Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसतर्कता नै कोरोनाबाट जोगिने मूल सूत्र

सतर्कता नै कोरोनाबाट जोगिने मूल सूत्र


विश्वव्यापी महामारीमा परिणत भएको कोरोना भाइरसको फैलावट, यसकाबारे पर्याप्त जानकारी नहुनु र एकप्रकारले यसलाई हेप्ने ‘मलाई त केही हुँदैन’ भन्ने हेलचेक्र्याइँ मूल कारण रहेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । त्यसकारण पनि यसबाट सतर्क हुने हो भने यो आफैँ विस्तार हुनबाट रोकिनेछ र क्षतिको मात्रा पनि सोहीबमोजिम कम हुने अनुमान गर्न पाइने रहेछ । यसका तीन उदाहरण छन् । एकः यसको उत्पत्ति भएको देश चाइनाको आवस्था के हो ? के हो ? भन्दा भन्दै संक्रमण विस्तार भएर ठूलो क्षति गराउनेमा पुग्यो । दोस्रो युरोपको इटाली हेलचेक्र्याइँबाट अर्काे सबैभन्दा बढी क्षति हुनेमा गनियो । चाइनाको त संक्रमणका क्रम रोकियो तर इटालीको अवस्था कहाँ पुग्ने हो भन्ने यकिन गर्नै सकिएको छैन । तेस्रो सानोतिनो अवस्थामा नेपाल पनि एउटा उदाहरण भएको छ बेलैमा सतर्कता अपनाए यो विस्तार हुनबाट रोकिन्छ भन्ने । यो विश्पव्यापी हुँदा र उत्पन्न भएको देश चीनको नजिक भएर पनि नेपाल कम्तीमा यतिबेलासम्म जोगिएको छ, यद्यपि जोखिम नभएको चाहिँ होइन ।

यो बेलासम्मको तथ्यांकअनुसार करिब दुई लाख ५० हजार जना संक्रमित भइसकेका छन् भने हालसम्म १५ हजार जनाभन्दा बढीको ज्यान यसले लिइसकेको छ । देशको हिसाबले यो भाइरस एक सय ८८ वटाको संख्या नाघेको छ । यी विवरण निरन्तर आइरहेका छन् । विश्व स्वास्थ्य संगठनले बारम्बार भनिरहेको छ, यो भाइरस विशेषतः थुकबाट सर्ने रोग हो । यसको परीक्षण पनि रगत होइन थुकबाट नै गरिँदोरहेछ । कुनै संक्रमित मानिस बोल्दा, खोक्दा र हाछ्युँ गर्दा थुकमार्फत यो अर्को स्वस्थ मान्छेमा सहजै सर्ने हुँदा जोगिनका लागि स्वस्थ होस् कि संक्रमित जो होस् मान्छेको नजिक नबस्न भनिएको रहेछ । यस्तो जानकारी आइरहेको छ तर व्यक्ति–व्यक्तिले पर्याप्त ध्यान नदिँदा यो विस्तार हुँदा गएको बुझ्न सकिन्छ र अन्त्यमा मान्छेलाई मारेरै छाडेको अवस्था बनिसकेको कुरा निश्चय नै दुःखद् हो तर कारण कतिपय अवस्थामा यसको कारक स्वयम मान्छे नै भएका देखियो ।

नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार कोभिड– १९ भाइरस केही घन्टादेखि केही दिनसम्म जस्तोसुकै ठाउँमा पनि सक्रिय अवस्थामा रहन सक्छ । जस्तोः कुनै स्प्रेमा तीन घन्टा, तामाको वस्तुमा ४ घन्टा, कारबोर्डमा २४ घन्टा तथा प्लास्टिक र स्टिलको वस्तुमा २ देखि ३ दिनसम्म । यो भाइरस प्रवेश गरेको ५ देखि २१ दिनसम्म देखिँदैन भनिएको छ । त्यसकारण रोग लागे पनि लागेको छैन भन्ने मान्यता र एकैपटक भयावह हुने खतरा यो पक्षले बताउँछ । इन्टरनेशनल जर्नल अफ इन्फेक्सन डिजिजमा प्रकाशित अध्ययनअनुसार यो बेलासम्म देखिएको पहिलो लक्षण ज्वरो आउने, दोस्रो लक्षण खोकी लाग्नु, तेस्रो लक्षण थकाइ धेरै लाग्नु र चौथो लक्षण सास फेर्न गाह्रो हुनु हो । एउटा संक्रमितले यति कुरा बुझेमा आफैँ सतर्क हुनु र अरुलाई सर्न नदिन भूमिका खेल्न सक्तछ । त्यसकारण बच्ने सूत्र सतर्कता नै र त्यही मात्रै रहेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया