Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआशंका सत्यतामा परिणत नहोस्

आशंका सत्यतामा परिणत नहोस्


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यही जेठ १७ गते बुधबारदेखि २० गते शनिबारसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम निश्चित भएको छ । गत पुसमा प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री दाहालले लामो समयको प्रतिक्षापछि भारत भ्रमणको अवसर पाएका हुन् । प्रधानमन्त्रीले भारत भ्रमणका लागि प्रयास गरिरहे पनि ‘केही’ नमिलेको कारण भ्रमण निश्चित भएको थिएन । भारत भ्रमणका लागि प्रधानमन्त्री दाहालले विभिन्न कूटनीतिक च्यानल प्रयोग गरेर जेठ १७ गतेको भ्रमण तय गरेका हुन् । यद्यपि भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणा भने आएको छ । प्रधानमन्त्रीसँग भ्रमणमा मन्त्री, सचिव र वरिष्ठ सरकारी अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा अन्य मन्त्री, सचिव र सरकारी अधिकारीहरु सहभागी भए पनि प्रधानमन्त्रीले के भन्छन् र के लिखित सहमति गर्छन् त्यो नै मुख्य विषय हो । भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएपछि शनिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्री दाहालसँग भारतमा के–के सम्झौता गर्नुहुन्छ ? भनेर प्रश्न मात्र गरेनन् कालापानीबाट भारतीय सेना हटाउन के पहल गर्नुहुन्छ ? भारतले कब्जा गरेको कालापानीलगातयका भू–भाग फिर्ता ल्याउने बारे कसरी कुरा उठाउनु हुन्छ ? कञ्चनपुरलगायतका जिल्लामा भारतले मिचेको सीमाको बारेमा के कुरा गर्नुहुन्छ ? भारतसँगको व्यापारघाटा कम गर्न के छ एजेण्डा ? भनेर विभिन्न प्रश्न उठाए । खासगरी सांसदहरूले प्रधानमन्त्री दाहालको भारत भ्रमणको बारेमा आशंका गरी प्रश्न गरेका हुन् । सबै सांसदहरूको आशंका प्रधानमन्त्री दाहालले राष्ट्रहित विपरीतका सम्झौता गर्छन् कि भन्ने हो । प्रधानमन्त्री दाहालप्रति पछिल्लो समयमा आशंकै आशंका छ ।

निर्वाचनमा अत्यन्तै कमजोर बन्दै गएको दाहाल नेतृत्वको नेकपा माओवादी एकल निर्वाचनमा सहभागी हुँदा निराशाजक परिणाम आउने अवस्था छ । त्यही भएर उनले पार्टीको छविका लागि भन्दा पनि आफ्नो स्थार्थका लागि जे पनि सम्झौता गर्छन् भन्ने आशंका बढेको हो । क्रान्तिकारी कुरा मात्र होइन भारतविरुद्ध सुरुङयुद्ध नै घोषणा गरेर जनता उचालेका दाहालको विगत अहिले भारतसँग लम्पसारवादी बन्दै आएको छ । पछिल्लो समयमा दाहाल देशहितका लागि भन्दा पनि आफ्नो व्यक्तिगत हितका लागि देशभित्र पनि विभिन्न सम्झौता गर्दै आएका छन् । उनको सम्झौताले राष्ट्रमा अस्थिरता पनि बढाएको छ । त्यही भएर अहिले प्रधानमन्त्री दाहालले भारतसँग पनि आफ्नो देशहित विपरीत सम्झौता गर्छन् कि भन्ने आशंका गरेका हुन् । यद्यपि प्रधानमन्त्री दाहालले शनिबारकै प्रतिनिधि सभा बैठकमा आफूले भारतसँग सीमालगायतका विषयमा गम्भीर रूपमा वार्ता गर्ने प्रतिबद्धता जनाएका छन् । तर उनको प्रतिबद्धताप्रति धेरैको आशंका छ । यो आशंका केवल आशंका मात्र होस् । आशंका सत्यमा परिणत नहोस् । देशहित विपरीत दाहालले भारतसँग सम्झौता नगरून् । नेपालले सानो कुरा पाउनका लागि ठूलो कुरा गुमाउन नपरोस् । भारतले लडेरभन्दा पनि नेपालसँग नेपालका शासकसँग सम्झौता गरेर आफ्नो स्वार्थ पूरा गर्दै आएको छ । अहिले पनि सानो कुरा दिएर नेपालबाट ठूला कुरा लैजान भारत सफल नहोस् । नेपाल र भारत एकअर्काका छिमेकी हुन् । दुई राष्ट्रबीच एउटा असल छिमेकीको बीचमा जस्तो व्यवहार हुन्छ त्यस्तो मात्रै होस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया