Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमतदाताले गरेका विद्रोहको पदचाप सुन

मतदाताले गरेका विद्रोहको पदचाप सुन


काठमाडौं । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा एकातिर मत घटेको देखियो भने अर्कातिर घटेको मत पनि परम्परागत दलहरूमा कम गयो । मतदानमा उत्साहपूर्वकरूपले भाग नलिनु र भाग लिएकै अवस्थामा पनि नयाँ अनुहारको खोजी गर्नु एकप्रकारले मतदातामा आएको वा पलाएको विद्रोह । विद्रोह भनेको सबै एकै प्रकारका हुँदैनन् । संसारभरि अवलम्बन भएको नो भोटको व्यवस्था हामीकहाँ पनि थियो भने मतदाताको विद्रोहको स्वर त्यो ठाउँमा गुञ्जिने थियो । केही पहिले छिमेकी देश भारतमा छवटा प्रदेशका निर्वाचन हुँदा त्यहाँ यसका प्रयोग भइसकको र त्यसमा लाखौँको मत परेको थियो । नेपालकै सन्दर्भमा पनि एक दशकअघि नै यसबारे कुरा उठेको थियो र अदालतले ‘नो भोट’को व्यवस्था गर्न भनी आदेश पनि दिइसहेको थियो । त्यसपछि स्थानीय र केन्द्रका गरी चारवटा महानिर्वाचन भए । तर त्यसबारे केही भएन । अरु त अरु विदेशमा रहेका नागरिकले पनि मत हाल्न पाउने व्यवस्था गर्न भनी आदेश भयो त्यो पनि सुनिएन ।

मतदातालाई विद्रोही बनाउने दर्जनौँ कारणमध्येका यी केही नमूना हुन् । आफ्ना नागरिकले खोजेको बेला राज्यले उपयुक्त सेवा दिन सकेन भने पनि कि सडक आन्दोलन कि मत आन्दोलनबाट जिम्मेवार पक्षसमक्ष कुरा राखिन्छ । अहिलेको विद्रोह त्यसको एउटा नमूना हो । आजको आवश्यकता भनेको त्यो विद्रोहको आवाज सुन्नु हो । मतदातामा आफ्ना नेताप्रति गुनासा हुन्छन् । यो चुनावमा वयस्क नागरिकको एउटा साझा प्रतिक्रिया के रह्यो भने दलहरू सिद्धान्तमा रहेनन् जनताको नजरमा नेताहरूको वैधानिकता मात्रै कायम रह्यो ।

नेता भनेको व्यापक तहको सामाजिक स्वीकृतबाट खडा हुने धरोहर हो । तर त्यो भत्किएको अवस्था छ । भनिएला त्यस्ता नेताहरूले त चुनाव जिते । तर तिनीहरूप्रति भरोसा गरिएको अवस्था छैन । त्यसैकारण जनतालाई पहिले आफैँले ठूला बनाएका कुनै दलमाथि विश्वास रहेन । चुनावमा यस्तो कम मतदान भएपछि विज्ञहरूका समान प्रतिक्रिया आए– ठूला भनिएका पार्टीबाट केही काम हुन नसकेपछि जनताले नयाँपन खोजेको देखिन्छ । ती पार्टीहरू सत्ताकेन्द्रित भए । त्यसैले जनताले विकल्पको शक्ति खोजे । कसैले मत दिएर कसैले मत नदिएर यस्तो विद्रोह जनाए । विज्ञकै भनाइमा यो असन्तुष्टिको परिणाम हो । नयाँ भनिएको दललाई सिद्धान्त र देश बनाउने एजेन्डा भएर जनताले भोट दिएका होइनन् । यो ‘नो भोट’को सङ्केत पनि हो ।

तर जे भए पनि एउटा आवधिकका लागि निर्वाचन भइसकेको छ । बीचमा कुनै भैपरी आएन भने अबको पाँच वर्ष अहिलेको परिणामबाट जे आयो त्यसैसँग बिताउनुपर्छ । निश्चय नै यतिबेला तिनै ठूला दल राज्य चलाउनेमा प्रकट भएका छन् । साना दल तिनका महत्वपूर्ण सहयोगी हुनसक्छन् । अबको शासन त्यस्तो हुनुपर्छ जसले मतदाताको यो व्रिद्रोहलाई आफू सुध्रने सूत्र मानोस् । मत किन नघटोस् भन्दै थपे, ‘किसानले धानको मूल्य पाउँदैनन्। बेरोजगारीको समस्या उस्तै छ । सिँचाइ, मल र बीउबिजनको समस्या विकराल छ । क्यान्सरजस्ता बिरामी पर्दा उपचारमा सहयोग छैन । यी कुरा उम्मेदवारका एजेन्डामा परेनन् । अनि किन नघटोस् मत ?’
अबको शासनमा जानेहरूले पहिलो दिनदेखि नै जनताका सरोकारका यस्ता कुरा ध्यान दिन थालोस् । त्यही नै मतदाताको विद्रोहको पदचाप सुनेको हुनेछ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया