Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयगलत प्रवृत्तिको पराजय

गलत प्रवृत्तिको पराजय


काठमाडौं । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा जनताको मत जसरी प्रकट भयो त्यसले एउटा गलत प्रवृत्तिको अन्त्य गर्न खोजेको छ । यद्यपि त्यसको प्रयोग भने आउँदा दिनमा मात्र हुनेछन् । निर्वाचनका बेला प्रकट हुने यस्ता प्रवृत्तिलाई जनमतले जवाफ दिएको मानिने अवस्था त्यतिखेर मात्र प्रभावाकरी हुन्छ जब फेरि यस्तो दुस्साहस गरिँदैन । यस्ता कुराहरूले जनता धोकामा पर्छन् । एउटा पार्टी ‘राप्रपा नेपाल’ पछिल्लो चुनावमा त्यस्तो प्रवृत्तिको रूपमा प्रकट भएको थियो । आफ्नो दलको महाधिवेशनमा सहभागी हुने, पराजित भएपछि त्यही दललाई तथानाम गर्ने र तुरुन्तै नयाँ दल खोलेर त्यसको अध्यक्ष भैहाल्ने । यसरी खुलेको नयाँ दललाई चुनावमा लाने अनि आफूचाहिँ कुनै अर्को दलको चुनावचिह्नबाट चुनाव लड्ने । फेरि समानुपातिकमा चाहिँ त्यही दलको चिह्नबाट मत माग्ने आदि प्रवृत्तिलाई यो पटक जनमतले हराइदिएको छ ।

चर्चित पात्रबाट चुनावमा जस्तो चरित्र देखाइयो यसले दलीय मूल्य, मान्यता र त्यसबाट गरिने अपेक्षा सबै भत्किएको अवस्था देखाउँछ । आफू एउटा दलको अध्यक्ष भएर चुनावचाहिँ अर्को दलको चिह्नबाट लड्नु आफैँमा सम्बन्धित व्यक्तिको राजनीतिक इमानदारितामा ह्रास थियो । त्यसमाथि अर्को बेइमानी हो, जनताले झुक्किएर केही मत दिए भने त्यो आफ्नै थालमा परोस् भनी समानुपातिकको भाँडो थाप्ने काम गर्नु । यसो गर्नु भनेको यो निर्वाचन परिणामप्रति नै व्यङ्ग्य गर्नु हो । यस्तो काम कुनै पनि प्रकारले विवेकयुक्त थिएन । परिणाम पनि त्यस्तै आयो । न ती व्यक्तिले प्रत्यक्षतर्फ एक सिटसम्म जिते न त्यसरी थापिएको समानुपातिकको भाँडोमा मत नै आयो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा आइपुग्दा प्रतिनिधिसभाको समानुपातिकतर्फ सातवटा दलले राष्ट्रिय मान्यता पाए । त्यसरी राष्ट्रिय मान्यता पाउनेमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी छन् । यद्यपि यो प्रणालीले राष्ट्रिय दल बन्नका लागि जति मत मागेको थियो त्यो नपु-याउनेमा नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमोर्चा पनि छन् । त्यसको पुच्छारमा पर्छ राप्रपा नेपाल । यो दलले केही ठाउँमा त्यसबेलाको सबैभन्दा ठूलो दल एमालेसित चुनावी तालमेल गरेको थियो मात्रै होइन पार्टी अध्यक्ष आफैँ कुनै अर्को दलको चिह्नमा लडेका थिए भने राप्रपा नेपालको चुनावचिह्न ‘तीर’लाई समानुपातिक मतका लागि भाँडो बनाइएको थियो । तर त्यसमा जम्मा १२ हजार दुई सय ७४ मत मात्रै प-यो । एक करोड १२ लाख मत सदर भएको ठाउँमा १२ हजार भनेको कति हो आफैँ हिसाब गरौँ ।

राजनीतिक दलहरू निर्वाचनमा गएपछि उनीहरूका लागि मतको मूल्य महत्वपूर्ण हुन्छ । धेरथोर जति होस् त्यसको कदर पनि हुनुपर्छ । तर यो ठाउँमा जसले समानुपातिकका तर्फबाट मत माग्ने भाँडो थापे त्यसैबेला उनी इमान्दार थिएनन् भन्ने सङ्केत भइरहेको थियो । मतपरिणामले पनि त्यस्तै देखायो । देशैभरबाट परेको मतको यो संख्या धेरै नै कम हो । यसको अर्थ हो, अब यस्तो प्रवृत्ति दोहोरिनु हँुदैन । यसले जनताको जे–जति होस् मत खेर फाल्छ । आफूलाई नै आफ्नो चुनावचिह्नमा मत पर्छ भन्ने विश्वास छैन भने जनतालाई झुक्याउने काम कसैले पनि गर्नु हुँदैन । आउँदा निर्वाचनमा यस्तो नहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया