Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयफोहोर व्यवस्थापनको सम्झौता नलुकोस्

फोहोर व्यवस्थापनको सम्झौता नलुकोस्


काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारले दलीय उम्मेदवारभन्दा अत्यधिक मतको अन्तरमा जितेर देखाइदिएको घटना खासगरी काठमाडौं उपत्यकाका लागि लामो समयसम्म खुशियाली दिने खालको भएन । त्यस्तै भएको छ, पूर्वको एउटा सहर धरान उपमहानगरपालिकामा पनि स्वतन्त्रको विजय । विषय फरक छन् तर कुरोचाहिँ व्यवस्थापनको हो । कतिपयले यी स्वतन्त्रहरूलाई काम गर्न नदिएको भन्ने आरोप लगाएका छन् भने कतिपयले यी उम्मेदवारले आफ्नो व्यवस्थापन नै गर्न नसकेका भनिरहेका छन । काठमाण्डौ फेहोरको व्यवस्थापन गर्न नसकिएका कारण र धरानका नागरिकले खोजेको नेतृत्वबाट प्राप्त हुने सहयोग नपाएका कारण जनआक्रोश बढ्न थालेको हो । धरानमा एउटा संस्थागत ठगी प्रकरणमा त्यहाँका नागरिकले मेयरसँग सहयोग मागेका थिए तर उनको जवाफ यति रुखो आयो जसले नगरपालिका नै नागरिकका भौतिक आक्रमणमा प-यो । मेयरलाई नगरपिता पनि भनिन्छ । त्यस्तोमा आफूले मत दिएर विजयी बनाएका मेयरमा आफ्नो अभिभावकत्व खोज्नु अस्वाभाविक पनि होइन । त्यसको अभावमा नागरिक र मेयरबीचको सम्बन्ध कटु बन्न थालेको हो ।

काठमाण्डौको भने अवस्था फरक छ । यतिबेला उपत्यका फोहोरका कारण दुर्गन्धित छ । त्यसको कारण हो, बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन हुन नपाउनु । निकै लामो समय भयो यस्तो भएको । पछिल्लो समय फोहोर विसर्जन गर्न गएका गाडीलाई स्थानीयले अवरोध पु-याए । यसको पनि कारण थियो पूर्वसम्झौता पालना नभएको भन्ने । यो ठाउँको दुःखद पक्ष के हो भने त्यो सम्झौता के थियो भन्ने सीमित पक्षलाई बाहेक कतै सार्वजनिक भएन । पहिले पनि यस्तै हुने गर्दथ्यो । त्यसैकारण निर्वाचनअघि पनि लामो समय फोहोर उठेन । तर जब यो ठाउँमा स्वतन्त्र उम्मेदवारले जिते, त्यसपछि उनको व्यवस्थापन कौशलताले काम गर्ला भन्ने अपेक्षा थियो । तर त्यसले पनि साकार रूप पाउन सकेन । पहिलेकै जस्तो सम्झौताहरू गोप्य नै रहे । फलस्वरूप उता अवरोध पुग्यो र यता सहर दुर्गन्धित हुन थाल्यो । काठामाडौंको यो समस्यामा अर्थात् यस्तो हुनु भनेको उपत्यकाका सबै नगरपीडित हुनु हो । त्यसै पनि एक ठाउँको फोहोर अर्को ठाउँमा सारेर समस्याको समाधान हुने होइन । त्यसका लागि उपयुक्त पहल भएको पाइएन । यतिबेला त अवस्था कस्तो भने कतै पुकारा गर्ने ठाउँ समेत रहेन । स्वतन्त्रको एक्लो व्यक्तित्वबाहेक अरुले भरथेग गर्ने निकाय हुँदैन । यो त्यसैको परिणाम हो कि भनेर अहिले प्रश्न उठ्न थालेको छ । नवनिर्वाचित नेतृत्वका लागि यो राम्रो होइन ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गर्ने काम यतिबेला सत्तारुढ दलकै स्थानीय कार्यकर्ता लागको छन् । उनीहरूले धुनिबेँसी–१ मा अवरोध गरेका हुन् । यसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ता संलग्न छन् । नगरको नेतृत्वले दलसँग कुरा गरेर यो समस्या हटाउन नसकिने होइन । त्यसका लागि सम्बन्धित पक्षसँग सम्झौता गर्नुपर्छ र त्यो पारदर्शी पनि हुनुपर्छ ता कि यस्ता पटक–पटक आइपर्ने अवरोधहरू के कारणले आइपरेका हुन् भन्ने आम तहमै जानकारी होस् । अहिलेको अवरोध पनि सम्झौतासँग नै जोडिएको छ । उनीहरूले भनिरहेका छन् गरिएका सम्झौता कार्यान्वयनमा आएनन् । तर नगरवासीलाई ती सम्झौता के थिए भन्ने जानकारी छैन । यस्तो स्थिति अब धेरै दिन रहन हुँदैन । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया