Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंसद्मा नवप्रवेशीबाट अपेक्षा

संसद्मा नवप्रवेशीबाट अपेक्षा


काठमाडौं । दुई ठूला दलको नेतृत्वमा भएको चुनावी गठबन्धनका परिणामहरू धमाधम प्रकट हुँदै छन् । निर्वाचनअघि पनि सडकमा यस्तो गठबन्धनको विरोध भइरहेको थियो । सत्ता र विपक्ष भने यो गठबन्धनलाई चुनावसम्म मात्र होइन यगौँयुगसम्म लाने भनिरहेका थिए । यसको एउटा अचम्मको पाटो के थियो भने गठबन्धन गरेपछि त्यसपछि आफूले जितेमा गर्ने कामकुराहरूको विवरण अर्थात् घोषणापत्र भने आ–आफ्नै थिए । उनीहरूका अनुमानमा यस्तो गठबन्धन कुनैपनि प्रकारले असफल हुँदैन । त्यसै कारण होला चुनावमा नेतृत्वले खुलारूपले पदहरू पनि बाँड्दै आएका थिए । त्यसक्रममा एक जना नेताले त आधा दर्जनजतिलाई प्रधानमन्त्री नै बाँडे, मन्त्रीको त कुरा छोडौँ । तर पछि के भयो भने परिणामले प्रधानमन्त्री नै बाँड्ने यी नेताको हैसियतमा पहिलेको भन्दा घटुवा गरिदियो । चुनाव भइरहेको बेला सबैभन्दा ठूलो दल फेरि बहुमत ल्याउने भनी आफ्नो चुनावचिह्न नै सिद्धान्त र विचार नै नमिल्ने दललाई दियो । त्यसको पनि हैसियत खोसिएर दोस्रो दलमा झर्न प-यो । सत्ताको नेतृत्व गरेको दलको नै समानुपातिकमा मत घट्यो ।

अहिलेको चुनावको विशेषता हो, सीमित दलहरूको डेढ दशकदेखि कायम रहेको र अझै यसैलाई अघि बढाउने भनेर घोषणा गरिएको समीकरण बदलिनु । यी दलहरूको यस्तो समीकरणमा नेताहरूको एकाधिकारजस्तै थियो । दल हारे पनि जिते पनि नेता उनै हुने र उनीहरूकै हातमा शक्ति परिरहने । त्यसले देशमा कुशासनको साम्राज्यजस्तै फैंलिएको थियो । यो चुनावबाट त्यो तोडिने र समीकरणका सम्भावनाहरू खोल्ने काम भएको बुझ्न सकिन्छ जसले ठूला दलका ठूला नेताको मनपरीमा यसले अंकुश लाउने देखिन्छ र अपेक्षा पनि त्यस्तै होस् भन्ने हो । यतिबेला दोस्रो आमनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसले खासगरी आफ्ना कार्यक्रमभन्दा पनि परिवर्तनको अपेक्षा गरिरहेका जनतामा सम्बोधन नभएको अवस्थाको असन्तुष्टि प्रकट भएको छ । यो चुनावमा गठबन्धन त अस्वीकृत भयो नै केही पहिले जारी भएको एउटा आन्दोलन ‘नो नट एगेन’लाई पनि सम्बोधन गरेको छ । कतिपय ठाउँमा छानीछानीकन युवाहरू रोजिएका छन् । केन्द्रीय राजधानीबाटै २७ वर्षकी एक युवती सत्तागठबन्धनलाई हराउँदै विजयी भइन् । यो निर्वाचनबाट पहिलो छनोट नै दुर्गम हिमाली प्रदेशका २८ वर्षे युवा परेका थिए ।

यी परिवर्तनका केही सङ्केत हुन् । तर यो अनुहारले मात्रै यथास्थितिमा परिवर्तन गराउँदैन । यो उपस्थितिबाट संसद्मा निर्वाह हुने भूमिका र तिनले ठूला दल कांग्रेस र एमालेको अवस्थालाई कसरी नियन्त्रणमा राख्दै देशलाई सुशासनतर्फ अघि बढाउँछन् भन्ने प्रश्न गहन हुन्छ । नयाँ दलको उपस्थिति यस्तो भयो कि जोविना सत्ता नचल्न सक्तछ । त्यसकारण पनि यस्तो शक्तिको महत्व बढ्छ  । अबको सवाल हो त्यस्तो शक्ति अहिलेसम्म कायम रहेको यथास्थितिको अवस्थामा परिवर्तन गर्नमा लगाउने कि सत्तासुखको परम्परागत उपभोगमा बिताउने भन्ने हो । यो चुनावका यी केही प्रारम्भिक दृश्य हुन् । एउटा अपेक्षा हो, अब नेतृत्वको कुशासन चल्न/चलाइन हुन्न । कुशासनले मान्छेका परिवर्तनकारी मनलाई नै छियाछिया पारेको अवस्था छ । खासगरी नयाँ अनुहार संसद्मा प्रवेश गरिरहँदा यी कुराको हेक्का रहोस् । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया