Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्ने अमेरिकाको घोषणा

विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्ने अमेरिकाको घोषणा


वासिड्.टन, जेठ १८
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् । उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबैखाले सम्बन्ध तोड्ने घोषणा गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । विश्वमा फैलिएको कोभिड १९ को विषयलाई लिएर पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठनबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप उनले लगाउँदै आएका थिए ।

राष्ट्रपति ट्रम्पले उक्त संगठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य संगठन असफल भएको आरोप पनि लगाएका छन् । राष्ट्रपति ट्रम्पले गत महिनामात्र पनि अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिएका थिए । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘चीनले वर्षेनी विश्व स्वास्थ्य संगठनलाई ४ करोड अमेरिकी डलर बराबरको मात्र आर्थिक सहायता दिँदै आएको छ तर उक्त संगठनमाथि चीनले नै नियन्त्रण जमाएको छ ।’ उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको तर पनि उक्त संगठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाए ।

उक्त संगठनलाई ब्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भए पनि ऊ असफल भएको आरोप पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए । उनले भने, ‘त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य संगठनसँगको सबै खालको नाता तोड्दैछौँ ।’ यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघअन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिए । संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता राष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त संगठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ ।

यसअघि देखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त संगठनलाई दोषी देखाएका थिए । अमेरिकाले विश्व स्वास्थ्य संगठनमा विस्तृत रुपमा सुधार गर्ने भनेको तर पति उक्त संगठनले नमानेको आरोप ट्रम्पको छ । यसअघि पनि उनले चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको आरोप लगाएका थिए ।

अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले विशेषज्ञहरुको टोली चीन पठाउनुपर्ने माग राख्दै आएको छ । तर त्यस मागप्रति चीन र विश्व स्वास्थ्य संगठन नै सकारात्मक छैनन् । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख भन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक संक्रमित छन् ।

निर्णयमा पुनर्विचार गर्न ईयूको आग्रह : युरोपेली संघ (ईयू)का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कूटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले उक्त संस्थालाई दिँदै आएको बजेटलाई अन्यत्र लगानी गर्ने तर विश्व स्वास्थ्य संगठनलाई भने नदिने घोषणा गरेपछि इयूको धारणा सार्वजनिक भएको हो ।

ईयूले अमेरिकालाई डब्लुएचओबारे शुक्रबार सार्वजनिक निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देन लेयन र इयूका विदेश तथा सुरक्षा नीति मामिला उच्च प्रतिनिधि जोसेप बोरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डब्लुएचओले महामारीको अन्तर्राष्ट्रिय व्यवस्थापनको जिम्मेवारीलाई अहिले र भविष्यमा पनि निरन्तरता दिनुपर्छ । यसका लागि सबैको सहभागिता र सहयोगको आवश्यकता हुन्छ । विश्वव्यापी संकटबीच अहिले सहकार्यलाई बढाउँदै साझा समाधानको पहल हुनु जरूरी छ । अन्तर्राष्ट्रिय नतिजालाई कमजोर पार्ने कुनै पनि कार्यलाई रोक्नुपर्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा हामीले अमेरिकालाई उसले शुक्रबार सार्वजनिक गरेको निर्णयलाई पुनः विचार गर्नुपर्छ ।’ विश्वले कोभिड–१९ को महामारीसँग जुझिरहेका समय सबैको प्रमुख काम मानिसहरूको ज्यान जोगाउने र महममारीलाई नियन्त्रणमा राख्ने तथा अन्त्य गर्नेछ । ईयूले यसका लागि डब्लुएचओलाई साथ दिनेछ र यसअघि नै थप बजेटको व्यवस्थापनमा सघाइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया