Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइजरायलमाथि इरानको आक्रमणको आशंका

इजरायलमाथि इरानको आक्रमणको आशंका


वासिङटन । तेहरानमा हमास नेताको हत्याको प्रतिशोधमा इजरायलमाथि इरानको आक्रमणको आशंका बढेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग सङ्कट वार्ता गर्दैछन् ।

मध्यपूर्वमा अवस्थालाई पूर्णरूपमा युद्धमा रूपान्तरण हुनबाट रोक्ने उद्देश्यले कूटनीतिको हिस्साका रूपमा बाइडेनले जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग फोन वार्ता गरेका छन् । इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याप्रति सोमबार चाँडै प्रतिक्रिया दिनसक्ने रिपोर्टहरूले सुझाव दिएपछि संयुक्त राज्य अमेरिकाले इजरायलको समर्थनका लागि यस क्षेत्रमा थप लडाकू जेट र युद्धक विमानहरू तैनाथ गरेको छ ।

विलमिङ्टन, डेलावेयरमा आफ्नो घरबाट एक साताको फिर्तीपछि बाइडेन ‘मध्यपूर्वमा घटनाक्रमहरूका बारेमा छलफल गर्न’ ह्वाइट हाउसको सिचुएसन रूममा आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग भेट्ने ह्वाइट हाउसले बताएको छ ।

बैठक वासिङ्टनको समयानुसार दिउँसो तय गरिएको थियो । बाइडेनले विलमिङ्टन छाड्नुअघि राजा अब्दुल्लालाई फोन गरेको ह्वाइट हाउसले बताएको छ ।

इरानले हानियाको हत्याको आरोप इजरायलमाथि लगाएको छ । इजरायलले भने आक्रमणका बारेमा प्रत्यक्षरूपमा कुनै टिप्पणी गरेको छैन । हानियाको हत्या बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएको केही घन्टापछि भएको थियो ।

अमेरिकी समाचार साइट एक्सियोसका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिफ्रेनले आइतबार एक कन्फरेन्स कलमा ‘जि ७’ मुलुकका आफ्ना समकक्षीहरूलाई हिजबुल्लाह र इरानबीच संयुक्तरूपमा हुनसक्ने अपेक्षा गरिएको कुनै पनि आक्रमण २४ देखि ४८ घन्टाभित्र हुनसक्ने बताएका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x