Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकालोबजारी बन्द गर

कालोबजारी बन्द गर


कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्वभर सन्त्रास फैलिएको छ । यसको सन्त्रासबाट नेपाल पनि अछुतो रहने कुरै भएन । त्यसमा पनि उत्तरी क्षेत्रमा रहेको विशाल छिमेकी राष्ट्र चीनबाट कोराना भाइरसको संक्रमण सुरु भएको र विशाल दक्षीणी छिमेकी भारतमा पनि फैलिएको अवस्थामा नेपालमा कोरोना भाइरसको संक्रमण भएको नभेटिए पनि चीन र भारतमा भन्दा कम सन्त्रास छाएको छैन ।चारैतिर भारत र चीनले घेरिएको अशिक्षित, गरिब र बेरोजगारले भरिएको सानो हिमाली मुलुक नेपाल दैनिक उयभोग्य सरसामानमा चीन र भारतमै निर्भर रहेको यथार्थ हाम्रासामु छ । कोरोना कहरका कारण विगत दुई महिनादेखि हिमाली गल्छेडामा खोलिएका व्यापारिक नाका बन्द गरिएका छन् । चीनले नेपालसँग नाका एकातर्फी रूपमा बन्द गरेपछि नेपालको बन्द व्यापार भारततर्फ नै निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । चीनबाट व्यापारिक सामान झिकाएर बिक्री गर्ने व्यापारीहरू अब बैंकको किस्तासमेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । अहिले नै बजारमा सामान सकिएको होइन, उपभोक्ता नै दैनिक अत्यावश्यक उपभोग्य वस्तु दाल, चामल, ग्यास र औषधि खरिदतर्फ केन्द्रित भएका छन् । उभोक्ता जे–जस्ता सामान खरिदतर्फ आकर्षित भएका छन् । ती सामानमा कालोबजारी सुरु भइसको कुरा बाहिर आएको छ ।

सामानको कृत्रिम अभाव सिर्जना गर्ने र मनपरी मूल्य वृद्धि गरी खटाएर सामान दिने प्रवृत्ति बढेको छ । यसलाई रोक्न सरकारले कुनै ठोस पहल कदम चलाएको छैन । यस्तो असहज परिस्थितिमा कालोबजारी गर्ने गिरोह सत्ता र कर्मचारी प्रशासनसँग अपरिचित छैन । जहिले मुलुकमा अफ्ठ्यारो अवस्था आइपर्छ, त्यो गिरोह सक्रिय हुन्छ र उपभोक्तालाई मनपरी ठग्छ । सधैँ यसरी ठग्ने गिरोहलाई सरकारले कहिल्यै पनि ठोसरूपमा कारबाही गरेर त्यसो गर्न रोक्ने गरेको छैन । सरकारको त्यही लचिलोपनको कारण गिरोहले मुलुकमा अफ्ठ्यारो अवस्था आउनेबित्तिकै टाउको उठाएर निर्वाधरूपमा कालोबजारी गर्दै आएको हो । सरकार जनताप्रति उत्तरदायी नभएको र जनताको समस्याप्रति संवेदनशील नभएकाले यस्तो अवस्था दोहोरिँदै आएको हो । यसमा सरकार सचेत भएर कालोबजारीप्रति निर्भय हस्तक्षेप गर्नु नै जनताको हित ठहर्नेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया