Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपश्चिम बंगालमा लकडाउनको स्वरुप परिवर्तन गरिने

पश्चिम बंगालमा लकडाउनको स्वरुप परिवर्तन गरिने


भारत, जेठ ६
भारतको पश्चिम बंगालमा बन्दाबन्दीको स्वरुप परिवर्तन गरिने भएको छ । चौथो चरणको बन्दाबन्दी लागु भएसँगै सोमबार सूचना जारी गरेर त्यसको स्वरुपमा परिवर्तन गर्न लागिएको उच्च अधिकारीहरुले जनाएका छन् । भारतको केन्द्रीय सरकारले आइतबार फेरी बन्दाबन्दीको अवधि दुई हप्ता बढाएर यही मे ३१ तारिखसम्म पु-याएको छ । यो चौथो चरणको देशव्यापी बन्दाबन्दी हो । थप गरिएको बन्दाबन्दीका बेला भने सरकारले केही खुकुलो व्यवस्था गरेको छ । निश्चित क्षेत्रमा सरकारले मातहतका निकायहरुको निर्णयका आधारमा आवतजावत र अन्य गतिविधिहरुमा केही खुल्ला गर्ने व्यवस्था गर्न लागिएको हो ।

नयाँ खुकुलो व्यवस्थाले विशेष गरी अलपत्र परेका मजदूरहरूलाई राहत मिल्न सक्ने सरकारी अधिकारीहरूले अपेक्षा गरेका छन् । ‘केन्द्रीय गृह मन्त्रालयले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ, त्यही अनुसार लकडाउनको स्वरुपमा केही परिवर्तन गर्न लागिएको छ, त्यसका लागि प्रदेश सरकारले सूचना जारी गर्न लागेको छ’, वरिष्ठ एक सरकारी अधिकारीले भने । छुट्टै रहेका पसलहरू र हरित क्षेत्र मानिएको क्षेत्रमा बिहान ७ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने उनीहरुको भनाइ छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीेले मुख्यमन्त्रीहरुसँग गरेको छलफलका आधारमा लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरिएको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले चौथो चरणको लकडाउनका लागि नयाँ निर्देशिका बनाइएको पनि जानकारी दिएको छ ।

प्रदेश सरकारले भने यसअघि नै ग्रामीण क्षेत्रमा कृषि लगायतका कार्यका लागि सहज वातावरण बनाउने निर्णय गरेको थियो । मुख्यमन्त्री ममता बनर्जीले लकडाउनको स्वरुप परिवर्तन गर्ने र उच्च सतर्कता अपनाउँदै केही कामहरु गर्न दिने निर्णय गरिएको अघिल्लो हप्ता नै जानकारी दिएकी थिइन् । सरकारी अधिकारीहरूका अनुसार आइतबारसम्ममा पश्चिम बंगालमा कोरोनाभाइरसका कारण १६६ जनाको मृत्यु भएको छ भने दुई हजार ६७७ जना संक्रमित भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया