टुले प्रमाण जुटाउन कुनै कसर बाँकी राखेका नहोलान् । उनले प्रविधिसँग खेल्नेहरूसँग ५६ क्रस मात्र गरेनन् कमिशन ट्रान्सफर गरेर दिएको पनि अरुले नै सम्झाइदिनु प-यो । उनका कुनै काण्ड पनि प्रधानमन्त्रीसमक्ष नठोकिएका छैनन् ।

प्रधानमन्त्रीको कोपरीको टोकरीमा बाँस्कोटाले जस्तै अरुले पनि घुस र कमिशन थुपारेका छन्, त्यही हो यो सत्ताको गोकुलधाम । गोकुल बाँस्कोटा त एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी हटेर सत्ताको गोकुलधाम जोगाउने अहिलेको प्रयास हो तर त्यो पापको कमाइ थुपार्ने सत्ताको गोकुलधामको समग्रमा चिरफार नगरेसम्म यो सत्ता ढलेर अर्को सत्ता आए पनि फेरि उही क्रम दोहोरिनेछ । मन्त्री गोकुलका ठाँउमा अर्को पात्र आउला तर सत्ताको गोकुलधाम रहिरहनेछ । तसर्थ त्यसलाई निर्ममतापूर्वक चिरफार गरिनुपर्दछ र सम्पूर्णरूपमा सत्ताको गोकुलधामको पतन हुनुपर्दछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया