Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा एकैदिनमा दुई हजार संक्रमित थपिए

पाकिस्तानमा एकैदिनमा दुई हजार संक्रमित थपिए


इस्लामावाद, जेठ १
पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् । नयाँ थपिएका संक्रमितहरुसँगै पाकिस्तानमा कुल संक्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले संक्रमितको संख्या एकाएक बढेको अधिकारीहरुको भनाइ छ । कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो । पछिल्लो समयमा दुई हजार २ सय ५५ जना नयाँ संक्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण थप ३१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ७ सय ३७ को छ ।

पाकिस्तानमा अहिलेसम्म ३४ हजार ३ सय ३६ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । देशभरी संक्रमित मध्ये सवैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन् । पञ्जावमा कुल १३ हजार २ सय २५ जना संक्रमित भएका छन् भने दोस्रो धेरै संक्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६ सय १० जना रहेका छन् । त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार १ सय ५८ जना, इस्लामावादमा ७ सय ५९ जना, गिल्गिट बाल्टीस्टानमा ४७५ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ८८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमित मध्ये आठ हजार ८१२ जना संक्रमणमुक्त भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।अघिल्लो हप्तादेखि संक्रमितको संख्या दिनप्रतिदिन अत्यधिक धेरै बृद्धि हुदै गएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ । लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उल्लंघन हुनु लगायतका कारणले संक्रमितहरुको संख्या बढ्दै गएको उनीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विषेश उडान मार्फत पाकिस्तानले ३ सय ७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो । यसअघि गत अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत् चार हजार ३ सय ४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ । रासस/पीटीआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया