Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा जेठ १८ सम्म लकडाउन

भारतमा जेठ १८ सम्म लकडाउन


नयाँ दिल्ली, जेठ ५
कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या बढ्ने क्रम नरोकिएपछि सरकारले आगामी जेठ १८ (मे ३१)सम्म लकडाउन लम्ब्याएको छ । भारतीय गृह मन्त्रालयले उक्त अवधिसम्म लकडाउन थपिएको भन्दै गाइडलाइनहरु समेत सार्वजनिक गरेको छ । भारतले चौथोपटक लकडाउनबारे निर्णय गरेको हो । निर्णयसँगै सबै सामाजिक, सांस्कृति तथा धार्मिक कार्यक्रम प्रतिबन्धित रहने भएका छन् । मानिसहरुको भीड गर्न नपाइने भएको छ । तर चिकित्सामा सहयोग गर्ने होटल भने खुल्न पाउने बताइएको छ । अन्य होटल र रेस्टुराँ बन्द गरिएको नवभारत टाइम्सले जनाएको छ ।

यसपटकको लकडाउनमा पनि मेट्रो र रेल सेवा बन्द हुने, सामान्य हवाइ सेवा नचल्ने, स्कुल, कलेज र कोचिङ सबै बन्द हुने भएका छन् । केही आर्थिक गतिविधिले भने यो अवधिमा छुट पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोभिड–१९ को संक्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

भिडियो सम्मेलनमार्फत छलफल गरिएको थियो । यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका थिए । भारतीय राज्य कर्णाटकले २ दिनका लागि लकडाउन बढाइसकेको छ । त्यस्तै पञ्जाब राज्यले पनि मे ३१ सम्म लकडाउन गर्ने बताइसकेको छ । महाराष्ट्र र तमिलनाडुले पनि सोही अवधिसम्म लकडाउन गरेका छन् ।

भारतमा ९० हजार कोरोना संक्रमित एकै दिन भेटिए ५ हजार : भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९ सय ४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कुल २ हजार ८ सय ७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १ सय ८ जना निको भएर डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७ सय ६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९ सय ८८ जना र १० हजार ५ सय ८५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतीय राजधानी नयाँदिल्लीमा भने ९ हजार ३ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । (रासस–एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया