Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभ्रमको शासन

भ्रमको शासन


काठमाण्डौं,फागुन १५
सत्ता जनताका लागि कहिल्यै फलदायी बनेन । अहिलेसम्म जति पनि सरकार आए, गए, जनतालाई झुक्याए मात्र । सही कुरा बताएर कुनै पनि सरकारले काम गरेन । मुलुकमा प्रजातन्त्र नहुँदा प्रजातन्त्र भए के–के न हुन्थ्यो भनियो । निरंकुश तानाशाही शासन चलाउनेले पनि आफ्नो शासनलाई प्रजातान्त्रिक भनेकै थियो । विकासको नारा दिएकै थियो । अहिले गणतन्त्रमा पनि त्यही क्रम दोहोरिइरहेको छ तर जनताका लागि भने केही भएको छैन । विश्वमा भएको विकासको गति र नेपालको तुलनात्मक अध्ययन गर्ने हो भने नेपालमा अवस्था २००७ सालको भन्दा केही परिवर्तन भएको छैन । यहाँका जनताको चेतनास्तरको कुरा गरिसाध्य छैन । जनतबाट चुनिएको मन्त्री भिषा नलिई विदेश जान उड्छ । मन्त्री आफैँ पासपोर्टविनै विदेशका लागि उड्छ, मन्त्री आफैँ सामसुङ कम्पनीको आइफोन बोक्छ भनेर सम्पत्ति विवरण भर्छ । यस्तो देशको जनताको चेतनास्तर कति माथि उठेको छ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । तर, सत्तामा उही छ, जनतालाई उसैले शासन गरिरहेको छ । यो गर्छु र ऊ गर्छु भनेर बुरुक्क तीन हात उफ्रिएर उही कुर्लिन्छ ।उसको कुरा कसैले काट्न खोज्यो भने ए, हेप्नी भनेर धम्काउँछ । जनताका लागि सिन्को नभाँच्ने तर आफ्ना अगाडि पाएजति सबै सोहोर्छ, केही पनि छोड्दैन । यो सत्ताको चरित्र रहेछ र जुन जोगी आए पनि कानै चिरेको भन्ने नेपाली उखान अहिले चरितार्थ हुँदै आएको छ ।

नेपाली जनतालाई कोही आएर पनि केही फरक परेको छैन । राजा हुँदा केही नापिएन, कांगे्रस आयो उस्तै, अहिले कम्युनिष्टको दुई तिहाइ बहुमतको सरकार आउँदा जनताले केही गर्छ कि भनेर धेरै आशा गरेका थिए तर केही लछारपाटो लगाएन । एकताका माओवादीलाई ज्यानमारा मात्र भनिँदैनथ्यो, मुक्तिदाता पनि भनिन्थ्यो । त्यो माओवादी सत्तामा आएपछि त जनताले भनेजस्तो विकास हुन्छ र देश एकाएक कायापलट हुन्छ भन्ने ठानेका थिए । बहुमतका साथ माओवादीका सुप्रिम कमाण्डरले पनि सरकार चलाए तर सामाजिक रूपान्तरण गर्ने नारा दिएर जनतालाई सत्ताविरुद्ध बन्दुक बोकाएका प्रधानमन्त्री प्रचण्ड आफैँ भ्रष्ट शासकमा रूपान्तरित भए । सामाजिक रूपान्तरणतिर लाग्दै लागेनन् । यी सबै भोगेर निराश भएका जनता पूर्वएमालेका केपी ओलीसँग केही आशावादी थिए । यिनले दुई पटक गरी झण्डै तीन वर्ष शासन गरे तर भ्रमको प्रलिन्दा छर्नेबाहेक केही गरेनन् । यिनको पछिल्लो शासनकाल त झन् भ्रष्टाचारको गोकुलधाममा चुर्लुम्म डुबिसकेको रहेछ । यसरी जनताले सधैँ भ्रमको शासनको थिचोमिचो सहेर बस्दैनन् । जब उठ्छन् तब मात्र भ्रमको शासनकालको अन्त्य हुनेछ । जिम्मेवार नेताले यसरी जनतामाथि भ्रमको शासन चलाउनु राम्रो होइन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया