Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाले अफगानिस्तानबाट करिब पाँच हजार सेना हटायो

अमेरिकाले अफगानिस्तानबाट करिब पाँच हजार सेना हटायो


वासिङ्टन, असार ८
संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौताबमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको संख्या कटौती गरिएको हो ।

अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले अफगानिस्तानमा तैनाथ अरु सैन्यबल कहिलेसम्ममा फिर्ता भइसक्छन् भन्ने बारेमा भने बताउनु भएन । तालिबानसँगको सम्झौता अनुसार अफगानिस्तानमा तैनाथ सबै अमेरिकी र अन्य विदेशी फौज आगामी सन् २०२१ को मे महिनाभित्र फिर्ता भइसक्नेछन् ।

तर जनरल म्याकेन्जीले थप सैन्य कटौतीका लागि तालिबान समूहले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान मिसनको कार्य पूरा भइसकेकाले अमेरिकी फौज फिर्ता गरिने बताउँदै आएका छन् । उनले अमेरिकी सेना अफगानीहरुको आन्तरिक मामिला सुल्झाउन लामो समय अफगानिस्तानमा बस्न नसक्ने बताएका छन् ।

अमेरिकी फौज अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि तैनाथ छ । जनरल म्याकेन्जीले तालिबान समूहसँगको सम्झौतालाई अमेरिकाले कार्यान्वयन गरिरहेको जानकारी दिए । आस्पेन स्ट्राटेजी ग्रुपको वेबिनारमा बोल्दै म्याकेन्जीले भने, ‘हाम्रा सेनालाई लक्षित गरी तालिबान समूहबाट आक्रमण हुन छाडेका छन् । अहिले अमेरिका लक्षित केही घटनाहरु अल–कायदा र इस्लामिक स्टेट्सले गराएका छन् ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया