Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबस बन्द, हवाइमा लुट सुरु

बस बन्द, हवाइमा लुट सुरु


गएको शुक्रबार प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा लामो दूरीका यात्रुवाहक बस अर्थात् यातायात रोकेको घोषणा गरे तर यसमा आन्तरिक हवाइ यात्रा भने सुचारु नै रह्यो । त्यसबारे कुनै प्रतिबन्ध नलागेको अवस्थाले पनि यो कुरा बुझाउँछ । यसको अर्थ हो अब देशका विभिन्न भूभागमा जोड्ने एउटै मात्र माध्यम कायम रह्यो हवाइ यात्रा । सरकारले यो यात्रामा संलग्न मान्छे र यात्रा गराउने माध्यम उच्चतहका सेवाप्रदायक मानेर होला खुल्ला गरे पनि तिनैले त्यस्तो व्यवहार भने देखाउन सकेनन् । आधुनिक मानेका यात्राका यी माध्यमहरु पछिल्लो समय यात्रु ठग्ने निर्बाध माध्यम बनेका विवरणहरु आउनथालेको अवस्था देखिएको छ । संकटका बेला एयरलाइन्स कम्पनीहरुको यो ब्रह्मलुटको रिपोर्टमा तेब्बरसम्म भाडा वृद्धि गरिएका विवरणहरु प्रकाशित भएका छन् । पछिल्लो समय हवाइ इन्धनको मूल्यमा व्यापक कटौती भएपछि प्रचलित भाडादर घट्ला भनी मानिएकोमा त्यसमा वृद्धि हुनु संकटका बेला लुट्न खोजिएको अवस्था मान्नुपर्छ ।

यसअघि मान्छेहरुले राजधानी छाड्ने भीड लाग्न थालेपछि लामो दूरीका यातायात व्यवसायीले यसरी नै महंगो शुल्क असुल्न थालेका थिए । त्यस्ता बसका हरेक टिकट काउन्टरमा टिकट लुकाएर कालोबजारी गर्नेहरुले यात्रुलाई अप्ठ्यारोमा पारेर बढी असुल गरेका अवस्था यतिबेला एयरलाइन्समा प्रकट हुनथालेको छ । स्थिति कतिसम्म भने दुई मिनेटअघि तोकिएको मूल्यमा टिकट लिन खोजिँदा त्यसको मूल्य बढेको अवस्था पाइएको यात्रुहरुको गुनासो आएको छ । हवाइ टिकट ग्यास र अन्य खाद्य सामग्रीजस्तो कालोबजारीयाका लागि खुला हुन आफैँमा असामान्य नै हो । त्यसै पनि देश सन्त्रासमा गुज्रिरहेको छ । यस्तो बेला देशको एउटै मात्र यातायातको साधन अर्थात् आवतजावतका लागि विकल्पविहीन अवस्थामा रहेको यस्तो साधनमा मनपरी हुनथालेमा त्यो पीडादायी नै हो । विपत्को मौका छोपी जसले पनि लुट गर्नुपर्छ ? भन्ने प्रश्न पनि यो प्रकरणले उब्जाएको छ ।

गएको हप्तादेखि सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपछि त्यसै पनि राजधानी छोड्नेहरुको संख्यामा भारी वृद्धि हुनथालेको थियो । त्यसमाथि सर्वसाधारणका यात्राका लागि सुगम माध्यम बसहरु बन्द गरेपछि हवाइ यात्रा बाध्यात्मक हुनपुगेका अवस्था हो । यतिबेला त्यसैमाथि खेलबाड भएको बताउँछन् यी विवरणले । यस्तो बेला नागरिकलाई बरु सहुलियत दिएर यात्रालाई सहज बनाइदिएका भए हवाइयात्राको व्यवस्था गर्नेहरुको विशिष्ट स्वभावको सधैँका लागि कदर हुने थियो । तर त्यसको उल्टो यही मौकामा एयरलाइन्स कम्पनीहरुले अतिरिक्त नाफा कमाउन खोजे । यो आपत्तिजनक छ । कुनै पनि क्षेत्रले आजको अवस्था नाफा गर्ने होइन सेवा गर्ने हो भन्ने सन्देश दिनुपर्ने ठाउँमा यस्ता काम हुनु दुःखद हो । बढी असुलिएको भाडादर पनि निकै रहेको पाइयो । जस्तो काठमाडौँदेखिका मोफसलका जिल्लामा पहिला नियमित हवाइ भाडादर औसतमा पाँच हजार रुपैयाँ रहेको र यो भाडादर पनि कुनै बेला घटेर ४ हजारसम्म पुग्ने गरेको अवस्थामा यतिबेला त्यसमा बढेर ६ हजारसम्म पुगेको उपभोक्ता यात्रुहरुले जानकारी दिएका छन् ।

यतिबेलाको हवाइयात्रा कस्तो छ भने कतिपय अवस्थामा यो नगरी नहुनेमा पर्छ । नेपालमा सरुवा रोगको उपचार हुने एउटैमात्र अस्पताल राजधानीमा छ । परीक्षण पनि त्यहाँमात्र हुन्छ । मुलुकका पूर्वदेखि पश्चिमसम्मका मान्छेहरुमा यस्तो रोग लागेमा त्यस्तो अस्पतालमा नै उपचार गर्न जान चाहन्छन् जो स्वाभाविक पनि हो । त्यस्तो बेला अरु समयजस्तो स्थलमार्गको विकल्प नरहेको अवस्था हो यो । आफ्नो निजी साधन नभएका साधारण व्यक्तिले कुनै वाहन रिजर्भ गर्न सक्दैन् । त्यस्तो बेला हवाइमार्गको भाडादर सरल भए यस्तो संकटका बेला यो क्षेत्रले गरेका सेवाभाव नै मानिने थियो सुलभ भाडादर । तर त्यसको उल्टो भयो । भाडाको यस्तो वृद्धि संस्थागत होइन भने सम्बन्धित पक्षले छानबिन गरेर सहज हुने गरी नियन्त्रणमा ल्याउनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया