Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनयाँ सरकार समृद्धिको संवाहक हुनुपर्छ

नयाँ सरकार समृद्धिको संवाहक हुनुपर्छ


काठमाडौं । मंसिर ४ मा सम्पन्न आमनिर्वाचन २०७९ को परिणाम आइसकेको अवस्थामा छ । अबको सर्वत्र चासो भनेको सरकार कसको नेतृत्वमा बन्ने भन्ने हो । अघिल्लो निर्वाचनहरूमा जुन दलले जित्यो सरकार उसैको हुने भन्नेमा कतै शंका रहँदैनथ्यो । तर यो पटक केही भिन्न दृश्य प्रकट भइरहेका छन् । खासगरी यी पङ्क्ति लेखिएको दिनसम्म ठूलाभन्दा साना दलको नेतृत्वमा सरकार बन्ने होडबाजी चलेको देखिन्छ । खासगरी माओवादीले गरेको सरकारको नेतृत्व दाबीले अबको सरकार कस्तो बन्छ र त्यसले परिवर्तन वा समृद्धिको कस्तो सन्देश प्रवाह गर्छ वा त्यो समृद्धिको संवाहक हुन्छ÷हुँदैन भन्ने जिज्ञासा बढाइरहेको अवस्था छ । माओवादी यो चुनावमा स्थापित दलहरूमध्ये सबैभन्दा बढी गुमाएको दलमा पर्छ । अघिल्लो महानिर्वाचनको तुलनामा यो दलले आधाउधी नै हुनेगरी सिट गुमाएको छ र पनि उही सरकारको नेतृत्वका लागि सबैभन्दा अघि परेको छ भने त्यस्तो सरकारले परिवर्तनको सन्देश दिने कुरा पनि भएन ।

यद्यपि अहिलेको सरकारले विगतका भन्दा धेरै दल जोड्नु पर्छ । संसद्को बनोट नै त्यस्तै छ । स्वाभाविक छ सरकार बनाउन प्रतिनिधिसभामा बहुमत भएकै हुनुपर्छ । पहिले नै बहुमत भयो भने राम्रो । भएन भने सरकार बनेको एक महिनामा त त्यो चाहिन्छ नै । अहिलेको संसद्मा कुनै एक दलको बहुमत छैन । त्यो पनि केही संख्याको तलमाथिले होइन । बहुमत हुनका लागि सबैभन्दा ठूलो दलको संख्यामा पनि अरु ५० कै हाराहारीको संख्या थपिनुपर्छ । अर्को दलमा यतिठूलो संख्या भनेको दोस्रो ठूलो दलसँग मात्र पुग्छ । यो अवस्था निर्वाचनको परिणामले नै ल्याएको हो । तर दलहरू निर्वाचनमा जाँदा नै आफूलाई खुम्च्याएका थिए । जस्तो एकातिर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको आदि र अर्कोतर्फ एमाले, जसपा, राप्रपा र राप्रपा नेपालको चारदलीय विपक्षी गठबन्धन बनाएर मत मागिएको थियो । चुनावमा केही घटनाबाहेक यिनै दुई गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा भएको अवस्था छ र परिणाम पनि करिब–करिब त्यस्तै आयो अर्थात् यी सबै कोही नमिली सरकार नै नबन्ने भयो ।

यो निर्वाचनले दलमा पहिलेको हैसियत भने बदलिदियो । यसअघिको सबैभन्दा ठूलो दल दोस्रो भयो र दोस्रोचाहिँ सबैभन्दा ठूलो दल बन्यो । चौथोदेखि नयाँ दल त्यस्तो शक्तिमा आए । तर सरकारको नेतृत्व भने तिनले लिने देखिँदैन । उनले पनि त्यस्तो अपेक्षा गरेका छैनन् होला ।

चुनावको यस्तो परिणामपछि यतिबेलाको सबैभन्दा पेचिलो विषय बन्न गएको छ अबको प्रधानमन्त्री हुने भन्ने । स्थापित दल (कांग्रेस, एमाले, माओवादी)का तीन नेता अहिलेका सम्भावित प्रधानमन्त्री हुन् । तर यी तीनै जनाको नेतृत्वले परिवर्तनको सङ्केत दिँदैन । माओवादी अध्यक्षले चुनावका बेला फेरि प्रधानमन्त्री हुने रहर व्यक्त गरेका थिए । चुनावमा कसैले प्रधानमन्त्री बन्छु भनेर गरेका दाबी कुनै अर्थ रहँदैन । विश्लेषकहरूले यो चुनाव परिणाममा यी तीनै दलको राजनीतिक उचाइ घटेको देखाएको छ । यसमा माओवादी मात्र होइन कांग्रेस र एमाले पनि पर्छन् । यी तीनै नेता अध्यक्ष रहेका दलले समानुपातिकमा विगतका भन्दा धेरै मत गुमाएका छन् । यसको जिम्मेवारी नेतृत्वमा बस्नेहरूले लिनुपर्छ । होइन, फेरि उनैलाई सरकार जिम्मा लगाउने हो भने अबको सत्ता उनै जिम्मेवारीविहीनहरूको हातमा पुग्नेछ जसले समृद्धि र परिवर्तनको सन्देश दिँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया