पुटिनको सहायता गर्न किम जङ् अन मस्को जाँदै
काठमाडौं, उत्तर कोरियाका नेता किम जङ् अन यसै महिना रुस यात्रामा निस्कन लागेको एकजना अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार समाचार संस्था सीबीएसलाई बताएका छन्।
ती दुई नेताबीच जारी युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले अस्त्र दिन सक्ने सम्भावनाबारे छलफल गर्ने ठानिएको छ।
उनीहरूको भेट ठ्याक्कै कहाँ हुनेछ भन्ने स्पष्ट भइसकेको छैन।
अन्य अमेरिकी समाचार संस्थाहरूमा पनि आएका विवरणहरूबारे उत्तर कोरिया वा रुसले तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्।
‘बख्तरबन्द’ रेलमा यात्रा
न्यूयोर्क टाइम्सले सूत्रहरूलाई उद्धृत गर्दै किम जङ् अन अस्त्रले जडित बख्तरबन्द किसिमको रेलबाट यात्रा गर्ने धेरै सम्भावना रहेको बताएको छ।
उत्तर कोरियाको सुदूर उत्तरपूर्वी क्षेत्रको सिमाना रुससँग जोडिएको छ। दुई देशबीच अस्त्रसम्बन्धी कुराकानीमा सक्रिय प्रगति भइरहेको ह्वाइट हाउसले बताए लगत्तै यो भ्रमणको समाचार बाहिर आएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले उनको हालैको उत्तर कोरिया भ्रमणमा प्योङ्याङलाई हतियार बेच्न मनाउने कोसिस गरेको बताएका छन्।
उनको कुराकानीका बेला उत्तर कोरियाले ह्वासङ् अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेको थियो। उक्त अस्त्रलाई ठोस प्रोपेलेन्ट प्रयोग गर्ने उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) ठानिन्छ।
साथै कोभिड महामारी यता उत्तर कोरियाले कुनै पनि विदेशी पाहुनाका लागि उसको ढोका खोलेको पनि त्यो पहिलो अवसर थियो।
पत्र आदानप्रदान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ अनले शोइगुको त्यस भ्रमणयता पत्र आदानप्रदान गर्दै ‘द्विपक्षीय सहयोग बढाउने वाचा’ गरेका छन्।
“हामी उत्तर कोरियालाई रुससँग अस्त्र वार्ता बन्द गर्न अनि प्योङ्याङले सार्वजनिक रूपमै रुसलाई अस्त्र दिने वा बेच्ने काम नगर्ने भनेर गरेको प्रतिबद्धता पालना गर्न आह्वान गर्छौँ,” जोन कर्बीले भने।
यदि उत्तर कोरियाले रुसलाई अस्त्र दिएमा अमेरिकाले आर्थिक प्रतिबन्ध लगायतका कारबाही गर्ने उनले चेतावनी दिए।
त्यसरी रुसलाई अस्त्र सहयोग गरेको बदलामा प्योङ्याङले के प्राप्त गर्ला भन्ने बारे वाशिङ्टन र सोलमा चिन्ता बढेका छन्।
सोमवार दक्षिण कोरियाको गुप्तचर निकायले शोइगुले रुस, चीन र उत्तर कोरियाले पनि अमेरिका, जापान र दक्षिण कोरियाले जस्तै संयुक्त नौसैनिक अभ्यास गर्नुपर्ने प्रस्ताव राखेको जनाएको छ।
अर्को डर भनेको रुसले भविष्यमा उत्तर कोरियालाई अस्त्र दिन सक्छ जतिखेर प्योङ्याङलाई त्यसको खाँचो पर्नेछ। थप चिन्ताको विषय चाहिँ किम जङ् अनले रुससँग अत्याधुनिक अस्त्र प्रविधि वा ज्ञान माग्न सक्छन् जसले उनको परमाणु कार्यक्रममा महत्त्वपूर्ण प्रगति हुनसक्छ।
तर सम्भावना के पनि छ भने यो कुराकानी दुवैको आवश्यकतामा मात्र भर परेको छ – यतिखेर रुसलाई अस्त्रको खाँचो परेको छ भने उत्तर कोरियालाई खाना र पैसाको।
न्यूयोर्क टाइम्सले दुई नेताको भेट रुसको पूर्वी तटको बन्दरगाह सहर भ्लादिभोस्तोकमा हुनसक्ने जनाएको छ।
(बीबीसी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया