Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानमा आपत्काल अरु बढाउने तयारी

जापानमा आपत्काल अरु बढाउने तयारी


टोकियो, वैशाख १९
जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लाग्नुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो ।

एएफपीका अनुसार प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहीरबा संसदमा बोल्दै प्रधानमन्त्री आबेले मुलुकको स्वास्थ्य सेवाले कठिन परिस्थितिको सामना गर्नुपरिरहेको बताएका छन् । बुधबार पनि सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री आबेले मानिसहरुमा नयाँ संक्रमण देखिएको बताउँदै भनेका छन्, ‘के हामी मे ६ भित्रै आपतकाल हटाउन सक्छौं ? मेरो विचारमा अझ गम्भीर परिस्थिति आउने देखिँदै छ ।’

निक्की अखबार समेतका स्थानीय संचार माध्यमहरुले कोरोनाभाइरस र आपतकालका बारेमा शुक्रबार विज्ञहरुसँग सरकारले छलफल गर्न लागेको बताएका छन् । विज्ञहरुले भने आपत्कालको घोषणालाई यथावत राख्न सुझाव दिँदै आएका छन् । आपत्कालको घोषणा कहिले गरिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन । तर प्रधानमन्त्री आबेले निर्धारित मितिभन्दा अगाबै आपत्कालको घोषणा गरी द्विविधा अन्त्य गरिने बताउनुभएको छ । उहाँले व्यवसाय, विद्यालय र संस्थाहरु खोल्न उपयुक्त समय आवश्यक हुने पनि बताए ।

जापानमा आपत्काल घोषणा गरिए पनि उल्लंघन गर्नेमाथि सजायको व्यवस्था नगरिएका कारण युरोप वा अन्यत्रको जस्तो आपतकालीन व्यवस्था लागू भएको छैन । गभर्नरहरुलाई व्यवसाय वा स्कुल बन्द गर्न तथा मानिसलाई घरभित्रै बस्न आग्रह गर्न सक्छन् तर त्यसको उल्लंघन गर्नेमाथि कारबाही गरिन्न । क्षेत्रीय गभर्नरहरुले आपतकाललाई बढाउन यसअघि नै आवाज उठाएका छन् । अप्रिलमा सुरु हुने विद्यालयको नयाँ सत्रलाई सेप्टेम्बरमा सार्न सुझाव पनि गभर्नरहरुले दिएका छन् । जापानमा गत मार्चदेखि नै विद्यालयहरु बन्द छन् ।

जापानमा संयुक्तराज्य अमेरिका र युरोपको जस्तै कोरोना संक्रमण छैन । जापानमा करिब १४ हजारमा कोरोना संक्रमण देखिएको छ भने ४१५ जनाको मृत्यु भएको छ । तर जापानमा कम परीक्षण गरिएको भन्दै आलोचना हुने गरेको छ । कोरोनाभाइरसको संक्रमणको वास्तविक वृद्धिदर अस्पष्ट रहेको उनीहरुको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया