Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगरिब, किसान, महिला र युवाको सशक्तीकरण प्राथमिकतामा : मोदी

गरिब, किसान, महिला र युवाको सशक्तीकरण प्राथमिकतामा : मोदी


नयाँ दिल्ली, जेठ १८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बितेको एक वर्ष गरिब, किसान, महिला र युवाको सशक्तीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् । प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल सुरु गरेको एक वर्ष पुगेको अवसरमा अडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले उनीहरुको सशक्तीकरणबाट नै मुलुकलाई सशक्त बनाउन सकिने उल्लेख गरेका छन् ।

मोदीले एनडीए नेतृत्वको केन्द्रिय सरकार गठन गरेर दोस्रो कार्यकाल सुरु गरेको एक वर्ष पूरा भएको छ । गत वर्ष भएको लोकसभा निर्वाचनमा जनताले मुलुकलाई नयाँ उचाइमा पु-याउने सपना देखेर मतदान गरेको पनि मोदीले अडियो सन्देशमा स्मरण गरेका छन् । ‘त्यसैले हामीले यस वर्ष गरिब, किसान, महिला र युवालाई सशक्तिकरण गर्ने कुरालाई प्राथमिकतामा राख्यौँ’, उनले भनेका छन् । उनले नागरिकका नाममा पत्र समेत लेख्दै गत एक वर्षमा सरकारले गरेका कामहरुको सूची पनि सार्वजनिक गरेका छन् ।

सूचीमा उनले आफुहरुको प्रयास, उपलब्धि, ठूला ठूला निर्णयहरुलगायत पनि समेटेका छन् । कोरोनाभाइरसको संक्रमण फैलिइरहेको र देशभरी लकडाउन लागु गर्नु परेको अवस्थामा समेत सरकारले प्रभावकारी कामहरु गरेको प्रधानमन्त्री मोदीको दाबी छ । उनले जम्मु कश्मिरलाई केन्द्रीय प्रशासनअन्तर्गत ल्याएको, अयोध्यासम्बन्धी आदेश आएको, नागरिकता सम्वन्धी नयाँ व्यवस्था गरिएको लगायतका विषयलाई मुख्य कार्यको रुपमा उल्लेख गरेका छन् ।

त्यसैगरी देशको विकास र राष्ट्रिय एकताका लागि धेरै कामहरु भएको पनि प्रधानमन्त्री मोदीले पत्रमा लेखेका छन् । उनले किसानहरुलाई सम्मान र प्रेरणा प्रदान गर्न आफुले प्रधानमन्त्री किसान सम्मान निधि सुरु गरेको पनि चर्चा गरेका छन् । ‘यस कार्यक्रम अन्तर्गत एक बर्षमा झण्डै दश करोड किसानको खातामा ७२ हजार करोडभन्दा बढी रकम जम्मा गरिदिइएको छ’, प्रधानमन्त्री मोदीले लेखेका छन् । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया