Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबजेट कार्यान्वयनको शुभकामना

बजेट कार्यान्वयनको शुभकामना


काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र केही आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएकाले यस आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर दुई दशलमव १६ प्रतिशतमा खुम्चिने अनुमान छ । तेस्रो त्रैमाससम्म मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत छ । सरकारको पुँजीगत खर्च ३६ प्रतिशतमा सीमित छ । रेमिट्यान्स आप्रवाह केही बढे पनि आयात उच्च हुँदा अझै पनि अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब हुने जोखिम छ । केही आर्थिक सूचक सकारात्मक देखिए पनि बजार अझै सक्रिय बन्न सकेको छैन । चर्को ब्याजदरले २२ हजार बढी ऋणी कालोसूचीमा परिसकेका छन् । आर्थिक वर्षको सुरुवातमा केही वस्तुको आयात प्रतिबन्ध हुँदा राजस्व घाटाको स्थिति छ । आम्दानीले खर्च धान्ने स्थिति नभएपछि सरकारले आन्तरिक ऋण उठाएर खर्चको जोहो गरिरहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले तलब भत्ता, समाजिक सुरक्षा, वित्तीय हस्तान्तरण, प्रशासनिक खर्च र ऋण भुक्तानीका लागि मात्रै १२ खर्ब ८० अर्ब रकम विनियोजन गर्नुपरेको बताउँदै आएका छन् । यिनै कारण देशको अर्थतन्त्र ट्र्याकमा ल्याउन चुनौतीपूर्ण छ ।

अर्थतन्त्र चुनौतीले घेरिएका बेला सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ प्रतिशत आर्थिक वृद्धि र साढे छ प्रतिशत मुद्रास्फीति हासिल गर्ने लक्ष्यसहित बजेट तर्जुमा भएको छ । अर्थमन्त्री डा. महतले चालू आर्थिक वर्षको भन्दा दुई दशमलव ३७ प्रतिशत कम रकम विनियोजनसहितको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका छन् । अर्थमन्त्रीले चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड विनियोजन गरेका छन् । भन्सार राजस्व बढ्ने संकेत नभए पनि अर्थमन्त्री महतले राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएका छन् । यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड, वैदेशिक ऋणबाट दुई खर्ब १२ अर्ब ७५ करोड र अन्तरिक ऋणबाट दुई खर्ब ४० अर्ब ऋण व्यहोरिने घोषणा गरेका छन् ।

अर्थिक संकटका बीच आएको बजेटले आर्थिक वृद्धि र मुद्रास्फीति लक्षित सीमाभित्र हासिल गर्न चुनौती छ । तर सरकारले योजनाबद्ध रूपमा कार्यान्वयनका लागि दृढ इच्छाशक्ति राखेर काम गर्ने हो भने बजेट कार्यान्वयन धेरै परको विषय होइन । यसका लागि राजस्व चुहावट नियन्त्रणदेखि पुँजीगत खर्च बढाउनेमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ । बजेट खर्चको लक्ष्य पूरा गर्न सरकार सफल बनोस् । हाम्रो शुभकामना ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया