Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयक्यासिनोको कालोधन बन्द गर

क्यासिनोको कालोधन बन्द गर


नेपालमा उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुको साटो क्यासिनो सञ्चालन गर्ने लाइसेन्स वितरण गरेर सरकारले आफैँमाथि बेइमानी गर्दै आएको छ । राजधानीका प्राय सबै पाँचतारे होटलमा क्यासिनो सञ्चालन गरिएका छन् । यसबाहेक भारतीय सीमानजिकका सहरहरूमा मिनी क्यासिनो सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । त्यसरी अनुमति लिएरै झापादेखि महेन्द्रनगरसम्म मिनी क्यासिनो सञ्चालन हुँदै आएका छन् । अहिले सञ्चालितमध्ये केही क्यासिनो अदालतको अन्तरिम आदेशमा चलेका छन् भने केही क्यासिनो सञ्चालन नियमावलीअनुसार सञ्चालित छन् ।

अदालतको स्टे अर्डरमा सञ्चालित क्यासिनोले एक वर्षदेखि सरकारलाई तिर्नुपर्ने राजस्व तिरेका छैनन् । उनीहरूले सरकारलाई तिर्नुपर्ने करोडौँ रोयल्टी नतिर्दा पनि सरकारी अधिकारीहरूले त्यसलाई कडाइका साथ उठाउने प्रयाससमेत गरेका छैनन् । उनीहरूको फितलो ताकेताले नै उनीहरूबीच आपसी मिलेमतो रहेको सहजै अनुमान गर्न सकिन्छ । क्यासिनो सञ्चालन गर्ने कम्पनीहरूले कर चुक्ता नै नगरी स्वामित्व परिर्वतन गर्ने गरेका छन् । कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग तथा पर्यटन विभाग यस विषयमा अनभिज्ञ छैनन्, तर यीमध्ये कसैले पनि नियमसंगतरूपमा काम गरेको पाइएको छैन । उनीहरूले आफ्नो जिम्मेवारी अर्कोतिर पन्छाएर उम्किनेबाहेक केही गरेका छैनन् ।

क्यासिनोका सञ्चालकले क्यासिनो चलाएर उठाएको रकम नयाँ काम धन्दामा लगाएर राजस्व नतिरेका छन् । यति मात्र होइन कुनै पनि क्यासिनोका सञ्चालकले आफ्ना कामदार मजदूरहरूलाई दिनुपर्ने सबै तलब, भत्ता, उपदान र सञ्चयको रकम दिएका छैनन् । यहाँसम्म कि रकम अदालतले फैसला गर्दा पनि मजदूरले पाउनुपर्ने श्रमको मूल्य पाएका छैनन् । सर्वहारा मजदूर वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतको बलियो सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि क्यासिनो मजदूरले मालिकबाट पाउनुपर्ने रकम पाएका छैनन् र सरकारले दिलाउने प्रयास गरेको पनि छैन । केही धन्दावालचाहिँ मालामाल भएका छन् ।

क्यासिनोका सञ्चालक टेवल हाइड गरेर प्लाष्टिकको गोटी दिएर जुवा खेलाई भारतीय नागरिकहरूसँग भारतमै खोलिएका सम्पर्क कार्यालयमा रकम लिएरसमेत कर छल्दै आएका छन् । उक्त रकम हुण्डी गरेर नेपाल भित्र्याउने वा भारतकै क्यासिनोमा लगानी गरेका छन् । यसै गरेर यहाँका केही क्यासिनो सञ्चालकले भारतका विभिन्न सहरमा क्यासिनो सञ्चालन गरेको पाइएको छ भने नेपालकै क्यासिनोमा सामान्य कामदार रहेका केही व्यक्ति छोटो समयमै क्यासिनोका मालिक बनेर करोडौँ रूपैँयाको सम्पत्तिका मालिक बनेका छन् । आफूसँगै काम गरेको मजदूर सहकर्मी मालिक बनेर आफैँलाई ठगिरहँदा पनि राज्य प्रशासनको साथ नपाउँदा मजदूरहरू पुर्पुरो समाएर बस्न बाध्य भएका छन् । यसरी राज्य र मजदूर दुवैलाई ठग्ने र शोषण गर्ने क्यासिनो नेपालमा कालोधनलाई सेतो बनाउनका लागि मात्र चलिरहेको छ । यस्तो धन्दा चलाएर मुलुकमा समृद्धि हासिल हुँदैन । यसलाई यथाशिघ्र बन्द गरिनु पर्दछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया