Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंक्रमित भेटिएपछि आइतबारदेखि बेइजिङ नजिकका क्षेत्रमा आवागमनमा कडाइ

संक्रमित भेटिएपछि आइतबारदेखि बेइजिङ नजिकका क्षेत्रमा आवागमनमा कडाइ


चीन, असार १५
कोरोनाभाइरस संक्रमणको नयाँ लहरपछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले संक्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै संक्रमण फैलिएको आशंकामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी संक्रमण परीक्षण गरेको थियो ।

चीनको राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा पछिल्लो समय पुनः संक्रमण देखिन थालेपछि सरकारले स्थानीय वस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कलाई बन्द गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको सङ्ख्यामा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी संक्रमण फैलिन नदिने प्रयास भएको हो ।

सरकारले उक्त क्षेत्रमा परिवारबाट एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजस्ता अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिई परीक्षण र उपचारलाई तीव्र पार्नलागेको छ, आङसीको महामारी रोकथाम कार्य दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो । यससँगै मध्य जुनदेखि बेइजिङ र वरपरका क्षेत्रमा संक्रमित हुनेको सङ्ख्या ३११ पुगेको बताइएको छ । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो ।

परीक्षण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउने धारणा राख्दै बेइजिङ शहरका अधिकारी सु हेचियानले भन्नुभयो, “संक्रमितको सङ्ख्या भेटिने क्रम जारी रहेकोले हामीलाई ढुक्क भएर बस्ने अवस्था अझै आएको छैन ।’ संक्रमण फैलिन नदिन संक्रमित क्षेत्रका बासिन्दालाई सहर छोडेर अन्यत्र नजान, विद्यालयहरू बन्द गर्न भनिएको छ भने दर्जनौँ आवासीय क्षेत्रका भवन परिसरहरूलाई बन्द गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया