Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारको राहत कागलाई बेल पाकेजस्तो

सरकारको राहत कागलाई बेल पाकेजस्तो


काठमाण्डौं,चैत २४
सरकारले लकडाउनको यो समयमा विशेष वर्गका लागि राहत ल्यायो । त्यसका शर्तले तिनका हातसम्म पुग्नै नपाउने खालको रहेछ भन्ने यी थोरै दिनले नै देखाएको छ । जसले गर्दा लकडाउनको मध्य समयमा घोषणा भएको राहत यसको समय सकिन लाग्दा पनि वितरणमा आएको अवस्था देखिएन । यदि म्याद थपिएन भने पूर्वघोषणाअनुसार २६ गते लकडाउनको म्याद सकिनेछ र त्यसैसाथ राहतको प्याकेजको पनि समय सकिएला । यस्तै भयो भने यो देखाउन मात्रै ल्याएको भन्ने बुझनुपर्ने हुन्छ । त्यसै पनि सरकारले राहत धेरै ढिलो गरी ल्याएको भन्ने आरोप छँदै छ । लकडाउन १० गते राति घोषणा भयो र भोलिपल्ट बिहान झिसमिसेदेखि नै लागू हुने थियो । यस्तै राहत १७ गते आयो, जो पूरै हप्ता दिनपछिको कुरा हो । त्यसमाथि यो प्याकेज कार्यान्यनमा नै आएन भने त सरकारको कामको एउटा उदाहरण नै बन्नेछ ।

सरकारले यस्तो राहत घोषणा गर्दा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने अवस्थालाई रोक्न लकडाउन गरिएको अवस्थामा कोही पनि भोकले नमरून् भन्ने उद्देश्यले राहत ल्याइएको भनी बताएको थियो । तर, यो राहत प्याकेज सम्बन्धित वर्गको लागि कागलाई बेल पाकेको जस्तो हुनगएको पाइयो, यसले प्रस्ताव गरेका शर्तका कारण । सरकारको यो प्याकेज स्थानीय तहमार्फत वितरणमा आउने हो । यी निकायका पदाधिारीहरू कति पक्ष र निष्पक्ष हुन्छन् भन्ने आफ्नो ठाउँमा छँदै छ । केही पहिले पर्सामा यस्तो पक्षपातका कारण राहत पाउने र दिनेबीचमा नै झडप भएको थियो । त्यसकारण यी निकाय कति निष्पक्ष हुन्छन् भन्ने प्रश्न आम उपभोक्तामा उठेको छ । सरकारले राहत प्याकेज वितरण कोकाम स्थानीय तहहरूलाई दिएपछि उनीहरूले त्यसमा अर्को शर्त थपे । राहत वितरणका लागि घरबहाल तिरेको रसिद, भाडामा बसेको प्रमाणलगायतका कागजात माग्न थालियो । जुन वर्ग यस्तो राहत पाउने हो त्यो यस्ता शर्त पूरा गरेर कसैका घरमा बसेका घटना विरलै होलान् । घरबहाल तिरेको रसिद वा भाडामा बसेको प्रमाण माग्न थालियो भने घरबेटीले निकालिदिने खतरा रहन्छ । त्यसकारण पनि उपभोक्ताले यसलाई झन्झटिलो मात्र होइन राहत नै नदिइने वा नपाउने प्रावधान भनी प्रतिक्रिया दिन थालेका छन् । यस्ता कुरा जति प्रतिबन्धात्मक भए त्यति नै लक्षित वर्गमा सहयोग पुग्न बाधा पुग्छ भन्ने सरकारले ख्याल गरेको पाइएन ।

उपभोक्ताका तर्फबाट यसबारेमा ध्यानाकर्षण गरिएको कारण पनि यही होला । यो प्याकेजअनुसार राहत वितरण हुन लाग्दा नै देखिएको समस्या भन्दै उपभोक्तासम्बन्धी संस्थाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई लेखेर यस्तो प्रावधान हटाउन माग नै गरेको स्थिति देखियो । त्यसमा भनिएको छ, ‘अत्यन्त जटिल मानवीय समस्याको रूपमा देखिएको यो समयमा वडाका जनप्रतिनिधिहरू आफैँले आफ्ना वडावासीका लागि सक्दो सहयोग र योगदान गर्नुपर्ने बेलामा अनावश्यक रूपमा कागजात वा प्रमाण खोजिरहनुले विशुद्धरूपमा आर्थिक चलखेल गर्नकै लागि हो भन्ने आम नागरिकको भनाइ रहेको छ । त्यसैले यस विषयमा आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गरी सहज र सुलभरूपमा प्रत्येक नेपाली नागरिकलार्ई राज्यबाट प्राप्त हुने राहत सामग्री उपलब्ध गराउने व्यवस्था गरी पाउन अनुरोध गर्दछौँ ।’ सरकारले वास्तवमा नै राहत दिन नै खोजेको हो भने यसलाई सरल र सहज बनाउनैपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया