शिक्षामन्त्रीको छलछाम

निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग लिनुपर्नेभन्दा बढी रकम लिएपछि सो रकम फिर्ता हुनुपर्ने माग गरे विद्यार्थी सडक आन्दोलनमा उत्रिएको महिनौँ बितिसक्दा पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको मागको ठोस सुनुवाइ गरेका छैनन् । उनले सार्वजनिक लोकप्रियताका लागि मात्र त्यसरी अतिरिक्त शुल्क लिने मेडिकल सञ्चालकहरूलाई कारबाही गर्ने कुरा गर्दै आएका छन् । तर, व्यवहारमा कारबाही गरेर देखाएका छैनन् । उनले त्यस्ता मेडिकल कलेजका सञ्चालकहरूलाई ठगी मुद्दा चलाउने कुरा पनि सार्वजनिक गरे ।

यति दिनभित्र रकम फिर्ता गर्नू भनेर अल्टिमेटम दिएको स्वाङ पनि पारे । तर, उनको त्यो अभिव्यक्ति नाटकीय रहेछ भन्ने कुरा अब कतैबाट पनि छिपेन । उनले दिएको अल्टिमेटम सकिएर मेडिकल कलेजका सञ्चालकहरूले रकम फिर्ता नगर्दा पनि शिक्षामन्त्री पोखरेलले गृहमन्त्रालयलाई उनीहरूविरुद्ध ठगी मुद्दा चलाउन सहमति दिएनन् । आफूहरू ठगिएको थाहा पाएपछि विद्यार्थी आन्दोलित बनेदेखि नै शिक्षामन्त्री पोखरेल खुलस्तरूपमा पीडित विद्यार्थीको पक्षमा उभिएका छैनन् । उनले गोलमटोल दोहोरो अर्थ दिने प्रतिक्रिया दिँदै आएका छन् ।

मेडिकल कलेजका सञ्चालकहरूले विद्यार्थीसँग करोडौँ रूपैयाँ अतिक्ति शुल्क लिएका छन् । कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवनले विद्यार्थीसँग १० करोड ६१ लाख ५७ हजार रूपैयाँ अतिरिक्त शुल्क लिएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजले ३२ करोड ५५ लाख ९१ हजार पाँच सय रूपैयाँ अतिरिक्त शुल्क उठाएको छ । त्यसैगरी काठमाडौँमा रहेको काठमाडौँ मेडिकल कलेजले विद्यार्थीसँग २७ करोड ८१ लाख ६५ हजार एक सय ९० रूपैयाँ अतिरिक्त शुल्क लिएको छ भने भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले ३२ करोड ७२ लाख ३० हजारभन्दा बढी रकम लिएको छ ।

त्यसैगरी विराटनगरको विराट मेडिकल कलेजले १९ करोड नौ लाख ३३ हजार दुई सय ८९ रूपैयाँ, नोवेल मेडिकल कलेजले ४७ लाख ४४ हजार एक सय १८ रूपैयाँ, पोखराको गण्डकी मेडिकल कलेजले ४३ करोड चार लाख ९० हजार रूपैयाँ, मनिपाल कलेज अफ मेडिकल साइन्सले १० करोड नौ लाख रूपैयाँ, किष्ट मेडिकल कलेज ललितपुरले पाँच करोड ९९ लाख ३० हजार रूपैयाँ, लुम्बिनी मेडिकल कलेज पाल्पाले ३२ करोड ९६ लाख ८४ हजार रूपैयाँ, नेपालगञ्ज मेडिकल कलेजले २१ करोड ९१ लाख २५ हजार दुई सय रूपैयाँ र देवदह मेडिकल कलेज रूपन्देहीले तीन करोड ८९ लाख ९४ हजार रूपैयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले देखाएको छ ।

विद्यार्थीमाथि यति ठूलो अन्याय हुँदा पनि दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका शिक्षामन्त्री पोखरेलले मेडिकल कलेजका सञ्चालकहरूलाई किन कारबाही नगरेर जिब्रो चपाइरहेका होलान् भन्ने कुरा सर्वसाधारणले पनि लख काट्न थालिसकेका छन् । तर, स्वयं मन्त्री पोखरेलचाहिँ केही पनि नभएको जस्तो गरेर हिँडिरहेका छन् । शिक्षामन्त्री पोखरेल करोडौँ रकम उठाउने मेडिकल सञ्चालकहरूलाई कारबाही गर्ने पक्षमा छैनन् । बरु उनी जसरी भए पनि विद्यार्थीलाई झुक्याएर आन्दोलन रोक्न लगाउने उपाय खोजिरहेका छन् । उनको यो छलछाम पारिलो घामजस्तै छर्लङ्ग भएको छ ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com