Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअनुत्पादक कर्जा घटाउ उत्पादन क्षेत्रमा बढाउ

अनुत्पादक कर्जा घटाउ उत्पादन क्षेत्रमा बढाउ


काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार अनुत्पादक क्षेत्रमा लगानीको एकप्रकारले थुप्रो नै लागेको छ भने अर्कोतर्फ बैंकहरूले नेपाल राष्ट्र बैंककै निर्देशनलाई पालना नगरेको अवस्था देखिएको छ । राष्ट्र बैंकले बारम्बार उत्पादनमूलक क्षेत्रतर्फको कर्जा प्रवाह बढाउन जोड दिइरहेको पाइन्छ । अनुत्पादक क्षेत्रको लगानीले देशको अर्थतन्त्रलाई मद्दत गर्दैन र सरकारी नीतिहरू पनि असफलतातिर जान्छन् ।

जस्तोः बैंकिङ लगानीबाट उत्पादन बढ्नुपर्छ र त्यसले वस्तुको आपूर्तिमा सहजता तथा रोजगारीमा वृद्धि गराउने सरकारको नीति हुन्छ तर यता बैंकहरूले भने घरजग्गा कारोबारमा अत्यधिक लगानी गर्छन् भने त्यो सरकारको नीतिविरुद्धको कुरा हो । खासगरी घरजग्गाको कारोबार त लगानीका लागि निरुत्साहित गर्नुपर्ने कारोबारमध्येमा नै पर्छ । तर हामीकहाँ यही कारोबारले प्रोत्साहन पाइरहेको छ भने यसलाई एकप्रकारले सरकारको नीतिविरुद्धकै काम भने हुन्छ ।

राष्ट्र बैंकको प्रतिवेदनमा जे चित्र देखिन्छ त्यो डरलाग्दो छ । यसलाई तुरुन्तै सच्याइएन भने रकमजति अनुत्पादक क्षेत्रमा जाने र राष्ट्रिय प्राथमिकतामा परेका क्षेत्रहरूले ऋण नै नपाउने अवस्था आउन सक्तछ । यसका संकेतहरू प्रकट पनि हुन थालेका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा मात्रै व्यक्तिगत आवास अर्थात् होमलोन र घरजग्गा अर्थात् रियलस्टेट क्षेत्रमा मात्रै पाँच खर्ब ७४ अर्ब सात करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह भइसकेको छ । यही रूपले यस्तो कर्जा प्रवाह भइरहेमा चालू वर्षमात्रै देशको कुल बजेटजतिको रकम यो क्षेत्रको कर्जामा जानेछ । त्यसपछि तरलताको अभावजस्ता कारण देखिएर अन्य क्षेत्रले ऋण पाउन छाड्नेछन् ।

राष्ट्र बैंकको विवरणमा यो समयमा प्रवाह भएको कुल कर्जामध्ये व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ४८ अर्ब ५५ करोड ८० लाख र रियलस्टेट क्षेत्रमा दुई खर्ब २५ अर्ब ५१ करोड ७० लाख रूपैयाँ छ । यस्तो कर्जा प्रवाह २२ वटा वाणिज्य बैंकहरूले होम लोनतर्फ दुई खर्ब ८३ अर्ब ८८ करोड ४० लाख र रियलस्टेटतर्फ एक खर्ब ९४ अर्ब आठ करोड ९० लाख रूपैयाँ लगानी गरेका देखियो जसको कुल अंक चार खर्ब ७७ अर्ब ९७ करोड ३० लाख हुन्छ । यो रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुनपाएको थियो भने देशले ठूलो उपलब्धि पाउने थियो ।

अहिले यो विवरणले यस्तो बेला प्रकट भयो जो लघुवित्तका ज्यादतीका कारण मानिसहरू घर छाडेर भाग्न बाध्य भइरहेका भन्ने समाचार आइरहेका छन् । यस्तो अनुत्पादक क्षेत्रमा लगानीकर्ताहरूमा विकास बैंक पनि देखिए । यद्यपि उनीहरुले लगानी गरेका अंक भने केही सानो छ । विकास बैंकहरूले यही पुससम्ममा होम लोनतर्फ ५३ अर्ब ४२ करोड ३० लाख र रियलस्टेटतर्फ २१ अर्ब ४७ करोड गरी कुल ७४ अर्ब ८९ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् भने फाइनान्स कम्पनीहरूबाट होम लोन शीर्षकमा ११ अर्ब २५ करोड २० लाख र नौ अर्ब ९५ करोड १० लाख रूपैयाँ समेत गरी कुल २१ अर्ब २१ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह भएको छ । जब राष्ट्र बैंकको विवरणले नै यस्तो चित्र देखाउँछ भने यो ठाउँमा भन्नै पर्छ अनुत्पादक कर्जा घटाऔँ उत्पादन क्षेत्रमा बढाऔँ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4


तपाईको प्रतिक्रिया